Model: हालको खण्ड
पाठ अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु
अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्थाको अर्थः
सिङ्गो ब्रह्माण्डकै मालिक, सृष्टिकर्ता र अन्नदाता अल्लाह नै हुनुहुन्छ। जीवन-मरण र नाफा-नोक्सान उहाँकै हातमा छ। सर्वाधिकार उहाँकै हो र हरेक कार्यमाथि उहाँ नै सामर्थ्य हुनुहुन्छ। यी सम्पूर्ण विशेषताहरूमा कोही उहाँको साझेदार छैनन् भन्ने कुरालाई दृढतापूर्वक स्वीकार गर्नु पर्छ। अल्लाहलाई आफ्नो कार्यमा एक्लो ठानेर निम्न लिखित कुराहरूमाथि आस्था राख्नु पर्छः-
अल्लाह नै यो सिङ्गो ब्रह्माण्ड र यसमा भएभरका सम्पूर्ण चीजबीजहरूका सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरु कोही सृष्टिकर्ता छैन। अल्लाहले भन्नु भएको छः “अल्लाह नै सम्पूर्ण चीजहरुका सृष्टिकर्ता हुनुहुन्छ।” (सूरह अज्-जुमर: ३९/६२) मानिसको कारिगरी भनेको कुनै कुरालाई रुपान्तर गर्नु वा यताउताबाट बटुलेर एकत्रित गर्नु र मिलाउनु मात्र हो। नजन्मेकालाई जन्म दिनु र मरेकालाई पुनः जीवित पार्नु वा सृष्टि गर्नु पक्कै पनि होइन।
उहाँ नै सम्पूर्ण प्राणीहरूका अन्नदाता हुनुहुन्छ। उहाँ बाहेक अरु कोही अन्नदाता छैन। अल्लाहले भन्नु भएको छः “धरतीमा घस्रेर हिंड्ने, रिङने र फुर्र-फुर्र उड्ने सबै प्राणीको आहार अल्लाहकै जिम्मामा छ।” (सूरह हूद: ११/६)
उहाँ नै सम्पूर्ण चीजहरूका असल मालिक हुनुहुन्छ। उहाँ बाहेक असल मालिक कोही छैन। अल्लाहले भन्नु भएको छः “आकाशहरू, पृथ्वी र त्यसमा रहेका सम्पूर्ण चीजहरूका मालिक अल्लाह नै हुनुहुन्छ।” (सूरह अल्-माइदा: ५/१२०)
उहाँ नै सम्पूर्ण कुराहरूका प्रबन्धक हुनुहुन्छ। उहाँ बाहेक अरु कोही प्रबन्धक छैन। अल्लाहले भन्नु भएको छः “आकाशदेखि धरतीसम्मका प्रबन्ध उहाँ नै मिलाउनु हुन्छ।” (सूरह अस्-सज्दा: ३२/५)
अल्लाहको प्रबन्ध र मानिसको प्रबन्ध
मानिसले मिलाउने प्रबन्ध र जीविकाको चाँजोपाँजो एकदमै सीमित छ। ऊ आफ्नो शक्तिभन्दा बढी केही पनि गर्न सक्दैन। उसको प्रबन्ध कहिले सफल हुन्छ त कहिले असफल। तर अल्लाहको प्रबन्धमा सम्पूर्ण ब्रह्माण्ड समावेश भएको छ। त्यो कहिल्यै पनि असफल हुनै सक्दैन। कार्यान्वयन योग्य छ, न कुनै कुराले त्यसलाई छेक्छ न बाधा अड्चन आउँछ। अल्लाहले भन्नु भएको छः “सावधान ! सृष्टि गर्ने हैसियत र आदेश जारी गर्ने सर्वाधिकार उहाँकै लागि खास छ। अल्लाह मंगलमय, सर्वश्रेष्ठ र सम्पूर्ण जगतका मालिक हुनुहुन्छ।” (सूरह अल्-आ'राफ: ७/५४)
अल्लाहको रसूलको सल्लल्लाहु अलैहि वसल्लमको जमानामा अरबका मुश्रिकहरु अल्लाहको रुबूबियत (प्रभुत्व) माथि विश्वास गर्दथेः
रसूल सल्लल्लाहु अलैहि व सल्लम को जमानामा अरबका मुश्रिकहरु अल्लाह नै सृष्टिकर्ता, मालिक तथा प्रबन्धक हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्दथे तर यस कुराले मात्र उनीहरूलाई इस्लाममा प्रवेश गराउन सकेन। अल्लाहले भन्नु भएको छः “आकाशहरू र धरतीका सृष्टिकर्ता को हुन् ? सोध्नु हुन्छ भने तिनीहरूले अवश्य जवाफ दिनेछन्, अल्लाह नै हुनुहुन्छ।” (सूरह लुक्मान: ३१/२५) जब सारा ब्रह्माण्डको सृष्टि गर्ने, पालनपोषण गर्ने, संहार गर्ने सबै अधिकार एउटै ईश्वर अल्लाहको हातमा छ भने उपासना पनि बिना कुनै साझेदार उहाँको नै हुनुपर्छ, होइन र ?
यो कसरी सम्भव छ कि मानिसले अल्लाहलाई सृष्टिकर्ता, मालिक, प्रबन्धक, मार्ने र जीवित पार्ने स्वीकार्छ, तै पनि उपासनाका केही अंशहरू अल्लाह बाहेक अरुको लागि गर्दछ ? यो त सरासर अन्याय र महापाप हो। त्यसैले लुक्मानले आफ्नो छोरालाई सम्झाउदै भन्नु भएको थियोः “हे छोरा ! अल्लाहसँग कसैलाई साझेदार नबनाऊ है, किनभने साझेदारी (शिर्क) गर्नु महापाप हो।” (सूरह लुक्मान: ३१/१३)
जुन बेला रसूल सल्लल्लाहु अलैहि व सल्लम सित सोधियो- अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयोः “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमीले उहाँको साथमा अरूलाई साझेदार बनाउँछौ।” (बुखारी: ४२०७, मुस्लिम: ८६)
यदि कुनै भक्तलाई यस कुराप्रति दृढ विश्वास हुन्छ कि भाग्य विधाताले हाम्रो भाग्यमा जे लेख्नु भएको छ, त्यसलाई कसैले पनि मेटाउन सक्दैन, किनभने भाग्यको साँचो उहाँकै हातमा छ, उहाँले जे चाहनुहुन्छ फेरबदल गर्नुहुन्छ, उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक सबै असहाय र सृष्टि हुन्। सबै सर्वाधिकार उहाँकै हातमा छ। उहाँ बाहेक अरु कोही सृष्टिकर्ता, पालनकर्ता र प्रबन्धक छैनन्। उहाँको आज्ञा बिना कुनै पनि कण आफ्नो ठाउँबाट यताउता सर्दैन न उहाँको आज्ञा बिना स्थिर रहन्छ, भन्ने पूर्ण आस्थाले मानिसको मुटुमा अल्लाहमाथिको निश्चल आस्था पलाउँछ। अनि जीवनको पाईला-पाईलामा उहाँमाथि भरोसा र हरेक प्रकारको परिवर्तनसँग संघर्ष गर्ने आँट हुन्छ।