Model: हालको खण्ड
पाठ जमाअतको सलाह (सामूहिक नमाज)
अल्लाहले पुरुषहरुलाई जमाअतको साथ (सामुहिक रुपमा) दैनिक पाँच पटकको सलाहहरू पढ्ने आदेश दिनु भएको छ। जमाअतको सलाह पढ्नेहरूका लागि बढी सवाब (पुण्य) को वाचा गर्नु भएको छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “एक्लै नमाज पढ्नु भन्दा जमाअतका साथ पढेमा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (बुखारी: ६१९, मुस्लिम: ६५०)
कम्तिमा पनि दुईजना भएमा जमाअत बन्न सक्छ। जमाअत इमाम (अगुवा) र मुक्तदी (इमामको अनुसरण गर्ने व्यक्ति) हो। जमाअत जति ठूलो हुन्छ, अल्लाहले त्यति नै मन पराउनु हुन्छ।
अनुसरणको अर्थ-
इमामको अनुसरण
इमामतको हकदार त्यो व्यक्ति हुन्छ जो कुरआनको हाफिज तथा सबैभन्दा जानकार हुन्छ त्यसपछि जो बढी जानकार हुन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “कुरआनको हाफिजलाई आफ्नो इमाम बनाऊ। यदि यसमा सबै बराबर छन् भने सुन्नतको आधारमा प्राथमिकता देऊ........।” (मुस्लिम: ६७३)
इमाम (जमाअतको सलाहमा) सामान्य पंक्ति भन्दा अगाडि र मुक्तदी इमामको पछाडि पंक्तिबद्ध एक अर्कासँग मिलेर उभिनु पर्छ। पहिलो पंक्ति पूरा नहुन्जेलसम्म दोस्रो पंक्ति र दोस्रो पंक्ति पूरा नहुन्जेलसम्म तेस्रो पंक्ति बनाउनु हुँदैन। यदि मुक्तदी एक्लै छ भने इमामको दायाँ पट्टि उभिनु पर्छ।
इमामसँग सलाह पढ्दा केही रकात छुटिसकेको छ भने अल्लाहु-अक्बर भनेर जमातमा प्रवेश गर्नुहोस्, जति पाउनु हुन्छ त्यति पढ्नुहोस् र इमामले सलाम फेरिसकेपछि बाँकी रकातलाई पूरा गर्नुहोस्। इमामको साथमा पढेको सलाह उसको पहिलो रकात र छुटेको सलाह उसको अन्तिम रकात हुनेछ।
रकातको संख्याको आधारमा सलाहको गणना गरिन्छ, जसले इमामको साथमा रूकूअ पायो उसले पूरा रकात पायो। जसले रूकूअ पाएन उसले रकात पाएन तर जमाअतमा सामेल हुनुपर्छ जमाअतमा सामेल भएपनि रुकूअ छुटेपछि त्यसपछिका बाँकी कार्य गणना हुँदैन र छुटेको रकातलाई इमामले सलाम फेरिसकेपछि पूरा गर्नु पर्दछ।
इमामको साथमा छुटेका सलाहलाई पूरा गर्ने केही उदाहरणहरू
जसले इमामको साथमा फज्रको दोस्रो रकात पायो, उसले इमामले सलाम फेरिसकेपछि एक रकात पूरा गरेर सलाम फेर्नु पर्दछ, किनभने फज्रको सलाहमा दुई रकात पढ्नु पर्दछ।
जसले इमामको साथमा मग्रिबको अन्तिम तशह्हुद पायो, उसले इमामले सलाम फेरिसकेपछि पूरै तीन रकात पढ्नु पर्दछ, किनभने तशह्हुदले रकातको गन्ती हुँदैन। रकात पाउन कम्तिमा पनि रुकूअ पाउनु पर्दछ।
जसले इमामलाई जुहरको तेस्रो रकातको रूकूमा पायो, उसले इमामले सलाम फेरिसकेपछि दुई रकात मात्र पूरा गर्नु पर्दछ, किनभने उसले इमामको साथमा दुई रकात पाईसकेको छ र जुहरको सलाह चार रकात हुन्छ। इमामसँग पाएको रकात मुक्तदीको पहिलो रकात हुनेछ, बाँकी तेस्रो र चौथो रकअत उसले इमामले सलाम फेरिसकेपछि पूरा गर्नु पर्दछ।