Model: हालको खण्ड
पाठ अल्-वक्फ (असल चीजलाई रोकेर त्यसबाट हुने फाइदालाई खर्च गर्नु)
केही मानिसहरूलाई अल्लाहले अधिक धन सम्पत्ति प्रदान गर्नुभएको छ, तिनिहरूले आफ्नो सम्पत्तिबाट केही भाग यसरी वक्फ गर्न (परोपकारी काममा लगाउन) चाहन्छन् कि सम्पत्ति अथवा मूलधन बाँकी रहोस् र त्यसबाट आएको फाइदा भलाइ तथा पुण्यका कामहरूमा खर्च होस्। अनि त्यस सम्पत्तिबाट आवश्यकतामा परेका मानिसहरूलाई लाभ भइरहोस् र वक्फ गर्ने व्यक्तिलाई मृत्युपछि पनि त्यस त्यसको पुण्य मिलिरहोस्।
केही धन लगानी गर्ने तर लगानी गरेको मूल धनलाई बाँकी राख्दै अल्लाहको तर्फबाट पुण्य प्रतिफलको आशाले त्यसबाट हुने फाइदालाई परोपकारमा लगाउनु।
वक्फको हुकुम
वक्फ गर्नु उत्तम कार्य हो र उत्तम दानहरू मध्येको एक हो। यो अल्लाहको निकटता प्राप्त गर्ने माध्यम, पुण्य कार्य र परोपकारको श्रेष्ठ कर्म हो। यसको लाभ धेरै छ किनभने यस कर्मको प्रतिफल मृत्युपछि पनि समाप्त हुँदैन। यसको पुण्य तबसम्म मिलिरहन्छ जबसम्म त्यो कार्य जारी रहन्छ।
वक्फको सही हुनुको रहस्य (हिक्मत)
अल्लाहले वक्फलाई अनुमति दिनुभएको छ किनभने यसमा धर्म, संसार र परलोकको हित छ। एकातिर भक्तले आफ्नो धनमाललाई अल्लाहको प्रसन्नताको लागि वक्फ गरेर आफ्नो लागि धेरै पुण्य प्राप्त गर्छ; अनि यसका पुण्य प्रतिफलहरू मृत्युपछि पनि जारी रहन्छन्, भने अर्कोतर्फ जसको नाममा माललाई वक्फ गरिन्छ त्यसबाट उसले फाइदा हासिल गरिरहन्छ र दातालाई दुआ तथा आशीर्वाद पनि दिइरहन्छ। जसको कारण समाज थप एकताबद्ध र सुखी हुन्छ।
यो एक उत्तम दान हो; किनभने यो धार्मिकता र परोपकारको रूपमा स्थायी, टिकाउ दान हो।
अल्लाहले भन्नुभएको छः قال الله تعالى: {لَنْ تَنَالُوا الْبِرَّ حَتَّى تُنْفِقُوا مِمَّا تُحِبُّونَ وَمَا تُنْفِقُوا مِنْ شَيْءٍ فَإِنَّ اللَّهَ بِهِ عَلِيمٌ} [آل عمران: 92]. अर्थः “(आस्थावानहरू !) जबसम्म तिमीहरूले आफ्नो प्रिय चीजहरूबाट (अल्लाहको मार्गमा) खर्च गर्दैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्नैछैनौ अनि जुन चीज तिमीले खर्च गर्छौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ।” (सूरह आले-इमरानः ३/ ९२)
इब्ने उमर रजियल्लाहु अन्हुमाले बयान गर्नुभएको छ, उमर रजियल्लाहु अन्हुलाई खैबरमा एउटा जमिन मिल्यो (जसको नाम समग थियो)। त उहाँ नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा आउनुभयो र भन्नुभयोः मलाई एउटा यस्तो जमिन मिलेको छ, त्योभन्दा उत्तम माल मलाई आजसम्म कहिल्यै मिलेको थिएन। हजुरले मलाई यसको बारेमा के सल्लाह दिनुहुन्छ? नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः यदि चाहन्छौ भने मूल सम्पत्तिलाई आफ्नो पासमै रोकेर राख अनि त्यसबाट हासिल हुने फाइदालाई दान गर। त्यसपछि उमर रजियल्लाहु अन्हुले यस सर्तको साथ त्यस जमिनलाई वक्फ (दान) गर्नुभयो कि मूल सम्पत्तिलाई नबेचियोस्, कसैलाई उपहार स्वरूप पनि नदिइयोस्, अंशबन्डामा पनि कसैलाई नबाँडियोस्, अनि त्यसको आम्दानीबाट गरिबहरूलाई दिन, नातेदारहरू सहयोग गर्न, दासहरूलाई स्वतन्त्र गराउन, अल्लाहको मार्गमा (मुजाहिदहरू), पाहुनाहरू र यात्रुहरूको लागि यो वक्फ (दान) गरिएको छ। जुन व्यक्ति यसलाई रेखदेख गर्ने जिम्मेदार हुन्छ उसले आवश्यकता अनुसार त्यसबाट खान्छ वा साथीहरूलाई खुवाउँछ भने कुनै आपत्ति छैन, तर सम्पत्ति जम्मा गरेर बढाउने काम नगरोस्। (बुखारीः २७७२, मुस्लिमः १६३२)
वक्फ (दान) का किसिम
उदाहरणका लागि कुनै व्यक्तिले मस्जिद बनाउनको लागि पैसा वा जमिन दिन्छ, बनाउँछ वा पढ्ने विद्यार्थीहरूका लागि विद्यालय बनाउँछ, वा कमजोर, गरिब, अनाथ, विधवाहरू आदिका लागि घर बनाउँछ।
कसैले घर बनाउँछ र आफ्ना सन्तानहरूको लागि वक्फ गर्छ, उनीहरूलाई खेतबारी दिन्छ, खाद्यान्न दिन्छ, आदि।
वक्फ (दान) दुई किसिमले सही तथा मान्य हुनजान्छ।
वक्फ (दान) का सर्तहरू
वक्फ (दान) गर्नको लागि माल यति नै मात्रामा हुनुपर्छ भन्ने हद हुँदैन; यो मानिसहरूको पूँजी, अवस्था र क्षमतामा भर पर्दछ। कसैको वारिस अथवा उत्तराधिकारीको रूपमा कुनै सन्तान छैनन् भने उसले आफ्नो सबै माल वक्फ गर्न सक्छ। यदि कसैको वारिसको रूपमा सन्तान छन् भने उसले आफ्नो माल तथा सम्पत्तिबाट केही भाग मात्र वक्फ गर्नुपर्छ र बाँकी माल आफ्नो सन्तानको लागि राख्नुपर्छ।
वक्फ सधैँ अल्लाहको लागि मात्रै हुनुपर्छ; यसको सीमा अवधि हुँदैन। जसले अल्लाह पवित्र पूज्यको लागि जग्गा, घर, खेत वा अन्य चीज वक्फ (दान) गर्छ त्यो चीज उसको स्वामित्वमा रहँदैन। वक्फ गरिसकेपछि उसले न त त्यसलाई बेच्न सक्छ, न कसैलाई उपहार स्वरूप दिन मिल्छ, न कुनै अंसियारलाई अंशबन्डामा दिन मिल्छ, न पुनः फिर्ता माग्न मिल्छ, न उत्तराधिकारी तथा सन्तानहरू मध्ये कसैले त्यसलाई बेच्न पाउँछन्; किनभने त्यो सम्पत्ति अंशबन्डा लगाउने सम्पत्तिबाट अलग भइसकेको हुन्छ।
यदि कसैले वक्फ गरिसकेको कुरा घोषणा गर्छ वा वक्फ भएको प्रमाणित गर्ने कुनै कार्य गर्छ भने वक्फ भएको पुष्टि हुनजान्छ। वक्फलाई कसैले स्वीकार नगरे पनि त्यो वक्फ गरिएको मानिन्छ। यसको लागि सरकार वा कुनै हाकिमको स्वीकृतिको आवश्यकता पनि पर्दैन। जब वक्फ गरिएको प्रमाणित हुन्छ त्यसपछि वक्फ रद्द गर्ने तरिकाले त्यसबाट खर्च गर्न वा अपचलन गर्नु जायज छैन।
सर्वोच्चको मालिक अल्लाह पवित्र हुनुहुन्छ र उहाँले पवित्र चीजहरूलाई नै स्वीकार गर्नुहुन्छ। त्यसैले कसैले कुनै चीज अल्लाहको प्रसन्नताको लागि वक्फ गर्छ भने उसले आफूसँग भएका चीजहरू मध्येबाट प्यारो र पवित्र चीजलाई वक्फ गर्नुपर्छ। यही नै ठूलो पुण्य र परोपकार हो।
वक्फ गरिने चीजहरूमा सबैभन्दा राम्रा वक्फ ती हुन्, जो हरेक समय र हरेक ठाउँमा मुस्लिमहरूको हितसँग जोडिएका हुन्छन्। जस्तै- मस्जिदको लागि वक्फ गर्नु, विद्यार्थीहरूको लागि वक्फ गर्नु, अल्लाहको मार्गमा हिँडेका मुजाहिद र यात्रुहरूको लागि वक्फ गर्नु, नातेदार र गरिब तथा कमजोर मुस्लिमहरूको लागि वक्फ गर्नु, इत्यादि।