Model: हालको खण्ड
पाठ रमजानको रोजा (व्रत)
अल्लाहले मुस्लिमहरूमाथि वर्षमा एक महिनाको रोजा (व्रत) अनिवार्य गर्नुभएको छ । त्यो रमजानको महिनामा हुन्छ र यो इस्लामको चौथो महत्वपूर्ण आधार हो। अल्लाहले भन्नुभएको छ- {يا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُون} (البقرة: 183). अर्थः “हे आस्थावानहरू हो ! “तिमीहरूमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरूमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (कुरआन : २/१८३)
इस्लाममा रोजा (व्रत) को अर्थ- अल्लाहको उपासनाको लागि प्रात: काल (फज्रको अजान) देखि सूर्यास्त (मग्रिबको अजान) सम्म खानपिन, सम्भोग तथा व्रत भङ्ग गर्ने समस्त क्रियाकलापहरूबाट टाढा बस्नुलाई व्रत (रोजा) भनिन्छ।
रमजान महिनाका विशेषताहरू
अल्लाहले भन्नुभएको छः (شَهْرُ رَمَضَانَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ هُدًى لِلنَّاسِ وَبَيِّنَاتٍ مِنَ الْهُدَى وَالْفُرْقَانِ فَمَنْ شَهِدَ مِنْكُمُ الشَّهْرَ فَلْيَصُمْهُ) (البقرة:185). अर्थः “रमजानको महिनामा कुरआन अवतरण गरियो; जुन सिङ्गो संसारकै लागि मार्गदर्शन हो। जसमा पथप्रदर्शन, सत्य र असत्यलाई छुट्याउने प्रमाणहरू छन्। अत: तिमीहरूमध्ये जसले यो महिनालाई पाउँछौ, उसले अनिवार्य रुपमा यसको व्रत बस्नु।” (सूरह अल्-बकरह: २/१८५)
रसूल सल्लल्लाहु अलैहिव सल्लमले भन्नुभएको छः “जब रमजान सुरू हुन्छ, स्वर्गका सबै ढोकाहरू खोलिन्छ, नरकका ढोकाहरू बन्द गरिन्छ र उपद्रव मच्चाउने शैतानहरूलाई जंजीरले बाँधेर राखिन्छ।” (बुखारी: ३१०३, मुस्लिम: १०७९) यसरी अल्लाहले सत्कर्मतिर लम्किने र कुकर्मलाई त्याग्ने सुनौलो अवसर प्रदान गर्नुभएको छ।
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जुन व्यक्ति ईमान र पुण्यका साथ व्रत बस्छ उसका सम्पूर्ण पापहरू माफ हुन्छन्।” (बुखारी : १९१०, मुस्लिम : ७६०) अनि उहाँले फेरी भन्नुभएको छः “जुन व्यक्तिले ईमान र पुण्यका साथ रातमा कयाम गर्दछ (तराविह/कयामुल्-लैल पढ्दछ), उसका सम्पूर्ण पापहरू माफ हुन्छन्।” (बुखारी: १९०५, मुस्लिम: ७५९)
लैलतुल्-कद्र (शुभ रात्री) यसै महिनामा पर्दछ। उक्त रातको उपासना हजारौं महिनाको उपासना भन्दा उत्तम छ। अल्लाहले भन्नुभएको छः (لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِنْ أَلْفِ شَهْرٍ) (القدر: 3) अर्थः “लैलतुल्-कद्र (शुभ रात्री) हजारौं महिनाको (उपासना) भन्दा उत्तम छ।” (सूरह अल्-कद्र: ९७/३) उक्त रातको उपासनाले विगतका पापहरू क्षमा गरिन्छन्। यो रात रमजानको अन्तिम १० रातहरू मध्येको कुनै एक रात हो, तर कुन रात हो किटानीका साथ अल्लाह बाहेक कसैलाई पनि जानकारी छैन।
रोजा (व्रत) का विशेषताहरू
१) पापहरू माफ हुन्छन्-
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “व्रतालु (रोजेदार) हरूका लागि दुईवटा खुसी छन्- एउटा व्रत खोल्ने समयको र अर्को आफ्नो पालनकर्तासित भेट्ने समयको खुसी।” (बुखारी: १८०५, मुस्लिम: ११५१)
३) व्रतालुहरूको सम्मानका लागि स्वर्गमा रैय्यान नामको विशेष ढोका छ। व्रतालु (रोजादार) बाहेक अरू कोही त्यस ढोकाबाट प्रवेश गर्ने छैन।
४) अल्लाहले रोजा (व्रत) को प्रतिफल म दिन्छु भनेर घोषणा गर्नु भएको छ।
रोजा (व्रत) को उद्देश्य-
रोजा (व्रत) त्यस्तो उपासना हो जसबाट उसले अल्लाहको निकटता प्राप्त गर्छ। उसले व्रतद्वारा आफ्नो यौन इच्छालाई तथा गलत चाहनालाई रोक्न सक्छ।
यदि व्रतालुले अल्लाहको आदेश अनुसार वैध कुराहरू छोड्न सक्छ भने अवैध कुराहरूलाई अवश्य नै छोड्न सक्छ। कुलतमा फसेका व्यक्तिहरूका लागि यो एउटा सुवर्ण अवसर हो।
लामो समयसम्म राम्रो खान र लाउन नपाएका गरीब र दीन-दु:खीहरूको सम्झना व्रतको भोक र तिर्खाले गराउँछ। यिनीहरूप्रति मनमा माया र सहानुभूति पलाउँछ। त्यसैले धनीले गरीबलाई कहिल्यै पनि हेला र अपमान गर्दैनन् बरु तिनीहरूलाई दुई छाक टार्न र एक सरो लगाउन मद्दत पुर्याउँछ, किनकि व्रत पारस्पारिक सहानुभूति र उपकारको मौसम हो।