सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ अल्लाहका नाम र विशेषताहरू (अस्मा र सिफात) माथि आस्था

अल्लाहका नाम र विशेषताहरू (अस्मा र सिफात) को बारेमा जानकारी प्राप्त गर्नाले र तिनको माग अनुसार अल्लाहको उपासना गर्नाले ईमान (आस्था) बढ्छ। यस पाठमा तपाईंले यीनै कुराहरू सम्बन्धी जानकारी प्राप्त गर्नुहुनेछ।

  • तौहीद अस्मा र सिफात (नाम र विशेषताहरू) को जानकारी
  • अस्मा र सिफातको बारेमा अहले सुन्नत वल्-जमाअतको अकीदाको जानकारी
  • अल्लाहका केही नामहरूको अर्थको जानकारी

अल्लाहका नामहरू र विशेषताहरू (अस्मा र सिफात) माथि आस्था

कुर्आनमा विभिन्न आयतहरूमा भक्तहरूलाई आफ्नो सृष्टिकर्तालाई चिन्नको लागि उत्प्रेरित गरिएको छ र यो कुरा पटक पटक दोहोराइएको पनि छ । किनभने मुस्लिमको लागि आफ्नो प्रतिपालक अल्लाहलाई उहाँको नाम, विशेषता र महानता, अनि श्रेष्ठताहरूको साथ जान्नु अति आवश्यक छ, ताकि उसले पूर्ण ज्ञान र विश्वासको साथमा अल्लाहको उपासना गरोस् अनि ती नाम तथा विशेषताहरूको आधारमा तिनको महत्व र मागलाई आफ्नो जीन्दगीमा र उपासनामा उतार्न सकोस्।

त मुस्लिमहरूले अल्लाहका ती नामहरू र विशेषताहरूमाथि विश्वास गर्दछन् जसलाई अल्लाहले आफ्नो किताब (कुर्आन) र रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतद्वारा प्रमाणित गर्नु भएको छ। अनि उहाँका नामहरू र विशेषताहरूलाई त्यसैगरी विश्वास गर्छन् जो उहाँको लागि योग्य र शोभनीय छन्।

अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरू छन्। उहाँ जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छः (لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ الْبَصِير) (الشورى: 11). अर्थः “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।” (सूरह अश्-शूरा: ४२/११) अल्लाह आफ्नो नाम र विशेषताहरूमा सम्पूर्ण सृष्टिको समानताबाट पवित्र र महान हुनुहुन्छ।

अल्लाले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आदेश दिँदै भन्नुभएको छः (قُلِ ادْعُوا اللهَ أَوِ ادْعُوا الرَّحْمنَ أَيًّا مَّا تَدْعُوا فَلَهُ الْأَسْمَاءُ الْحُسْنَى) (الإسراء: 110) अर्थः भनिदिनुस्- तिमीले उहाँलाई अल्लाह भनेर पुकार वा रहमान भनेर, जुन नामले पुकारे पनि सबै राम्रा नामहरू उहाँकै लागि छन्। (सूरह अल्-इस्राः १७/ ११०)

अब हामीले अल्लाहका नामहरू मध्येका केही नामहरू प्रस्तुत गर्दैछौं।

अर्रहमान अर्रहीम

यी दुई यस्ता नामहरू हुन् जसद्वारा अल्लाहले आफ्नो किताब (कुर्आन) को सुरुवात (सूरतुल्-फातिहाको सुरु) गर्नु भएको छ। यिनै नामहरूको माध्यमले अल्लाहले सबैभन्दा पहिले आफूलाई आफ्ना भक्तहरूको सामु परिचित गर्नु भएको छ। अनि सत्यको मार्गदर्शक र बयानकर्ता कुर्आनका प्रत्येक सूरहहरूको सुरुमा राखिदिनु भएको छ। त्यो हो “बिस्मिल्लाहिर्रहमानिर्रहीम” अर्थः अत्यन्तै करुणामय परम दयालु अल्लाहको नाम लिएर सुरु गर्दछु।”

हाम्रो प्रतिपालक अल्लाहले आफूमाथि दया गर्ने कार्यलाई अनिवार्य गरेर हामीमाथि ठुलो कृपा गर्नु भएको छ। उहाँको दया हरेक चीजहरूमा व्याप्त छ, यहाँ सम्म कि सृष्टिका प्राणीहरूले एक आपसमा दया गर्नु, आफ्नो सन्तानप्रति आमाको मायाँ र ममता, प्राणीहरूको लागि भोजनको सुलभता, आदि, जस्ता कुराहरू अल्लाहले उनीहरूमाथि गरेको दयाको नतीजा नै हुन्। अल्लाहले भन्नु भएको छः (فَانْظُرْ إِلَى آثَارِ رَحْمَتِ اللهِ كَيْفَ يُحْيِ الْأَرْضَ بَعْدَ مَوْتِهَا) (الروم: 50). अर्थः अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुहोस्, उहाँले कसरी पृथ्वीलाई त्यसको मृत्यु पश्चात जीवित गर्नु हुन्छ! (सूरह अर्रूमः ३०/ ५०)

उमर बिन खत्ताब रजियल्लाहु अन्हुले बयान गर्नु भएको छः रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूले कैदीहरूको साथमा ल्याइएकी एकजना महिलालाई देख्नु भयो, जसले आफ्नो बच्चालाई उसको पासमा आउँदा बित्तिकै काखमा राखेर दुध खुवाउँथी। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नु भयोः तिमीहरूलाई के लाग्छ, यो महिलाले आफ्नो बच्चालाई आगोमा हाल्न सक्छे? सहाबाले भनेः नाई, बाँचुन्जेल (जानीजानी) उसलाई आगोमा हाल्न सक्दैने। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अल्लाह आफ्ना भक्तहरूमाथि त्यसभन्दा पनि धेरै दयाबान हुनुहुन्छ जति यो महिला आफ्नो बच्चामाथि दयाबान छे।” (बुखारीः ५९९९, मुस्लिमः २७५४)

त सृष्टिकर्ता अल्लाहको दया (रहमत) यस्तो अन्तिम र परिपूर्ण चीज हो जो सबैभन्दा महान र उत्तम छ। उहाँको दया त हरेक किसिमका अनुमान, कल्पना र धारणाभन्दा माथि छ। त्यसैले यदि मानिसले अल्लाहको दयाको परिधि, बिस्तार र महत्वको बारेमा थाहा पाउँछ भने कहिल्यै पनि त्यसबाट हताश र निराश हुँदैन।

अल्लाहको रहमत (दया) दुई प्रकारका छन्-

١
अल्लाहको त्यो दया जसमा मानव, जिन्नात, जनावर र निर्जीव सबै किसिमका सृष्टिहरू समेटिएका छन्, यिनीहरूको लागि सांसारिक मामिलामा सहजता मिलेको छ। अल्लाहले आफ्ना फरिश्ताहरूको दुआको सम्बन्धमा जानकारी गराउँदै भन्नु भएको छः (رَبَّنَا وَسِعْتَ كُلَّ شَيْءٍ رَحْمَةً وَعِلْمًا) (غافر: 7) अर्थः “हे हाम्रो पालनकर्ता! तपाईंले हरेक चीजलाई आफ्नो दया र ज्ञानको परिधि भित्र राख्नु भएको छ।” (सूरह गाफिरः ४०/ ७)
٢
अल्लाहको त्यो दया जो उहाँका आज्ञाकारी (मोमिन) भक्तहरूको लागि खास छ, जो उनीहरूलाई उहाँको आज्ञापालन र अनुसरणको कारणले प्रदान गर्नु हुन्छ। उनीहरूको लागि भलाइ र कल्याणलाई सहजता गरेर उनीहरूलाई त्यसमा अटल राख्नु हुन्छ अनि उनीहरूलाई क्षमादान र कृपा प्रदान गरेर नर्कबाट मुक्ति दिई स्वर्गमा प्रवेश गराउनु हुन्छ र आफ्नो दयालाई पूर्णता दिनु हुन्छ। कुर्आनमा भन्नु भएको छः (وَكَانَ بِالْمُؤْمِنِينَ رَحِيمًا • تَحِيَّتُهُمْ يَوْمَ يَلْقَوْنَهُ سَلَامٌ وَأَعَدَّ لَهُمْ أَجْرًا كَرِيمًا) (الأحزاب: 43-44). अर्थः “अनि अल्लाह मोमिन (आस्थावान) हरूमाथि अत्यन्तै कृपावान हुनुहुन्छ। जुन दिन उनीहरू अल्लाहसँग भेट्ने छन्, उनको उपहार (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिएको छ।” (सूरतुल्-अहजाबः ३३/ ४३-४४)

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जानीराख तिमीहरूमध्ये कोही पनि व्यक्ति मात्रै आफ्नो कर्म (अमल) को कारणले स्वर्ग (जन्नत) मा जान सक्ने छैन। सहाबाले सोधेः तपाईं पनि हे अल्लाहको रसूल! उहाँले भन्नु भयोः म पनि, तर अल्लाहले आफ्नो दयाले ढाक्नु भयो भने (अवश्य जानेछु)।” (मुस्लिमः २८१६)

भक्तको तर्फबाट आज्ञापालन र अनुसरणमा अनि आफ्नो प्रतिपालकको निकटता र सम्मानमा जति धेरै बढोत्तरी हुनेछ त्यसै अनुसार अल्लाहको कृपाको हकदार हुनुमा उसको हिस्सेदारी बढ्नेछ। अल्लाहले भन्नु भएको छः (إِنَّ رَحْمَتَ اللهِ قَرِيبٌ مِنَ الْمُحْسِنِينَ) (الأعراف: 56) अर्थः “निःसन्देह अल्लाहको रहमत (दया) सत्कर्मीहरूको निकट छ। (सूरह आराफः ७/ ५६)

अस्-समीअ अल्-बसीर

संसारभर मानिसहरूले हजारौं किसिमका अलग-अलग भाषाहरू बोल्छन् र प्रत्येक मानिसका आ-आफ्नै आवश्यकताहरू छन्। यति हुँदाहुँदै पनि अल्लाहले प्रत्येकको पुकारलाई सुन्नु हुन्छ चाहे त्यो प्रत्यक्ष होस्, चाहे अप्रत्यक्ष होस्, चाहे त्यो स्पष्ट सुनिने होस्, चाहे अस्पष्ट र आवाजहीन होस्। अल्लाहको लागि सबै बराबर छन्। केही अज्ञानीहरूले सोंच्ने गर्थे कि अल्लाहले उनीहरूको गोप्य कुराहरूलाई सुन्नु हुन्न। उनीहरूको यही सोंचको खण्डन गर्दै चेतावनीको रुपमा अल्लाहले यो आयत अवतरण गर्नु भयोः (أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُمْ بَلَى وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ) (الزخرف: 80) अर्थः “के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र कानेखुसीलाई सुन्दैनौं? किन नसुन्नु (हामीले सबै कुरा सुन्दछौं) र हामीले पठाएका फरिश्ताहरूले उनीहरूका सबै कुराहरू लेख्दैछन्।” (सूरतुज्-जुखरूफः ४३/ ८०)

अल्लाहले हरेक चीजहरूलाई देख्नु हुन्छ चाहे त्यो जतिसुकै सानो र सुक्ष्म किन नहोस्, उहाँको ज्ञानबाट कुनै पनि कुरा गोप्य रहँदैन। यसै सन्दर्भमा सुन्न र देख्न पनि नसक्ने मूर्तिहरूको पूजा गर्ने आफ्नो पिता आजरलाई इब्राहीम अलैहिस्सलामले भनेको कुरा कुर्आनमा वर्णन गरिएको छः (يَا أَبَتِ لِمَ تَعْبُدُ مَا لَا يَسْمَعُ وَلَا يُبْصِرُ وَلَا يُغْنِي عَنْكَ شَيْئًا) (مريم: 42) अर्थः “हे मेरो पिता! तपाईले यस्ता चीजहरूको पूजा किन गर्नुहुन्छ? जसले न सुन्दछन्, न देख्दछन् र न त तपाईंलाई कुनै फाइदा पुर्याउन सक्दछन्।” (सूरह मरियमः १९/ ४२)

अल्लाह नै सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ। आकाश र धरतीमा कण बराबर पनि कुनै चीज अल्लाहको जानकारीबाट लुप्त छैन र उहाँलाई हरेक रहस्यमय कुराको रहस्यबारे पूर्ण ज्ञान छ भन्ने कुरा जब कुनै भक्तले जान्दछ, तब उसलाई अल्लाहको ध्यान तथा इबादतको फाइदा हुन्छ। अनि उसले आफूलाई झुट र गीबत (परोक्ष निंदा) गर्नबाट बचाउने कोसिस गर्दछ, आफ्ना अङ्ग प्रत्यअङ्गलाई र हृदयको चाहनालाई प्रत्येक ती चीजहरूबाट बचाउने कोसिस गर्दछ जो अल्लाहलाई मन पर्दैनन् अनि उसले अल्लाहद्वारा प्राप्त यी वरदानहरूलाई अल्लाहलाई मनपर्ने कार्यमा लगाउन प्रयत्न गर्दछ। किनभने अल्लाहले उसका प्रत्यक्ष र परोक्ष सबै क्रियाकलापलाई देखिरहनु भएको छ। त्यसैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले ईमानको सर्वोच्च श्रेणी ‘एहसान’ को परिभाषा दिंदै भन्नु भएको छः “अल्लाहको उपासना यसरी गर कि मानौं तिमीले अल्लाहलाई देखिरहेका छौ, यदि तिमीले देखिरहेका छैनौ भने अल्लाहले तिमीलाई देखिरहनु भएको छ।” (बुखारी: ५०, मुस्लिम: ८)

अल्-हैय्यु, अल्-कैय्यूम

अल्लाह यस्तो परिपूर्ण र शाश्वत जीवन हुनुहुन्छ जसको न कुनै सुरुवात छ न अन्त। उहाँ नै आदि हुनुहुन्छ र उहाँ नै अनन्त तथा अबिनाशी हुनुहुन्छ। उहाँमा कुनै पनि किसिमको कमी कमजोरी छैन, हाम्रो प्रतिपालक अल्लाह हरेक त्रुटीबाट पवित्र एवम् मुक्त हुनुहुन्छ। त उहाँको शाश्वत जीवन उहाँका सम्पूर्ण विशेषताहरू मध्ये प्रत्येक विशेषता जस्तैः इल्म (ज्ञान), सम्अ (सुन्नु), बसर (देख्नु), कुदरत (क्षमता), इरादा (चाहना) आदिले उहाँको परिपूर्णता स्पष्ट हुन्छ। त्यसकारण जसमा यस्तो परिपूर्ण गुण र विशेषता हुन्छ ऊ नै वास्तवमा इबादतको हकदार हुन्छ र उसैको इबादत गर्नु पर्छ, उसैको समक्ष नतमस्तक र पूर्ण समर्पित हुनु पर्छ अनि उसैमाथि विश्वास र भरोसा गर्नु पर्छ। कुर्आनमा आदेश दिइएको छः (وَتَوَكَّلْ عَلَى الْحَيِّ الَّذِي لَا يَمُوت) (الفرقان: 58) अर्थः “उनै सदैव जीवित रहने (अल्लाह) माथि भरोसा गर जसलाई कहिल्यै मृत्यु आउँदैन। (सूरह अल्-फुर्कानः २५/ ५८)

अल्लाहको नाम “अल्-कैय्यूम” को अर्थले दुई कुराहरूलाई प्रमाणित गर्छः

١
अल्लाहको पूर्ण निस्पृहताः किनभने उहाँ स्वयं विद्यमान हुनुहुन्छ र आफ्ना सृष्टिबाट निरपेक्ष हुनुहुन्छ अथवा स्वयं सम्पन्नशाली हुनुहुन्छ। कुर्आनमा भन्नु भएको छः :(يَا أَيُّهَا النَّاسُ أَنْتُمُ الْفُقَرَاءُ إِلَى اللهِ وَاللهُ هُوَ الْغَنِيُّ الْحَمِيدُ) (فاطر: 15). अर्थः “हे मानव! तिमीहरू अल्लाहमाथि मुखापेक्षी (निर्भर) छौ र अल्लाह त निष्पृह एवम् सर्वगुण सम्पन्न हुनुहुन्छ।” (सूरह फातिरः ३५/ १५) उहाँ आफ्ना सृष्टिका चीजहरूबाट पूर्ण रुपमा निरपेक्ष हुनुहुन्छ। न त उहाँलाई कसैको आज्ञापालन र अनुसरण गर्नाले कुनै फाइदा हुन्छ, न अवज्ञा गर्नाले कुनै घाटा हुन्छ। कुर्आनमा भनिएको छः (وَمَنْ جَاهَدَ فَإِنَّمَا يُجَاهِدُ لِنَفْسِهِ إِنَّ اللهَ لَغَنِيٌّ عَنِ الْعَالَمِينَ) (العنكبوت: 6) अर्थः “र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ। निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह हुनुहुन्छ।” (सूरतुल्-अन्कबूतः २९/ ६) अनि मूसा अलैहिस्सलामले भनेको कुरा यसरी बयान गरिएको छः (إِنْ تَكْفُرُوا أَنْتُمْ وَمَنْ فِي الْأَرْضِ جَمِيعًا فَإِنَّ اللهَ لَغَنِيٌّ حَمِيدٌ) (إبراهيم: 8). अर्थः “यदि तिमी सबै र यस संसारका सम्पूर्ण मानिसहरूले अल्लाहको कृतध्नता गर्छौ भने पनि अल्लाह निरपेक्ष र प्रशंसनीय हुनुहुन्छ।” (सूरतु इब्राहीमः१४/ ८)
٢
अल्लाहको पूर्ण सामर्थ्य र सृष्टिमाथि उहाँको नियन्त्रणः किनभने उहाँले आफ्नो सामर्थ्यले सृष्टिलाई संचालन र संरक्षण गर्नु हुन्छ। सबै प्राणीहरू उहाँमाथि निर्भर र अपेक्षित छन्, एक पल पनि उहाँदेखि निरपेक्ष रहन सक्दैनन्। विश्वको व्यवस्था र संचालन अनि जीवनका चहल पहलको सम्बन्धमा जो पनि देखिन्छन् ती सबै उहाँकै एक्लो सामर्थ्यको नतिजा हुन्। अल्लाहले उहाँसँग अरुलाई साझेदार गराउनेहरूको कार्यलाई नकार्दै भन्नु भएको छः (أَفَمَنْ هُوَ قَائِمٌ عَلَى كُلِّ نَفْسٍ بِمَا كَسَبَتْ) (الرعد: 33) अर्थः “उहाँ (अल्लाह) जसले प्रत्येक व्यक्तिले उसले गरेको कार्यहरूको निरीक्षण गर्नु हुन्छ, (ती झुटा पूज्य समान हुन सक्छ!)” [सूरह अर्-रअदः १३/ ३३] अनि अर्को ठाउँमा भनिएको छः (إِنَّ اللهَ يُمْسِكُ السَّمَاوَاتِ وَالْأَرْضَ أَنْ تَزُولَا وَلَئِنْ زَالَتَا إِنْ أَمْسَكَهُمَا مِنْ أَحَدٍ مِنْ بَعْدِهِ) (فاطر: 41). अर्थः “निःसन्देह अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराख्नु भएको छ, ताकि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कसैले पनि उनीहरूलाई थाम्न सक्दैन।” (सूरतु फातिरः ३५/ ४१)

त्यसैले अल्लाहसँग दुआ गर्दा र सहायताको लागि पुकार्दा यी दुई नामहरूलाई माध्यम बनाएर माग्नु उत्तम कुरा हो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुआ माग्ने तरिकामा एउटा यो पनि थियोः يَا حَيُّ يَا قَيُّومُ بِرَحْمَتِكَ أَسْتَغِيثُ" (الترمذي: 3524). उच्चारणः “या हय्यु या कय्यूम बिरहमतिक अस्तगीस” अर्थः “हे सधै जीवित रहने! हे सबैलाई थाम्ने! तपाईंको दयाको माध्यमले माग गर्दछु।” (तिर्मिजीः ३५२४)

अल्लाहका नाम र विशेषताहरूमाथि आस्थाका केही फाइदाहरूः

١
१. अल्लाहको बारेमा ज्ञान, जसले अल्लाहका नाम र विशेषताहरूमाथि जति विश्वास गर्छ, अल्लाहको बारेमा उसको ज्ञानमा त्यत्ति नै वृद्धि हुन्छ। उसको ईमान र आस्था बलियो हुन्छ अनि तौहीद (अल्लाहको एकत्व) मा पनि उसको यकीन बढ्छ। जसको नतिजा मुटुभरि उहाँकै लागि माया र आदर हुन्छ।
٢
२. अल्लाहका नाम र विशेषताद्वारा उहाँको प्रशंसा गर्नु, उहाँको प्रशंसा गर्ने सबैभन्दा उत्तम तरिका यही नै हो। अल्लाहले भन्नु भएको छः (يَا أَيُّهَا الَّذِينَ آمَنُوا اذْكُرُوا اللهَ ذِكْرًا كَثِيرًا) (الأحزاب: 41). “हे आस्थावानहरू हो! अल्लाहलाई अत्याधिक स्मरण (प्रशंसा) गर।” (सूरतुल्-अह्जाब: ३३/ ४१)
٣
३. अल्लाहका नाम र विशेषताहरूद्वारा प्रार्थना गर्नु, अल्लाहले भन्नु भएको छः (وَلِلهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا) (الأعراف: 180) अर्थः “अल्लाहका राम्रा नामहरु छन् र उहाँलाई उहाँकै नामबाट पुकार्ने गर।” (सूरतुल्-आराफ: ७/ १८०) जस्तै– हे अन्नदाता ! हामीलाई रोजी (जीविका) दिनुहोस्, हे प्रायश्चित स्वीकार्नेवाला! मेरो प्रायश्चितलाई स्वीकार गर्नुहोस्, हे करुणामय! ममाथि कृपा गर्नुहोस्, आदि।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्