Model: हालको खण्ड
पाठ माता पिताको अधिकार
पाठबारे जानकारी
लक्ष्यहरू
Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे
इस्लामले माता पितालाई सबैभन्दा ठूलो दर्जा र सबैभन्दा धेरै सम्मान दिएको छ। उहाँहरूको साथमा उत्तम र नम्र व्यवहार गर्ने आदेशलाई इस्लामको सबैभन्दा ठूलो एवम् महत्त्वपूर्ण आदेशसँग जोडेको छ। कुर्आनमा जहाँ अल्लाहले आफ्नो उपासना गर्ने आदेश दिनुभएको छ, त्यसको साथसाथै तुरुन्तै माता पिताको साथ उत्तम र नम्र व्यवहार गर्न आदेश दिनुभएको छ। कुर्आनमा भन्नुभएको छः {وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا} [الإسراء: 23]. अर्थः “अनि तिम्रो पालन कर्ताको आदेश छ, उहाँ बाहेक अरू कसैको उपासना नगर र माता पिताको साथमा नम्र व्यवहार गर।” (सूरतुल्-इस्राः १७/ २३) अल्लाहले छोरा छोरीको अस्तित्वको कारक माता पितालाई बनाउनु भएको छ। छोरा छोरीले जति धेरै भलाइ गरे पनि उनीहरूले माता पिताले उनीहरूमाथि गरेको दयाको बदला चुक्ता गर्न सक्दैनन्। किनभने उनीहरूले आफ्ना सन्तानलाई जन्म दिनेदेखि उनीहरूको रेखदेख, पालनपोषण, शिक्षादीक्षा र खुसीको लागि आफ्ना दुःख कष्ट, चिन्ता, अनिद्रा, भोक, प्यास सबै त्याग गरेका हुन्छन्, जसको मूल्य सन्तानले कदापि चुकाउन सक्दैनन्।
अल्लाह तआलाको न्यायपूर्ण फैसलाहरू मध्येको एक यो पनि हो कि उहाँले छोराछरीहरूलाई आफ्ना माता पिताको हक अधिकार दिने र राम्रो व्यवहार गर्ने आदेश दिनुभएको छ। यो माता पिताको लागि उनीहरूले आफ्ना सन्तानहरूको लागि गरेको रेखदेख, पालनपोषण, शिक्षादीक्षा र उपकारको पुरस्कार हो। अल्लाहले भन्नुभएको छः {وَوَصَّيْنَا الْإِنْسَانَ بِوَالِدَيْهِ حُسْنًا} [العنكبوت: 8]، अर्थः “अनि हामीले हरेक मानिसलाई आफ्नो माता पितासँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं ।” (सूरतुल्-अन्कबूतः २९/ ८) अर्को ठाउम्मा भन्नुभएको छः {وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفًا} [لقمان: 15] अर्थः “सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु।” (सूरतु लुकमानः ३१/ १५) एक जना मानिस नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आएर सोधेः “मेरो राम्रो व्यवहारको सबैभन्दा बढी हकदार को हो ? उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः तिम्री आमा। उनले फेरी सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्री आमा। उनले फेरी सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्री आमा। त्यसपछि उनले चौथो पटक सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्रो बुवा।” (बुखारीः ५९७१, मुस्लिमः २५४८)
माता पितासँग राम्रो व्यवहार गर्दा हुने फाइदा
माता पिताको साथमा राम्रो व्यवहार गर्नु अल्लाहलाई सबैभन्दा बढी मनपर्ने कामहरू मध्येको एक हो। अब्दुल्लाह बिन् मसऊद रजियल्लाहु अन्हुले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग सोध्नुभयोः “अल्लाहलाई सबैभन्दा बढी मनपर्ने काम के हो? उहाँले भन्नुभयोः समयमा नमाज पढ्नु। सोध्नुभयोः त्यसपछि कुन काम? भन्नुभयोः माता पितासँग राम्रो व्यवहार गर्नु। पुनः सोध्नुभयोः त्यसपछि कुन काम? भन्नुभयोः अल्लाहको मार्गमा जिहाद गर्नु।” (बुखारीः ५२७, मुस्लिमः ८५)
माता पिताको सेवा गर्नु र उहाँहरूको साथमा राम्रो व्यवहार गर्नु नफिल जिहाद भन्दा पनि राम्रो काम हो। एकजना मानिस नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आयो अनि सोध्योः “के म जिहादमा सहभागी बनुँ? उहाँले भन्नुभयोः के तिम्रा माता पिता जीवित हुनुहुन्छ? उसले भन्योः अँ हुनुहुन्छ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः जाऊ उहाँहरूको सेवा गर।” (बुखारीः ५९७२, मुस्लिमः २५४९)