Model: हालको खण्ड
पाठ भाग्यमाथि आस्था राख्नु
भाग्यमाथि आस्थाको अर्थः
राम्रो र नराम्रो हरेक कुरा भाग्य विधाताको चाहना र फैसलाले नै हुन्छ, उहाँ जे चाहनु हुन्छ त्यही गर्नुहुन्छ, उहाँको आदेश बिना रुखको एउटा पात पनि हल्लिन सक्दैन, उहाँले जसको भाग्यमा जे कोर्नु भएको छ, त्यो भन्दा बाहिर केही हुन सक्दैन भन्ने दृढतापूर्वक आस्था राख्नु। तर उहाँले आफ्नो भक्तलाई उसको शक्ति र मनसाय अनुसार स्वतन्त्रता दिनु भएको छ। स्वतन्त्र भन्नाले मानिस विवश र बाध्य छैन, बरु ऊ आफ्नो इच्छा अनुसार राम्रो र नराम्रो कर्म गर्न सक्छ। तर अल्लाह उसको र उसको इच्छाका सृष्टिकर्ता हुनुहुन्छ। जसलाई चाहनुहुन्छ आफ्नो कृपाले इस्लामलाई आत्मसात गर्ने मौका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ आफ्नो बुद्धिले पथभ्रष्ट पार्नु हुन्छ। उहाँलाई कोही सोधपूछ गर्ने छैन र हामीहरूसित सोधपूछ हुनेछ।
भाग्यको अर्थः
कद्र (भाग्य)- सृष्टि र समयको सुरुवात भन्दा पहिले (आदि कालमा) नै अल्लाहले यस्तो यस्तो हुनेछ भनी निर्धारण गर्नुभएको छ; ती सबै विशेष रूपले तोकिएको समयमै घटित हुनेछन् भन्ने कुरा उहाँलाई सबै जानकारी छ । ती घटनाहरूलाई उहाँले लेख्नु पनि भएको छ र उहाँको इच्छाको अधिनमा छन् । सबै चीजहरू त्यसको तोकिएको भाग्य अनुसार नै हुनेछन् र तिनलाई अल्लाहले नै सृष्टि गर्नुभएको हो ।
भाग्यमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। रसूल सल्लल्लाहु अलैहि वसल्लमले जिब्रील अलैहिस्सलामको प्रश्नको जवाफमा ईमानको परिभाषा दिदै भन्नु भएको छः “तिमी एक अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, महाप्रलयको दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (मुस्लिम: ८)
भाग्यमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?
भाग्यमाथिको आस्थाले चार कुराहरूलाई समेटेको छः
१. अल्लाहको ज्ञान
अल्लाहको ज्ञानमाथि आस्था राख्नु- अल्लाहलाई सम्पूर्ण कुराहरूको विस्तृत र संक्षिप्त दुवै ज्ञान छ भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। सिङ्गो संसारको सृष्टि गर्नु भन्दा पहिलेदेखि नै अल्लाहलाई हरेक कुराहरूको पूर्ण ज्ञान छ। तिनीहरूको आहार, उमेर, कुराकानी, कर्म, क्रियाकलाप, प्रत्यक्ष अप्रत्यक्ष कुराहरू, को स्वर्गमा जानेछ र को नरकमा सबै जानकारी रहेको छ। अल्लाहले भन्नु भएको छः (هُوَ اللهُ الَّذِي لَا إِلَهَ إِلَّا هُوَ عَالِمُ الْغَيْبِ وَالشَّهَادَة) (الحشر: 22). अर्थः “अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन। उहाँ दृश्य र अदृश्य सबै कुराहरूलाई राम्ररी जान्नु हुन्छ।” (सूरह अल्-हश्र: ५९/ २२)
२. अल्लाहद्वारा लेखिएको
भाग्य लेख्नुमाथि आस्था राख्नु- उहाँले आफ्नो आग्रिम ज्ञान अनुसार हरेक कुराहरूलाई हुनु भन्दा पूर्व नै सुरक्षित पाटी (लोह-महफुज) मा लेख्नु भएको छ। यसबारे अल्लाहले भन्नु भएको छः (مَا أَصَابَ مِنْ مُصِيبَةٍ فِي الْأَرْضِ وَلَا فِي أَنْفُسِكُمْ إِلَّا فِي كِتَابٍ مِنْ قَبْلِ أَنْ نَبْرَأَهَا) (الحديد: 23). अर्थः “पृथ्वी र स्वयम् तिमीहरूको जीवनमा जे संकट आउँछ, त्यो हुनु भन्दा अघि नै विशेष किताबमा अङ्कित गरिएको छ।” (सूरह अल्-हदीद: ५७/ २२) रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “अल्लाहले आकाश र पृथ्वीको सृष्टि गर्नु भन्दा पचास हजार वर्ष पूर्व नै सम्पूर्ण सृष्टिहरूको भाग्यलाई लेखिसक्नु भएको छ।” (मुस्लिम: २६५३)
३. अल्लाहको चाहना
अल्लाहको चाहनामाथि आस्था राख्नु- उहाँको चाहना र आदेशमा कोही पनि बाधा पुर्याउन सक्दैनन्। हरेक किसिमका घटनाहरू उहाँकै चाहनाले हुन्छ, उहाँले जे गर्न चाहनु भयो त्यो भयो, जे गर्न चाहनु भएन त्यो हुन सकेन। अल्लाहले भन्नु भएको छः (وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ اللهُ) (التكوير: 29). अर्थः “तिम्रो चाहनाले केही हुने छैन तर अल्लाहले जे चाहनु हुन्छ त्यही नै हुन्छ।” (सूरह अत्-तक्वीर: ८१/ २९)
४. अल्लाहको सृष्टि
उहाँ नै वास्तविक सृष्टिकर्ता हुनुहुन्छ भन्ने आस्था राख्नु- उहाँ नै सबै चीजहरूका आविष्कारक हुनुहुन्छ, उहाँ बाहेक जे जति छन् सबै उहाँकै सृष्टि हुन् र उहाँ हरेक कुरामाथि सामर्थ्य हुनुहुन्छ। अल्लाहले भन्नु भएको छः (وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدَّرَهُ تَقْدِيرًا) (الفرقان: 2). अर्थः “उहाँले प्रत्येक चीजलाई सृष्टि गर्नु भयो र हरेक चीजलाई राम्रोसँग उचित ठाउँमा राख्नु भयो।” (सूरह अल्-फुर्कान: २५/ २)
मानिसको आफ्नो अख्तियार, शक्ति र मनसाय हुन्छः
भाग्यमाथि आस्थाको यो अर्थ होइन कि मानिस विवश छ। बरु हरेक व्यक्तिको आफ्नो अख्तियार र मनसाय हुन्छ अनि त्यसलाई पूरा गर्ने शक्ति पनि। इस्लामी विधान र प्रकृति दुबैले यसलाई प्रमाणित गर्दछन्।
भाग्यको सम्बन्धमा मानिसको मनसायको प्रमाण- अल्लाहले भन्नु भएको छः (ذَلِكَ الْيَوْمُ الْحَقُّ فَمَنْ شَاءَ اتَّخَذَ إِلَى رَبِّهِ مَآَبًا) (النبأ: 39). अर्थः “त्यो सत्य दिन (महाप्रलय) अवश्य हुनेछ, जसले चाहन्छ आफ्नो बासस्थान अल्लाहकहाँ बनाओस्।” (सूरह अन्-नबा: ७८/३९) भाग्यको सम्बन्धमा मानिसको शक्तिको प्रमाण- अल्लाहले भन्नु भएको छः (لَا يُكَلِّفُ اللهُ نَفْسًا إِلَّا وُسْعَهَا لَهَا مَا كَسَبَتْ وَعَلَيْهَا مَا اكْتَسَبَتْ) (البقرة: 286) अर्थः “अल्लाह कुनै पनि व्यक्तिमाथि उसको शक्ति भन्दा अधिक जिम्मेवारी दिनु हुन्न। उसले गरेको पुण्य उसैको लागि हो र उसले गरेको पाप पनि उसैले भोग्नु पर्नेछ।” (सूरह अल्-बकरह: २/१८३) उपरोक्त आयतमा वुस्अको अर्थ शक्ति अथवा क्षमता हो।
प्रकृतिको प्रमाण- आज हामी आफ्नै आँखाले देखिरहेका छौं मानिस स्वतन्त्र छ, उसले आफ्नो इच्छा अनुसार जे मन पर्छ त्यो गर्छ र जे मन पर्दैन त्यो गर्दैन, यसले मानिसको इच्छा र शक्तिलाई प्रमाणित गर्दछ। उसको मनसायले जुन काम हुन्छ, जस्तै… हिंड्नु र जुन काम उसको मनसायले हुँदैन जस्तै… रिसाउनु र अचानक चिप्लेर लड्नु, दुबैमा फरक छुट्याउन सकिन्छ। तर मानिसको मनसाय र शक्ति अल्लाहको मनसाय र शक्तिभन्दा माथि हुन सक्दैन। त्यसैले अल्लाहले भन्नु भएको छः (لِمَنْ شَاءَ مِنْكُمْ أَنْ يَسْتَقِيمَ • وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ الله رَبُّ الْعَالَمِينَ) (التكوير: 28-29). अर्थः “तिमीहरूमध्ये जो कोही पनि सीधा मार्ग आत्मसात गर्न सक्छ, तिमीहरू जे चाहन्छौ त्यो हुँदैन, अल्लाहले जे चाहनु हुन्छ त्यही हुन्छ।” (सूरह अत्-तक्वीर: ८१/२८-२९) अल्लाहले यहाँ मानिसको चाहनालाई प्रमाणित गरिसकेपछि भन्नु भएको छ- उसको चाहना अल्लाहको चाहनाको अधिनमा छ। किनभने सम्पूर्ण ब्रह्माण्ड अल्लाहको सम्पति हो र उहाँकै स्वामित्वमा छ, त्यसैले उहाँको राज्यमा उहाँको जानकारी र चाहना बिना केही पनि हुन सक्दैन।
मानिसको अधिकार र अख्तियारले गर्दा नै उसलाई कार्यभार गर्ने र नगर्ने जिम्मेवारी सुम्पिएको हो। त्यसैले सत्कर्मीले सोझो मार्ग अपनाए बापत पुण्य पाउनेछ भने कुकर्मीले कुमार्ग अपनाए बापत दण्ड पाउनेछ। स्मरण रहोस् ! अल्लाहले हामीलाई शक्तिभन्दा अधिक कुराको आदेश दिनु भएको छैन, त्यसैले भाग्यलाई दोष दिएर उपासना नगर्नु बुद्धिमानी होइन।
पाप गर्नुभन्दा पूर्व मानिसलाई थाहा हुँदैन कि उसको भाग्यमा के लेखिएको छ? अल्लाहले मानिसलाई क्षमता र अधिकारका साथ सही र गलत बाटो छुट्याउने बुद्धि दिनु भएको छ, त्यसैले मानिस आफ्नो इच्छाले राम्रो वा नराम्रो काम गर्न सक्छ। यदि कसैले अपराध गर्यो भने उसले त्यसको सजाय भोग्नु पर्नेछ, तर भाग्यलाई दोष दिनु हुँदैन।
भाग्यमाथि आस्थाका केही फाइदाहरूः
भाग्यमाथिको आस्थाले मुस्लिमको जीवनमा ठूलो असर पार्दछ, जस्तैः
१) भाग्यमाथिको आस्थाले व्यक्तिलाई क्रियाशील भएर सत्कर्म गर्ने र अल्लाहलाई खुशी पार्ने प्रेरणा दिन्छ।
आस्थावानहरूलाई अल्लाहमाथि विश्वस्त भई माध्यम र साधन प्रयोग गर्ने आदेश दिइएको छ। अल्लाहको आदेश बिना माध्यम र साधनले मात्रै पनि कुनै परिणाम दिँदैन, किनभने साधन, माध्यम र परिणामलाई पनि उहाँले नै सृष्टि गर्नुभएको हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “तिमीहरू लाभदायक काममाथि ध्यान देऊ, अल्लाहसित मद्दत माग र सुस्ती नगर। यदि असफल भयौ भने 'यदि मैले यसो गरेको भए यस्तो हुने थिएन' जस्ता शब्दहरू नभन, बरु यो भन- “अल्लाहले जे चाहनु भयो, त्यही भयो, किनभने 'यदि' शब्दले शैतानी कार्यको ढोका खोल्छ।” (मुस्लिम : २६६४) केही मानिसहरूले सोच्छन् कि जब प्रत्येक चीज भाग्यमा लेखिएको छ त कर्म किन गर्नुपर्यो ! यही शङ्का र भ्रमलाई हटाउँदै अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “पुण्य कर्म गर, प्रत्येक व्यक्तिलाई त्यही काम गर्ने तौफिक (क्षमता) दिइन्छ जसको लागि ऊ सृष्टि गरिएको हो।” त्यसपछि उहाँले सूरह लैलका यी आयत पढ्नु भयोः ﴿فَأَمَّا مَنْ أَعْطَى وَاتَّقَى وَصَدَّقَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْيُسْرَى وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى﴾ [الليل: 5-10] अर्थः “तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र (अल्लाहसँग) डर मान्यो अनि राम्रो कुराको पुष्टि गर्दै गर्यो। त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्ने छौं। तर जसले कन्जुसी गर्यो र जो लापरवाही देखायो, अनि असल कुराको मजाक उडायो। त हामीले पनि उसलाई अभाव र कठिनाइका सामग्री प्रदान गर्ने छौं।” [(सूरतुल्-लैलः ९२/ ६-१०) बुखारीः ४९४९, मुस्लिमः २६४७
२) भाग्यमाथिको आस्थाले मानिसलाई आफ्नो औकात चिन्ने अवसर पाउँछ।
अतः न उसले घमण्ड गर्छ न मात्तिन्छ, किनभने ऊ आफ्नो भाग्यमा लेखिएको वर्तमान र भविष्यको कुरालाई जान्न असमर्थ छ। मानिस आफ्नो कमजोरीले गर्दा नै अल्लाहको सहारामा बाँचेको हुन्छ। सुखमा रमाउने र दु:खमा आँसु झार्ने मानिसको बानी नै हो। भाग्यमाथिको साँचो आस्थाले नै यसबाट हामीलाई जोगाउन सक्छ, किनभने आस्थावान सुखमा घमण्ड नगरिकन अल्लाहको कृतज्ञता व्यक्त गर्छ भने दु:खमा धैर्य गर्छ र त्यसलाई अल्लाहप्रति सुम्पि दिन्छ। सायद, मेरो भाग्य विधातालाई यही मन्जुर थियो होला भनेर आफ्नो चित्त बुझाउँछ।
३) भाग्यमाथिको आस्थाले इर्ष्या जस्तो खतरनाक रोगबाट मुक्ति दिन्छ।
आस्थावान् (मोमिन) ले सोच्छ- यदि कोही म भन्दा राम्रो र सम्पन्न छ भने यो अल्लाहको कृपा हो। उहाँले नै उसको लागि राम्रो अवसरको ढोका खोल्नु भएको छ, किनभने उसको खुसीमा इर्ष्या गर्नु अल्लाहको निर्णय र फैसलामाथि औंला उठाउनु हो।
४- भाग्यमा विश्वासले हृदयमा विपत्तिको सामना गर्न साहस जगाउँछ।
यसले सङ्कल्पलाई बलियो बनाउँछ; किनभने मानिसको आयु र रोजी सबै पहिलेदेखि नै भाग्यमा लेखिएको हुन्छ र भाग्य विपरीत केही पनि हुन सक्दैन।
५) भाग्यमाथिको आस्थाले आस्थावानको आस्थामा झन उर्जा प्रदान गर्दछ।
उसले अल्लाहसित मात्र मद्दत माग्छ र दुनियाँमा उपलब्ध माध्यम र साधनको प्रयोग गर्दै अल्लाहमाथि पूर्ण विश्वास गर्छ। जीवनको हरेक पाईला-पाईलामा अल्लाहको सहयोगको अभिलाषा गर्दै उहाँसित नै सफलता पाउने र इस्लाममा कायम रहन बिन्ती गर्छ।
६) भाग्यमाथिको आस्थाले मनमा शान्ति पलाउँछ।
किनभने आस्थावानहरुलाई यो कुरामा विश्वास छ कि अल्लाहले हाम्रो भाग्यमा जे लेख्नु भएको छ, त्यो अवश्य नै हुन्छ, तर जे लेखिएकै छैन, त्यो कदापि हुन सक्दैन।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.