सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ किताब (धर्मग्रन्थ) हरूमाथि आस्था राख्नु

अल्लाहद्वारा अवतरित किताब (धर्मग्रन्थ) हरूमाथि ईमान (आस्था) राख्नु ईमानका आधारहरू मध्येको एउटा आधार हो। यस पाठमा तपाईंले किताबहरूमाथि ईमानको अर्थ, त्यसको महत्त्व, ती मध्ये केहीका नामको बारेमा जानकारी र वर्तमान अवस्थामा हाम्रो लागि स्वीकार्य किताबको बारेमा जानकारी प्राप्त गर्नुहुनेछ।

  • किताब (धर्मग्रन्थ) हरूमाथि ईमान (आस्था) को अर्थ र त्यसको महत्त्वबारे जानकारी।
  • किताबहरूको सम्बन्धमा वर्तमान अवस्थामा मुस्लिमहरूको आस्था र स्वीकारबारे जानकारी।
  • पवित्र कुर्आनप्रति मुस्लिमहरूको कर्तव्यबारे जानकारी।

किताब (धर्मग्रन्थ) हरूमाथि आस्थाको अर्थः

अल्लाहले भक्तहरूका लागि आफ्ना रसूल (सन्देष्टा) हरूमाथि किताबहरू अवतरण गर्नु भएको छ भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। यी ग्रन्थहरू उहाँका वाणी र वचन हुन्। यसमा ज्ञानको ज्योति, सत्य कुरा, लोक र परलोकमा प्राप्त हुने सफलताका रहस्यहरू छन्।

किताब (धर्मग्रन्थ) हरूमाथि आस्थाको महत्वः

किताबहरूमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। अल्लाहले भन्नु भएको छः (يَا أَيُّهَا الَّذِينَ آَمَنُوا آَمِنُوا بِاللهِ وَرَسُولِهِ وَالْكِتَابِ الَّذِي نَزَّلَ عَلَى رَسُولِهِ وَالْكِتَابِ الَّذِي أَنْزَلَ مِنْ قَبْل) (النساء: 136). अर्थः “हे ईमानवालाहरू हो ! अल्लाह, उहाँका रसूल र उहाँको रसूल (मुहम्मद) माथि अवतरित किताब (ग्रन्थ) अनि जुन ग्रन्थहरु यो भन्दा पहिले अवतरित भए ती सबैमाथि आस्था राख।” (सूरह अन्-निसा: ४/ १३६) अल्लाहले आफू, आफ्नो रसूल (मुहम्मद), उहाँमाथि अवतरित किताब ‘कुरआन’ र यस भन्दा पहिले अवतरित सम्पूर्ण ग्रन्थहरूमाथि ईमान ल्याउने (आस्था राख्ने) आदेश दिनु भएको छ।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले ईमानको बारेमा भन्नु भएको छः “तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (मुस्लिम : ८)

किताबहरूमाथिको आस्थाले कुन-कुन विषय वस्तुलाई समेटेको छ?

١
अल्लाहद्वारा नै अवतरित किताबहरू हुन् भन्ने आस्था राख्नु।
٢
अल्लाहका वाणी हुन् भन्ने आस्था राख्नु।
٣
अल्लाहका किताबहरूमाथि आस्था राख्नु, जस्तैः कुर्आन हाम्रो सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित भयो। तौरात मूसा अलैहिस्सलाममाथि र इन्जील ईसा अलैहिस्सलाममाथि अवतरित भयो।
٤
किताबका प्रमाणित कुराहरूलाई सत्य मान्नु।

अघिल्ला ग्रन्थहरूको बारेमा हाम्रो धारणा के हो त?

मूसा अलैहिस्सलाम माथि अवतरित ग्रन्थ तौरात र ईसा अलैहिस्सलाम माथि अवतरित ग्रन्थ इन्जीलको बारेमा मुस्लिमको आस्था के छ भने यी ग्रन्थहरू पनि अल्लाहद्वारा नै अवतरित हुन्, यी दुवै ग्रन्थहरूमा पनि अल्लाहको आदेश, यसलोक र परलोकको लागि सोझो मार्गमा डोर्याउने अर्ति-उपदेश, जीवन यापन गर्ने तरिका र ज्ञानका ज्योति छन्। तर अल्लाहले हामीलाई कुरआनमा सूचित गर्नु भएको छ कि अहले-किताब (यहूदी र ईसाइ) हरूले आ-आफ्ना किताबमा फेरबदल र थप-घट गरेका छन्, त्यसैले ती ग्रन्थहरू अल्लाहले अवतरण गरे अनुसार यथावत रुपमा सुरक्षित छैनन्।

वर्तमान तौरात त्यो तौरात होइन जुन मूसा अलैहिस्सलाम माथि अवतरित भएको थियो। किनभने यहूदीहरूले त्यसमा फेरबदल, थप-घट र धेरै जसो विधानहरूका साथ खेलवाड गरेका छन्। अल्लाहले भन्नु भएको छः (مِنَ الَّذِينَ هَادُوا يُحَرِّفُونَ الْكَلِمَ عَنْ مَوَاضِعِه) (النساء:46). अर्थः “कतिपय यहूदीहरूले शब्दहरूलाई तिनका वास्तविक स्थानबाट फेरबदल गर्ने गर्दछन्।” (सूरह अन्-निसा: ४/४६)

त्यसैगरी वर्तमान बाइबल त्यो इन्जील होइन जुन ईसा अलैहिस्सलाम माथि अवतरित भएको थियो। किनभने ईसाइहरूले त्यसमा फेरबदल र धेरै जसो विधानहरूलाई परिवर्तन गरेका छन्। अल्लाहले भन्नु भएको छः (وَإِنَّ مِنْهُمْ لَفَرِيقًا يَلْوُونَ أَلْسِنَتَهُمْ بِالْكِتَابِ لِتَحْسَبُوهُ مِنَ الْكِتَابِ وَمَا هُوَ مِنَ الْكِتَابِ وَيَقُولُونَ هُوَ مِنْ عِنْدِ اللهِ وَمَا هُوَ مِنْ عِنْدِ اللهِ وَيَقُولُونَ عَلَى اللهِ الْكَذِبَ وَهُمْ يَعْلَمُون) (آل عمران:78). अर्थः “तिनीहरूमध्ये एउटा दल यस्तो पनि छ, जो किताब पढ्दा आफ्नो जिब्रोलाई बाङ्गो पार्दछन् ताकि तिमीहरूले त्यसलाई ग्रन्थको अंश ठान, जबकि त्यो ग्रन्थको अंश होइन र तिनीहरू यो अल्लाहको तर्फबाट हो भन्छन् जबकि त्यो अल्लाहको तर्फबाट होइन र यसरी नै तिनीहरूले जानी-जानी अल्लाहले भनेको भनेर अल्लाहमाथि झूठो आरोप लगाई रहेका छन्।” (सूरह आलि-इमरान: ३/७८)

(وَمِنَ الَّذِينَ قَالُواْ إِنَّا نَصَارَى أَخَذْنَا مِيثَاقَهُمْ فَنَسُواْ حَظًّا مِّمَّا ذُكِّرُواْ بِهِ فَأَغْرَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاء إِلَى يَوْمِ الْقِيَامَةِ وَسَوْفَ يُنَبِّئُهُمُ اللهُ بِمَا كَانُواْ يَصْنَعُون) (المائدة: 14). अर्थः “उनीहरूमध्ये जसले हामी ईसाइ हौं” भने, तिनीहरूसित हामीले वाचा लियौं, तिनीहरूले पनि ती शिक्षाहरूको अधिकांश भाग बिर्सिदिए जसको पाठ तिनीहरूलाई दिइएको थियो। अन्तमा हामीले तिनीहरू बीच कयामत (महाप्रलय) सम्मको लागि शत्रुता र इर्ष्याको आगो सल्काई दियौं। तिनीहरू जे जति गर्दछन् त्यसबारे चाँडै नै अल्लाहले तिनीहरूलाई अवगत गराउनु हुनेछ।” (सूरह अल्-माइदा: ५/१४) त्यसैले हाल अहले-किताबको पासमा रहेको बाइबलमा धेरै जसो गलत आस्था, असत्य कुरा र मिथ्या कथाहरू पाइन्छन्। त्यसैले हामीले ती कुराहरूको मात्र पुष्टि गर्दछौं जसको पुष्टि कुरआन र सही हदीसले गरेका छन् र ती सबै कुराहरूलाई असत्य ठान्दछौं जसलाई कुरआन र सही हदीसले झूठा ठहर गरेका छन्। त्यस बाहेक बाँकी कुराहरुको न पुष्टि गर्नेछौं न नै झूठा ठहर गर्नेछौं बरु त्यसको बारेमा चुप लाग्नेछौं।

कुर्आनले बताए अनुसार वर्तमान तौरेत र इन्जील (बाइबल) फेरबदल भएको छ भन्ने कुरामा हाम्रो पूर्ण विश्वास छ। तै पनि हामी (मुस्लिम) ले ती ग्रन्थहरूलाई आदर गर्दछौं, तिनको बेइज्जती गर्दैनौं, किनभने त्यसमा फेरबदल गर्न नसकेका केही अल्लाहका सत्य कुराहरू पनि पाइन्छन्।

कुरआनप्रति हाम्रो दायित्व के हो त?

١
हामीले कुरआनलाई माया र सम्मान गर्नुपर्छ, किनभने अल्लाहको वाणी भएकोले यो भन्दा राम्रो, सत्य र उच्च कोटिको अरु कुनै किताब (ग्रन्थ) छैन।
٢
हामीले ध्यानपूर्वक यसको तिलावत (पाठ) र अध्ययन गर्नु अनिवार्य छ। कुरआनका उपदेशहरू, सूचना र कथाहरूमा मनन् गर्नु पर्दछ। आफ्नो जीवनलाई कुरआन अनुकूल ढाल्नु पर्दछ।
٣
हामीले यसका आदेशहरूलाई अनिवार्य रुपमा मान्नु पर्छ, यसका नीति र नियमहरूलाई आफ्नो जीवनको आदर्श बनाउनु पर्छ।

आईशा रजियल्लाहु अन्हासित रसूल सल्लल्लाहु अलैहि व सल्लमको आचरणको बारेमा सोध्दा उहाँले जवाफ दिनु भयोः “कुरआन नै उहाँको आचरण (अख्लाक) हो।” (अहमद: २४६०१, मुस्लिम: ७४६)

उपरोक्त हदीसको तात्पर्य- रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवन र क्रियाकलाप कुरआन र इस्लामी विधानहरूको पूर्ण व्यवहारिक प्रमाण थियो। किनभने उहाँले पूर्ण रुपमा कुरआनको अनुसरण गरेर देखाउनु भयो। त्यसैले अल्लाहले उहाँको जीवनलाई हामी सबैका लागि एउटा आदर्श र नमुना घोषित गर्नु भएको छ। अल्लाहले भन्नु भएको छः (لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللهِ أُسْوَةٌ حَسَنَةٌ لِمَنْ كَانَ يَرْجُو اللهَ وَالْيَوْمَ الْآَخِرَ وَذَكَرَ اللهَ كَثِيرًا) (الأحزاب: 21). अर्थः “जो कोहीले अल्लाहसँगको साक्षात्कार, अन्तिम दिनको आशा राख्दछन् र अल्लाहलाई अधिक स्मरण गर्दछन् उनको लागि निश्चय नै रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवन उत्तम आदर्श हो।” (सूरह अल्-अह्जाब: ३३/ २१)

संसारका विभिन्न ठाउँहरूमा अलग-अलग भाषा-भाषीहरूले विभिन्न परिस्थितिमा पनि कुर्आनलाई सजिलै पढ्न र कन्ठस्थ गर्न सक्नु अल्लाहको तर्फबाट सहजता र यस कुर्आनको सुरक्षाको सबैभन्दा ठुलो प्रमाण हो।

कुरआनका विशिष्ट गुण र विशेषताहरूः

कुरआन हाम्रो सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरित अल्लाहको वाणी हो। आस्थावानहरू उक्त ग्रन्थलाई धेरै सम्मान गर्दछन्, त्यसैको निर्देशन अनुसार जीवन यापन गर्दछन्, दिनरात त्यसैको पाठ र मनन् गर्नमा सक्रिय रहन्छन्। यो कुरआन हाम्रो पथप्रदर्शक र मृत्युपछिको जीवनमा सफलता प्राप्तिको साधन हो। कुरआनका छुट्टै पहिचान, गुण र अनेक विशेषताहरू छन्, जसले गर्दा यो अघिल्ला ग्रन्थहरू भन्दा भिन्न छ, जस्तैः

१) कुरआन ईश्वरीय ग्रन्थ र आदेशहरूको सार हो।

कुर्आनले अघिल्ला ग्रन्थहरूमा रहेका इकेश्वरवादलाई समर्थन र पुष्टि गर्दछ। अल्लाहले भन्नु भएको छः (وَأَنْزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ مُصَدِّقاً لِمَا بَيْنَ يَدَيْهِ مِنَ الْكِتَابِ وَمُهَيْمِناً عَلَيْه) (المائدة: 48) अर्थः “हामीले सत्यका साथ यस किताबलाई तिमीमाथि अवतरण गर्यौं जसले अघिका ग्रन्थहरूको पुष्टि गर्दछ र तिनीहरूको संरक्षक हो।” (सूरह अल्-माइदा: ५/४८) अघिका ग्रन्थहरूको पुष्टिको अर्थ- अघिल्ला ग्रन्थहरुमा रहेका आस्था र सूचनाहरूको समर्थन गर्दछ। त्यसको संरक्षकको अभिप्राय- अघिका ग्रन्थहरूको संरक्षक र गवाह हुनु हो।

२) विभिन्न भाषा-भाषीमा विभाजित भएका सम्पूर्ण समुदायहरूले कुर्आनलाई अनिवार्य रुपले स्वीकार गर्नु पर्छ।

सबैले कुर्आनको अभिलाषा अनुसार कर्म गर्नु पर्छ। यद्यपि उनीहरू कुर्आन अवतरण भएको युगदेखि जति पछि जन्म लिए पनि। यसको विपरित अघिल्ला ग्रन्थहरू केही सम्प्रदाय, खास भाषा तथा सीमित अवधिको लागि मात्र थिए। अल्लाहले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई निर्देशन गर्दै भन्नु भएको छः (وَأُوحِيَ إِلَيَّ هَذَا الْقُرْآَنُ لِأُنْذِرَكُمْ بِهِ وَمَنْ بَلَغَ) (الأنعام: 19). अर्थः “ममाथि यो कुर्आन वह्य (प्रकाशना) गरिएको छ, मलाई तिमीहरू र जो जसकहाँ पुग्छ सबैलाई सचेत गर्ने आदेश दिएको छ।” (सूरह अल्-अन्आम: ६/ १९)

३) अल्लाहले स्वयम् यसको सुरक्षाको जिम्मा लिनु भएको छ।

त्यसैले यसमा अहिलेसम्म कुनै फेरबदल भएको छैन र हुने पनि छैन। अल्लाहले भन्नु भएको छः (إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ) (الحجر: 9) अर्थः “हामीले कुर्आन अवतरण गर्यौं र हामी नै त्यसको सुरक्षा गर्नेछौं।” (सूरह अल्-हिज्र: १५/९) त्यसैले यसमा रहेका सम्पूर्ण कुराहरु सत्य छन् र यसको पुष्टि गर्नु अनिवार्य छ।

किताब (धर्मग्रन्थ) हरूमाथि आस्थाका केही फाइदाहरू निम्न छन्-

١
अल्लाहले आफ्ना भक्तहरूलाई कति रेखदेख र माया गर्नुहुन्छ भन्ने कुराको ज्ञात हुन्छ। त्यसैले त उहाँले प्रत्येक समुदायको मार्गदर्शन तथा लोक र परलोकको सफलताको लागि ग्रन्थहरू पठाउनु भयो।
٢
अल्लाहको अपार ज्ञानको ज्ञात हुन्छ, किनकि प्रत्येक समुदायको लागि उनीहरूको अवस्था, स्थान र पिढीलाई मध्यनजर गरी नीति, नियम र विधान पारित गर्नु भयो। अल्लाहले भन्नु भएको छः (لِكُلٍّ جَعَلْنَا مِنْكُمْ شِرْعَةً وَمِنْهَاجًا) (المائدة: 48). अर्थः “हामीले तिमीहरूमध्ये हरेकका लागि एउटा विधान र कार्यप्रणाली बनायौं।” (सूरह अल्-माइदा : ५/ ४८)
٣
यी किताबहरू अवतरण गरे बापत अल्लाहको कृतज्ञता व्यक्त गर्नु, किनभने यी किताबहरूमा लोक र परलोकको सफलताका रहस्यहरू छन्। त्यसैले अल्लाहको अमूल्य वरदानको कृतज्ञता व्यक्त गर्नु पर्दछ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्