Model: हालको खण्ड
पाठ यात्रामा सलाह (नमाज) र रोजा (व्रत)
यदि पार्कमा वा अन्यत्र घुमघाम गर्ने क्रममा सलाहको समय भयो तर त्यहाँ वरपर मस्जिद छैन भने प्रत्येक सलाहको लागि अजान दिनु पर्छ ।
अब्दुल्लाह बिन अब्दुल रहमान बिन अबी सासह ले बयान गरेका छन्. अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले मलाई भने, म तिमीलाई भेडाबाख्रा अनि भेडीगोठ (मरुभूमि) लाई धेरै माया गरेको देख्छु, सुन, जब तिमी आफ्नो भेडा वा गोठ (मरुभूमि) मा हुन्छौ र सलाहको समय भयो भने ठूलो स्वरमा अजान देऊ, किनभने "कुनै जिन्न, मानिस वा कुनै पनि चीजले जब मुअज्जिनको आवाज सुन्ने छ त उसले कयामतको दिन गवाही दिनेछ । "अबू सईदले भने: मैले यो कुरा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट सुनेको छु । (बुखारी: 609)
यहाँबाट अजानको महत्व छर्लङ्ग हुन्छ । तसर्थ, यात्रा, उडान वा वरपर पार्कमा घुमघामको लागि जानेहरूले लाज वा झर्को नमनिकन अजान दिनुपर्छ । अर्को हदीसमा छ: "मुअज्जिनलाई उसको आवाजको हदसम्म माफी दिइन्छ र उसको लागि सबै भिजेको र सुक्खा चिजबिजले क्षमायाचनाको प्रार्थना गर्छ ।" (इब्ने माजा: 24)
यदि कोही यात्रा वा बाहिर छ भने उसले किब्लाको दिशा जान्न पूर्ण प्रयास गर्नुपर्छ र यसको अर्थ मक्काको दिशा हो । यदि उसले काबालाई देखिरहेको छैन भने, त्यस दिशातिर अनुहार गर्नु पर्याप्त हुन्छ र सटीकताका साथ काबातिर अनुहार गर्नु आवश्यक छैन, किनकि यो गाह्रो छ र सहाबाहरूबाट प्रमाणित छैन ।
यदि कसैले किब्लाको खोजीमा प्रयास गर्छ र नमाज पढ्छ भने, उसको नमाज सही हुन्छ, यद्यपि सलाह पढिसकेपछि थाहा भयो कि उसले किब्ला बाहेक अन्य दिशामा सलाह पढेको छ तैपनि सलाह दोहोर्याउनु पर्दैन । अँ, सलाह पढ्दापढ्दै थाहा भयो भने किब्लाको दिशातर्फ फर्किनुपर्ने हुन्छ । तर यदि कसैले किब्लाको खोजी नगरिकन किब्ला बाहेक अन्य दिशामा सलाह पढेको छ भने उसले सलाह दोहोर्याउनु पर्छ ।
किब्ला जान्नको लागि स्मार्ट फोनमा भएका किब्ला देखाउने आधुनिक उपकरणहरू, सूर्य र अन्य भरपर्दो संकेतहरू वा त्यहाँका विश्वासनीय बासिन्दाको भनाइ पर्याप्त हुन्छ ।
यात्रा अवधिमा सलाह कायम राख्नु भनेको सबैभन्दा ठूलो सत्कर्महरू मध्येको एक हो र यो भक्तको ईमानको ठूलो प्रमाण हो ।
हदीसमा छ: "जमातका साथ सलाह पढेमा २५ सलाह बराबरको सवाब (पुण्य) प्राप्त हुन्छ, तर जसले मरुभूमिमा राम्रोसँग रुकुअ र सज्दा गरि सलाह पढ्छ उसले ५० सलाह बराबरको पुण्य पाउँछ ।" (अबू दाऊदः ५६०)
मानिसहरूको नजरबाट टाढा भए पनि उनको मनमा अल्लाहप्रतिको लगाव र डर भएकोले पनि यति पुण्य हुन सक्छ । त्यसैले होला, हदीसमा छ: "तपाईंको रब (प्रतिपालक) ले एक गोठालोको प्रशंसा गर्नुहुन्छ, जो पहाडको टुप्पोमा भएपनि सलाहको लागि अजान दिन्छ अनि सलाह पढ्छ । त्यसैले अल्लाहले भन्नु हुन्छ: मेरो यो भक्तलाई हेर, अजान दिन्छ अनि सलाह पढ्छ, ऊ मसँग डराउँछ, मैले मेरो भक्तलाई माफ गरें र जन्नतमा प्रवेश गर्ने सौभाग्य प्रदान गरें ।" (अबू दाऊद: 1203)
चिसो क्षेत्रहरूमा यात्रा गर्दा मानिसहरूले आगो बाल्छन्, त्यो किब्लाको दिशातिर पनि हुन सक्छ । त्यसैले आगोको दिशातर्फ सलाह नपढ्नु नै उत्तम हो, विशेषगरी इमामको लागि, ताकि आगोलाई पुजा गर्नेहरूको अनुसरण नहोस् । त्यसैगरी यसले नमाजी (सलाह पढ्ने) हरूलाई विचलित पनि पार्न सक्छ । तर यदि न्यानोपन पनि चाहिन्छ र ठाउँ परिवर्तन गर्न गार्हो छ भने केही फरक पर्दैन ।
जमअ को तात्पर्य: जुहरको समयमा पहिला जुहर पढ्नुहोस् र त्यो लगत्तै अस्र पढ्नुहोस् वा जुहरलाई ढिलोगरी अस्रको समयमा पहिला जुहर पढ्नुहोस् र त्यसपछि अस्र पढ्नुहोस् वा त्यसैगरी मग्रिबको समयमा पहिला मग्रिब र त्यो लगत्तै ईशा पढ्नुहोस् वा ढिलो गरी ईशाको समयमा पहिला मग्रिब पढ्नुहोस् र त्यसपछि ईशाको सलाह पढ्नुहोस् (जमअ तक्दीम र ताखीर) दुवै जायज छ । तर शर्त के छ भने दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएका कारणहरूमध्ये कुनै कारण हुनु पर्छ ।
कस्रको भनेको ४ रकातको नमाजलाई 2 रकात पढ्नु हो । अर्थात जोहर, अस्र र इशाको नमाजमा कस्र हुन्छ, तर मगरिब र फज्रको नमाजमा हुँदैन ।
जमअ र कस्र गर्ने केही जायज कारणहरू: यात्रा, यात्रा भनेको आफ्नो गाउँ ठाउँदेखि यति टाढाको यात्रा गर्नु जसलाई त्यहाँको उर्फमा यात्रा (सफर) भनिन्छ । केही विद्वानहरूले आधुनिक मापदण्डको आधारमा 80 किलोमिटर भनेका छन् । तसर्थ यदि कोही आफ्नो सहर नजिकै पिकनिक वा घुमघामको लागि जान्छ भने त्यो यात्रा अन्तर्गत पर्दैन । तर यात्रा (सफर) भनिने दुरीको सफर गर्छ भने कस्र गर्नु जायज हुन्छ, चाहे पिकनिकको लागि किन नहोस् ।
यात्रीको लागि कस्र गर्नु सुन्नत हो, जहाँसम्म 'जमअ' को कुरा हो, यदि ऊ यात्राको बाटोमा हिंडिरहेको छ भने उसले आफ्नो सहजता अनुसार जमअ तक्दीम (पहिलो सलाहको समयमा दुबै सलाह) र जमअ ताखीर (पछिल्लो सलाहको समयमा दुबै सलाह पढ्नु) दुबै गर्नु जायज छ । तर यदि ऊ कुनै ठाउँमा विश्राम लिन्छ, विशेषगरी त्यहाँ वरपर मस्जिद छ भने प्रत्येक सलाह मस्जिदमा गएर जमातका साथ पढ्नु उत्तम (अफजल) हो ।
यात्री र यात्रामा रहेकाहरूले यात्राको व्यस्तताले गर्दा सलाहलाई बेवास्ता गर्नु हुँदैन । सर्वशक्तिमान अल्लाहले युद्धको अवस्थालाई उल्लेख गरेपछि भन्नुभएको छ: {فَإِذَا اطْمَأْنَنتُمْ فَأَقِيمُوا الصَّلَاةَ ۚ إِنَّ الصَّلَاةَ كَانَتْ عَلَى الْمُؤْمِنِينَ كِتَابًا مَوْقُوتًا} (النساء: 103). अर्थः "जब डर समाप्त हुन्छ र तिमीहरू निश्चिन्त हुन्छौ, तब पुरा सलाह कायम गर । निश्चय नै आस्थावानहरूमाथि समयको पालनाका साथ सलाह अनिवार्य गरिएको छ ।" (निसा: १०३)
यात्रामा सलाह जमअ गर्दा एक अजान र प्रत्येक सलाह (नमाज) को लागि छुट्टै इकामत दिनु पर्याप्त हुन्छ । सलाह पछिका अज्कार र दुआहरू अन्तमा पढ्नुहोस् ।
यात्रामा जमअ र कस्र गर्ने जायज कारणबारे वादविवाद हुनसक्छ । यस्तो अवस्थामा इमाम तथा समूह प्रमुख (अमीर) को भनाइलाई सबैले मान्नुपर्ने हुन्छ र जमातले विवाद अथवा होहल्ला गर्नु हुँदैन, किनभने सद्भाव पनि उपासना हो । प्रमुखले आफ्नो ज्ञान र साथीहरूसँग सरसल्लाह गरेर निर्णय लिनुपर्ने हुन्छ र यदि उनलाई जमअ गर्नु ठीक लाग्दैन भने जमा नगर्दा पनि हुन्छ ।
यात्राको नियतले व्रत बस्नु हुँदैन, तर यदि कसैलाई प्रत्येक सोमबार र बिहीबार व्रत बस्ने बानी छ र यो उसको यात्रासँग मेल खान्छ भने, उसले व्रत बस्दा कुनै आपत्ति छैन ।
अनस (रजियल्लाहु अन्हु) को हदीसमा छ, हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग यात्रा गर्दै थियौं, व्रत बस्नेले नबसेकालाई र व्रत नबसेकाले बसेकालाई केही नराम्रो कुरा भनेनन् ।" (बुखारी: 1947, मुस्लिमः 1118)