सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ माता पिताको अधिकार

यस पाठमा हामीले माता पिताको साथ हुस्ने सुलूक (राम्रो व्यवहार) को अर्थ र यससँग सम्बन्धित केही मामिलाहरूको बारेमा जानकारी हासिल गर्ने छौं।

  • इस्लाममा माता पिताको महान् स्थानबारे बयान।
  • माता पिताको साथ राम्रो व्यवहार गर्न प्रोत्साहन र उहाँहरूको अवज्ञाबाट चेतावनी।
  • माता पिताप्रति सन्तानका सबैभन्दा महत्त्वपूर्ण कर्तव्यहरूबारे जानकारी।
  • माता पितासँग व्यवहारका केही शिष्टाचारको बयान।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

इस्लाममा माता पिताको स्थान र दर्जा

इस्लामले माता पितालाई सबैभन्दा ठूलो दर्जा र सबैभन्दा धेरै सम्मान दिएको छ। उहाँहरूको साथमा उत्तम र नम्र व्यवहार गर्ने आदेशलाई इस्लामको सबैभन्दा ठूलो एवम् महत्त्वपूर्ण आदेशसँग जोडेको छ। कुर्आनमा जहाँ अल्लाहले आफ्नो उपासना गर्ने आदेश दिनुभएको छ, त्यसको साथसाथै तुरुन्तै माता पिताको साथ उत्तम र नम्र व्यवहार गर्न आदेश दिनुभएको छ। कुर्आनमा भन्नुभएको छः {وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا} [الإسراء: 23]. अर्थः “अनि तिम्रो पालन कर्ताको आदेश छ, उहाँ बाहेक अरू कसैको उपासना नगर र माता पिताको साथमा नम्र व्यवहार गर।” (सूरतुल्-इस्राः १७/ २३) अल्लाहले छोरा छोरीको अस्तित्वको कारक माता पितालाई बनाउनु भएको छ। छोरा छोरीले जति धेरै भलाइ गरे पनि उनीहरूले माता पिताले उनीहरूमाथि गरेको दयाको बदला चुक्ता गर्न सक्दैनन्। किनभने उनीहरूले आफ्ना सन्तानलाई जन्म दिनेदेखि उनीहरूको रेखदेख, पालनपोषण, शिक्षादीक्षा र खुसीको लागि आफ्ना दुःख कष्ट, चिन्ता, अनिद्रा, भोक, प्यास सबै त्याग गरेका हुन्छन्, जसको मूल्य सन्तानले कदापि चुकाउन सक्दैनन्।

अल्लाह तआलाको न्यायपूर्ण फैसलाहरू मध्येको एक यो पनि हो कि उहाँले छोराछरीहरूलाई आफ्ना माता पिताको हक अधिकार दिने र राम्रो व्यवहार गर्ने आदेश दिनुभएको छ। यो माता पिताको लागि उनीहरूले आफ्ना सन्तानहरूको लागि गरेको रेखदेख, पालनपोषण, शिक्षादीक्षा र उपकारको पुरस्कार हो। अल्लाहले भन्नुभएको छः {وَوَصَّيْنَا الْإِنْسَانَ بِوَالِدَيْهِ حُسْنًا} [العنكبوت: 8]، अर्थः “अनि हामीले हरेक मानिसलाई आफ्नो माता पितासँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं ।” (सूरतुल्-अन्कबूतः २९/ ८) अर्को ठाउम्मा भन्नुभएको छः {وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفًا} [لقمان: 15] अर्थः “सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु।” (सूरतु लुकमानः ३१/ १५) एक जना मानिस नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आएर सोधेः “मेरो राम्रो व्यवहारको सबैभन्दा बढी हकदार को हो ? उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः तिम्री आमा। उनले फेरी सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्री आमा। उनले फेरी सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्री आमा। त्यसपछि उनले चौथो पटक सोधे त्यसपछि को ? उहाँले भन्नुभयोः तिम्रो बुवा।” (बुखारीः ५९७१, मुस्लिमः २५४८)

माता पितासँग राम्रो व्यवहार गर्दा हुने फाइदा

माता पिताको साथमा राम्रो व्यवहार गर्नु छोरा छोरीको अनिवार्य कर्तव्य र जिम्मेदारी हो। उनीहरूको साथ राम्रो व्यवहार गर्नमा ठूलो इनाम छ; यसमा पुण्य प्राप्ति, संसारमा भलाइ, खुसीयाली मिल्छ, अनि यो जीविकामा बढोत्तरीको कारक पनि हो। अझ सबैभन्दा ठूलो इनाम परलोकमा स्वर्ग प्राप्तिको माध्यम हो। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “उसको नाकमा माटो लाग्यो (असफल भयो), उसको नाकमा माटो लाग्यो, उसको नाकमा माटो लाग्यो । सोधियोः कसको नाक ? हे अल्लाहको रसूल ! उहाँले भन्नुभयोः जसले आफ्ना माता पिता मध्ये दुबैलाई वा कुनै एकलाई वृद्ध अवस्थामा पाउँछ, अनि (उनीहरूको सेवा गरेर) जन्नतमा प्रवेश गर्न सकेन।” (मुस्लिमः २५५१)

माता पिताको साथमा राम्रो व्यवहार गर्नु अल्लाहलाई सबैभन्दा बढी मनपर्ने कामहरू मध्येको एक हो। अब्दुल्लाह बिन् मसऊद रजियल्लाहु अन्हुले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग सोध्नुभयोः “अल्लाहलाई सबैभन्दा बढी मनपर्ने काम के हो? उहाँले भन्नुभयोः समयमा नमाज पढ्नु। सोध्नुभयोः त्यसपछि कुन काम? भन्नुभयोः माता पितासँग राम्रो व्यवहार गर्नु। पुनः सोध्नुभयोः त्यसपछि कुन काम? भन्नुभयोः अल्लाहको मार्गमा जिहाद गर्नु।” (बुखारीः ५२७, मुस्लिमः ८५)

माता पिताको सेवा गर्नु र उहाँहरूको साथमा राम्रो व्यवहार गर्नु नफिल जिहाद भन्दा पनि राम्रो काम हो। एकजना मानिस नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आयो अनि सोध्योः “के म जिहादमा सहभागी बनुँ? उहाँले भन्नुभयोः के तिम्रा माता पिता जीवित हुनुहुन्छ? उसले भन्योः अँ हुनुहुन्छ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः जाऊ उहाँहरूको सेवा गर।” (बुखारीः ५९७२, मुस्लिमः २५४९)

माता पिताको अवज्ञा

माता पिताको आज्ञा पालन नगर्नु सबैभन्दा ठूला पापहरू मध्येको एक हो। अब्दुर्रहमान बिन् अबू बकरले आफ्नो पिताको माध्यमबाट बयान गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “पापहरू मध्येको सबैभन्दा ठूलो पाप अल्लाहको साथमा अरू कसैलाई साझेदार (शिर्क) गर्नु र माता पिताको अवज्ञा गर्नु हो।” (बुखारीः ६९१९, मुस्लिमः ८७)

माता पिताप्रति सन्तानका कर्तव्यहरू

١
यदि माता पिताले कुनै पनि भलाइको कामको आदेश दिन्छन् भने सन्तानले आफ्नो योग्यता र क्षमता अनुसार सकेसम्म उनीहरूको आज्ञा पालन गर्नुपर्छ। तर नराम्रा कामहरूको आदेश दिन्छन् भने आज्ञा पालन गर्नु हुँदैन। विशेष गरी अल्लाहले दिएको आदेशको विपरीत कामहरू छन् भने समाजको नजरमा राम्रो देखिए पनि तिनलाई गर्नु हुँदैन, किनभने सृष्टिकर्ताको अवज्ञा गरेर सृष्टिको आज्ञा पालन सही होइन।
٢
माता पिताले आफ्ना सन्तानसँग नराम्रो व्यवहार गरे पनि उनीहरूको साथ राम्रो व्यवहार गर्नुपर्छ। उनीहरूको निमन्त्रण, आदेश र व्यवहार शिर्कको कार्य र सधैँ नर्कमा रहने भन्दा ठूलो त पक्कै छैन होला? अल्लाहले त शिर्कको आदेश दिने र सधैँ नर्कमा रहने कामको आदेश दिन्छन् भने पनि उनीहरूसँग नराम्रो व्यवहार नगर्न भन्नुभएको छः {وَإِنْ جَاهَدَاكَ عَلَى أَنْ تُشْرِكَ بِي مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ فَلَا تُطِعْهُمَا وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفًا} [لقمان: 15]. अर्थः “यदि ती दुबैले तिमीलाई मेरो साथमा कसैलाई साझेदार गराउने कार्य (शिर्क) को दबाब दिन्छन् भने तिमीले मेरो साथ कसैलाई साझेदार नगराऊ, जसको तिमीलाई ज्ञान छैन, तर सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु। (सूरतु लुकमानः ३१/ १५)
٣
उनीहरूको हेरचाह गर्नु र उनीहरूप्रति दयावान् हुनुपर्छ। उनीहरूको हेरचाहमा विनम्रता र भलाइको तरिका अपनाउनु पर्छ। बोलचालमा सभ्य, शिष्ट र उच्च नैतिकता अनि व्यवहारमा दयालुता, आज्ञाकारीता र सेवाको भावना हुनुपर्छ। अल्लाहले भन्नुभएको छः {وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا} [الإسراء: 23]. अर्थः “अनि तिम्रो पालन कर्ताले आदेश दिनुभएको छ, तिमीले उहाँ बाहेक अरू कसैको उपासना नगर र माता पिताको साथमा नम्र व्यवहार गर।” (सूरतुल्-इस्राः १७/ २३)
٤
उनीहरूलाई कुनै पनि किसिमको कष्ट नदिनु अथवा अलिकति पनि ठेस पुग्ने काम नगर्नु। विशेष गरी वृद्ध अवस्थामा “उफ” पनि उफ भनेर कुनै कुरा चित्त नबुझेको सङ्केत पनि न जनाउनु। अल्लाहले भन्नुभएको छः {إِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا فَلَا تَقُلْ لَهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا وَقُلْ لَهُمَا قَوْلًا كَرِيمًا} [الإسراء: 23]. अर्थः “यदि उनीहरू मध्ये कुनै एकजना वा दुबै तिम्रो अगाडि वृद्ध अवस्थामा पुग्छन् भने उनीहरूलाई ‘उफ’ भनेर तिरस्कृत नगर, नहप्काउ बरु उनीहरूसँग सम्मान पूर्वक मर्यादामा रहेर कुराकानी गर।” (सूरतुल्-इस्राः १७/ २३)
٥
उनीहरूको समक्ष विनम्रता पूर्वक, मायालु स्वभावको साथ झुकेर रहनु र उनीहरूको लागि प्रार्थना गर्नु। अल्लाह तआलाले भन्नुभएको छः {وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ وَقُلْ رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا} [الإسراء: 24]. अर्थः “र विनम्रता पूर्वक मायालु अन्दाजमा उनीहरू समक्ष सत्कारको हात फैलाउ र उनीहरूको लागि प्रार्थना गर्ने गर। भनः हे मेरो प्रभु ! यहाँहरूमाथि त्यस्तै दया गर्नुहोस्, जस्तो यहाँहरूले बाल्यावस्थामा मेरो पालनपोषण (म माथि दया) गर्नुभएको थियो।” (सूरतुल्-इस्राः १७/ २४)
٦
सधैँ उनीहरूको आभारी रहनु, सधैँ धन्यवाद दिइरहनु र उनीहरूले गरेको कृपा स्वीकार गर्नु। किनभने अल्लाहले भन्नुभएको छः {وَوَصَّيْنَا الْإِنْسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَى وَهْنٍ وَفِصَالُهُ فِي عَامَيْنِ أَنِ اشْكُرْ لِي وَلِوَالِدَيْكَ إِلَيَّ الْمَصِيرُ} [لقمان: 14]. अर्थः “अनि हामीले मानिसलाई उसको माता पिताको सम्बन्धमा सचेत गरेका छौं। उसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोक्छिन् र दुई वर्षमा उसलाई दूध छुटाउनु पर्ने हुन्छ, ताकि तिमीले मेरो र आफ्ना माता पिताको कृतज्ञता प्रकट गर । (किनकी) तिमीलाई मतिरै फर्कि आउनु पर्नेछ।” (सूरतु लुकमानः ३१/ १४)
٧
उनीहरूमाथि आवश्यकता अनुसार राम्रो तरिकाले खर्च गर्नु। किनभने नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “तिमी र तिम्रो धन तिम्रो पिताको हो। तिम्रा सन्तान तिम्रो पवित्र कमाइ मध्येका हुन्, अतः तिमीले आफ्ना सन्तानको कमाइबाट खाऊ।” (अबू दाऊदः ३५३०)
٨
उनीहरू जीवित छदै र मृत्युपछि पनि उनीहरूको लागि दुआ गर्नु। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जब मानिस मर्छ त तीन चीजहरू बाहेक उसको (पुण्य प्राप्त गर्ने) कर्मको सिलसिला समाप्त हुन्छ। ती हुन्- सदका जारिया (लगातार पुण्य मिल्ने कुनै दान), लगातार फाइदा मिल्ने ज्ञान र उनीहरूको लागि दुआ गरिरहने सदाचारी सन्तान।” (मुस्लिमः १६३१)
٩
माता पिताको मृत्यु भन्दा पहिले त उनका साथीहरूलाई सम्मान गरिन्छ नै; मृत्युपछि पनि उनका साथीहरूलाई सम्मान गर्नु। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “सन्तानले उसको पिताको साथमा राम्रो व्यवहार गर्नु ठूलो पुण्य कार्य हो।” (२५५२)

माता पितासँग व्यवहार गर्दा अत्यावश्यक केही शिष्टाचारहरू

١
माता पितासँग कुरा गर्दा उनीहरूको कुरालाई ध्यान पूर्वक सुन्नु। उनीहरूले कुरा गरिरहेको बेला मोबाइल वा अन्य कुनै काम कुरातिर व्यस्त नहुनु।
٢
उनीहरूलाई मनपर्ने कुराहरू माग्नु भन्दा पहिले नै पुर्याउनु वा सोध्नु भन्दा पहिले पहल गर्नु र उनीहरूलाई कष्ट पुर्याउने चीज उनीहरूसम्म आउनु भन्दा पहिले नै त्यसलाई हटाउनु।
٣
उनीहरूले बोलाउँदा तुरुन्तै उत्तर दिनु, तुरुन्तै त्यहाँ पुग्नु र ढिलो नगरी सन्तोष जनक प्रतिक्रिया दिनु।
٤
माता पिता दुबै वा कुनै एकबाट केही गलत भएमा उनीहरूलाई नम्र तरिकाले हिक्मतको साथ सुझाव दिनु।
٥
माता पिताले क्रूरता र अन्यायपूर्ण कुनै व्यवहार गरेमा धैर्य गर्नु अनि राम्रो र सम्मान जनक तरिकाले प्रतिक्रिया दिनु।
٦
माता पिताको कुनै कार्यमा प्रतिरोध र चुनौती नगर्नु ।
٧
उनीहरूको अनुहारमा धेरैभन्दा धेरै खुसी ल्याउने प्रयत्न गर्नु।
٨
कुनै काम गर्दा उनीहरूसँग सरसल्लाह गर्नु,उनीहरूलाई व्यक्तिगत मामिलामा संलग्न गराउनु र उनीहरूको विचारलाई सम्मान गर्नु।
٩
उनीहरूसँग खुलेर वार्तालाप गर्न प्रयत्नशील हुनु। उनीहरूलाई यो मनपर्छ भने, दैनिक जीवनका मामिलाहरूमा समेत खुलेर साथ दिनु।
١٠
कुनै काम वा यात्राको कारण अलग भएको स्थितिमा सन्तान लगातार उनीहरूसँग सम्पर्कमा रहनु, समय समयमा कुराकानी गर्नु र उनीहरूको अवस्थाबारे जानकारी लिइरहनु। आदि कुराहरू माता पिताप्रति सन्तानका कर्तव्य र शिष्टाचार अन्तर्गत पर्छन्।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्