आस्था (अकीदा)
इस्लाम अकीदा (आस्था) र शरिअत (कानुन तथा नीति नियम) को नाम हो। अकीदा त्यस्तो आधार हो जसमा इस्लाम अडेको छ। इस्लामिक अकीदा (आस्था) स्पष्ट र सरल हुनुको साथसाथै सही विवेक र मानव प्रकृतिको अनुरूप छ।
उपशीर्षकहरू
शहादतान (दुई कुराको गवाही)
इस्लाममा कलिमा तौहीद (एकेश्वरवादको गवाही)- “ला इलाहा इलल्लाह” को श्रेष्ठता र स्थान अत्यन्तै महत्वपूर्ण छ। त्यसैले यो नै मुस्लिमको पहिलो कर्तव्य हो। यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ।
जसले अल्लाहलाई राजी पार्नको लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसको लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “अल्लाहको खुशीको लागि साँचो र स्वच्छ मनले ‘ला इलाहा इल्लल्लाह’ को गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नु भएको छ।” (बुखारी: ४१५)
ईमान (आस्था)
सम्पूर्ण सन्देष्टा (नबी तथा रसूल) हरूले आ-आफ्ना समुदायलाई एउटै सत्यईश्वर ‘अल्लाह’ को उपासना गर्ने, उहाँको उपासनामा अरु कसैलाई साझेदार नबनाउने र उहाँ बाहेक सम्पूर्ण उपास्यहरूलाई अस्वीकार गर्ने आह्वान गर्नु भएको थियो। यही नै ‘ला ईलाहा इलल्लाह मुहम्मदुर-रसूलुल्लाह’ को वास्तविकता र इस्लामको प्रवेशद्वार हो ।
उपासना (इबादत)
माया र सम्मानको साथसाथै विनम्रतापूर्वक पूर्ण आज्ञाकारी हुनु नै वास्तविक उपासना हो। यही उपासना भक्तमाथि अल्लाहको अधिकार हो, जो मात्र उहाँको लागि हुनुपर्छ अन्य कसैको लागि हुनु हुँदैन। उपासनामा अल्लाहले आदेश दिएका, उहाँलाई मनपर्ने बाहिरी र भित्री मन सम्पूर्ण काम-कुराहरू समावेश छन्, जस्तैः नमाज, जकात, हज्ज आदि जस्ता प्रत्यक्ष गरिने उपासना होऊन् वा हृदयमा अल्लाह प्रतिको माया, याद, डर, भय, भरोसा, मद्दत माग्नु आदि जस्ता अप्रत्यक्ष गरिने उपासना होऊन्।