सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सलाह (नमाज) को अर्थ र श्रेष्ठता

इस्लाममा सलाह (नमाज) को धेरै महत्त्व र श्रेष्ठता छ। यो मुस्लिमको जिन्दगीको एउटा अनिवार्य आधार पनि हो। यस पाठमा तपाईंले सलाहको अर्थ, त्यसको महत्त्व एवम् श्रेष्ठताको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

  • सलाह (नमाज) को अर्थको जानकारी
  • इस्लाममा सलाह (नमाज) को स्थानबारे जानकारी
  • सलाह (नमाज) को श्रेष्ठता एवम् महत्वबारे जानकारी

सलाह (नमाज) को अर्थ

अरबी भाषामा सलाह (नमाज) को वास्तविक अर्थ प्रार्थना (दुआ) गर्नु हो। नमाज भक्त र उसको सृष्टिकर्ता बीच सम्बन्ध कायम गर्ने आधार हो। यसले अल्लाहको उपासना, बिन्ती र गुहारको उच्च भाव र अर्थहरूलाई समेटेको छ। सलाह (नमाज) मा भक्तले उहाँलाई गुहार्छ, उहाँसँग कानेखुसी गर्छ, यो थोत्रो संसार र आफ्नो असल वास्तविकतालाई सम्झिन्छ। आफ्नो मालिकको महिमाको बोध गर्छ र सलाहमा तल्लीन हुन्छ। सलाहले इस्लाममाथि हिड्न धैर्यता दिन्छ र अत्याचार, दुर्व्यवहार, अश्लील र अवज्ञादेखि टाढा राख्छ। अल्लाहले भन्नु भएको छः (إِنَّ الصَّلَاةَ تَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنْكَر) (العنكبوت: 45). अर्थः “निश्चय नै सलाह (नमाजले) ले अश्लील कार्य तथा नराम्रो कुराहरूबाट जोगाउँछ।” (सूरह अल्-अन्कबूत: २९/४५)

सलाह (नमाज) को स्थान

सलाह (नमाज) शारीरिक उपासनाहरूमध्ये एउटा महत्वपूर्ण उपासना हो। यसमा हृदय, मस्तिष्क र जिब्रो सबै समावेश रहेको हुन्छ। यसको महत्व धेरै जसो कुराहरूमा देखा पर्छ, तीमध्ये केही यस प्रकार छन्-

१. यो इस्लामको दोस्रो ठूलो आधार हो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “इस्लाम पाँच कुराहरूमाथि आधारित छ… अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका रसूल (सन्देष्टा) हुनुहुन्छ भन्ने कुराको गवाही दिनु र सलाह कायम गर्नु, .....।” (बुखारी: ८, मुस्लिम: १६) स्मरण रहोस् ! यो इस्लामको बलियो जग हो र जग बलियो छैन भने घर कदापि बलियो हुन सक्दैन।

२. सलाह (नमाज) ले एउटा मुस्लिम (आज्ञाकारी) र काफिर (अवज्ञाकारी) मा फरक पारेको छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “मानिस, शिर्क र कुफ्र (अवज्ञा) बीच फरक पार्ने कुरा सलाह छोड्नु हो।” (मुस्लिम: ८२) उहाँले यो पनि भन्नु भएको छः “हामी र उनीहरू बीच जुन सन्धि हो त्यो सलाह नै हो, तसर्थ जसले यसलाई छोड्यो उसले कुफ्र (अवज्ञा) गर्यो।” (तिर्मिजी: २६२१, निसाई: ४६३)

३. अल्लाहले यात्रामा भएको अवस्थामा होस् वा घरपरिवारमा बसेको अवस्थामा, शान्तिपूर्ण समयमा होस् वा युद्धको मैदानमा, बिरामी भएको अवस्थामा होस् वा सकुशल रहेको होस्, सम्पूर्ण अवस्थाहरूमा अनिवार्य रुपमा सलाह (नमाज) पढ्ने आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छः (حَافِظُوا عَلَى الصَّلَوَات) (البقرة: 238) अर्थः “सलाहहरूको सुरक्षा गर।” (सूरह अल्-बकरह: २/२३८) अल्लाहले आफ्ना आस्थावान भक्तहरूको विशेषताको वर्णन गर्दै भन्नु भएको छः (وَالَّذِينَ هُمْ عَلَى صَلَوَاتِهِمْ يُحَافِظُونَ) (المؤمنون: 9). अर्थः “उनीहरू आ-आफ्ना सलाहलाई सुरक्षित राख्दछन्।” (सूरह अल्-मुमिनून: २३/९)

सलाहका विशेषताहरूः

सलाह (नमाज) का विशेषताहरू बारेमा कुरआन र हदीसमा धेरै प्रमाणहरू छन्, तीमध्ये केही यस प्रकार छन्-

१- सलाहले पापहरू पखालि दिन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “पाँच अनिवार्य सलाहहरू र एक जुमादेखि अर्को जुमासम्मको ठूलो पाप गरेको छैन भने यसले सम्पूर्ण पापहरूलाई पखालि दिन्छ।” (मुस्लिम: २३३, तिर्मिजी: २१४)

२. यसले मुस्लिमको जीवनलाई प्रकाशमय बनाउँछ, सत्कर्मको प्रेरणा दिन्छ र कुकर्मबाट जोगाउँछ। अल्लाहले भन्नु भएको छः (إِنَّ الصَّلَاةَ تَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنْكَر) (العنكبوت: 45)، अर्थः “निश्चय नै सलाह (नमाज) ले अश्लील कार्य तथा नराम्रा कुराहरूबाट जोगाउँछ।” (सूरह अल्-अन्कबूत : २९/४५) रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सलाह नूर (प्रकाश) हो।” (मुस्लिम : २२३)

३. कयामत (महाप्रलय) को दिन भक्तसँग सर्वप्रथम सलाहको बारेमा सोधिनेछ। यदि यसमा सफल भइयो भने बाँकी खुड्किलाहरूमा सफलता प्राप्त हुनेछ र यसमा नै असफल भइयो भने अन्य सत्कर्महरू बेकार हुने छन्। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “कयामत (महाप्रलय) को दिन भक्तसँग सर्वप्रथम सलाहको बारेमा प्रश्न हुनेछ। यदि यसमा सफल भइयो भने बाँकीमा सफलता प्राप्त हुनेछ र यसमा नै असफल भइयो भने बाँकीमा पनि असफल भइनेछ।” (अलमुअजमुल-औसत लित्तबरानी : १८५९)

सलाह एउटा मुस्लिमको लागि आनन्दमय क्षण हो। सलाह पढ्दा जब आफ्नो अल्लाहसित दुखेसो पोख्दछ र कानेखुसी गर्दछ, त्यतिखेर उसले मनको सन्तुष्टि र अल्लाहको प्रेम पाउँछ।

सलाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई बढी आनन्दित बनाउथ्यो। उहाँले भन्नु भएको छः “मेरो आँखाको शान्ति र खुसी सलाहमा राखिएको छ।” (निसाई : ३३९२ सहीह)

सलाह नबी सल्लल्लाहु अलैहि वसल्लमको सन्तुष्टिको माध्यम थियो।

उहाँले आफ्नो मोअज्जिन (अजान दिने व्यक्ति) बिलाल रजियल्लाहु अन्हुलाई भन्नु हुन्थ्यो- “ए बिलाल ! सलाहद्वारा मलाई शान्ति देऊ।” (अबु-दाऊद : ४९८५ सहीह अल्बानी)

जुन बेला नबी सल्लल्लाहु अलैहि वसल्लमलाई कुनै ठूलो समस्या आई पर्थ्यो त्यस बेला उहाँ सलाहको लागि हतारिनु हुन्थ्यो। (अबु-दाऊद: १३१९ हसन)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्