सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ नबी सल्लल्लाहु अलैहि वसल्लमको सहर मदीनाको जियारत (दर्शन)

नबीको सहर मदीना मुनव्वरा यस पृथ्वीमा मक्का मुकर्रमा पछिको सबैभन्दा उत्तम ठाउँ हो। यस पाठमा तपाईंले यस सहरको श्रेष्ठता र यसको जियारतको तरिकाबारे जानकारी हासिल गर्नु हुनेछ।

  • नबी सल्लल्लाहु अलैहि वसल्लमको सहर मदीनाको श्रेष्ठताबारे जानकारी।
  • नबी सल्लल्लाहु अलैहि वसल्लमको सहर मदीनाको जियार तथा दर्शनको तरिकाबारे जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

नबी सल्लल्लाहु अलैहि वसल्लमको सहर मदीनाको श्रेष्ठता तथा विशेषताहरू

मदीना मुनव्वराको महत्व र श्रेष्ठता नबी सल्लल्लाहु अलैहि वसल्लमको हिजरत (मदीना प्रवास) पछि यति उच्च भयो कि पुरै धरतीमा मक्का पछि मदीनाको श्रेष्ठता सबैभन्दा उच्च स्थान दिइयो र हरेक समयमा यसको जियारत (दर्शन) गर्न इस्लामिक शरीअत अनुसार वैध पनि छ तर मदीनाको जियारत हज्जका कार्यहरूसँग सम्बन्धित (जोडिएको) छैन। मदीनाको श्रेष्ठताको बारेमा बयान गर्दै नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “तीनवटा मस्जिदहरू बाहेक अरू कुनै मस्जिदको लागि (पुण्य प्राप्तिको नियतले) यात्रा गर्नु वैध छैन; मस्जिद हराम, मस्जिद नब्वी र मस्जिद अक्सा।” (बुखारी: ११८९, मुस्लिम: १३९७) मदीनाको धेरै श्रेष्ठता तथा विशेषताहरू छन्, ती हुन्-

१- मदीनामा मस्जिद नबवीको निर्माणः

जब नबी सल्लल्लाहु अलैहि व सल्लम मदीना जानुभयो तब उहाँले सर्वप्रथम मस्जिद नबवीको निर्माण गर्नु भयो, जो मानिसहरूका लागि शैक्षिक, प्रचार-प्रसार, ज्ञानको ज्योति छर्ने केन्द्र र लाखौँ- मुस्लिमको ढुकढुकी बन्न गयो। त्यसैले यस मस्जिदको धेरै महत्त्व छ। यसै मस्जिदको बारेमा नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “मेरो मस्जिदमा सलाह पढ्नु अरू मस्जिदहरूको तुलनामा एक हजार गुणा बढी पुण्य पाइन्छ, सिवाय मस्जिद अल्-हरामको।” (बुखारी: ११९०, मुस्लिम: १३९४)

२- यो एउटा सुरक्षित तथा शान्ति क्षेत्र होः

अल्लाहको आदेश अनुसार नबी सल्लल्लाहु अलैहि वसल्लमले यसलाई हराम घोषित गर्नु भएको छ, त्यसैले यहाँ कुनै पनि किसिमको रक्तपात गर्न, लडाइको लागि हतियार उठाउन, कसैलाई आतङ्कित गर्न र बोट-बिरुवा काट्न मनाही छ। यसको साथसाथै अन्य कैयौँ काम-कुरा निषेध गरिएको छ। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “त्यहाँको घाँस न काटियोस्, त्यहाँ सिकार न गरियोस् तथा न भगाइयोस्, त्यहाँ खसेका सामानहरू न लगियोस् बरु भेटिएमा सूचना दिइयोस्, बोट-बिरुवा ऊँटको चाराको लागि घाँस बाहेक अन्य प्रयोजनको लागि न काटियोस् र त्यहाँ लडाइ गर्ने उद्देश्यले हतियार न उठाइयोस्।” (अबू दाउदः २०३५, अहमदः ९५९)

३- उत्तम जीविका, उत्तम फल र राम्रो जिन्दगीमा बरकतः

नबी सल्लल्लाहु अलैहि वसल्लमले मदीनाको बारेमा भन्नु भयोः “हे अल्लाह ! हाम्रो फलमा बरकत दिनुहोस्। हाम्रो सहरमा बरकत दिनुहोस्। हाम्रो साअमा बरकत दिनुहोस्। हाम्रो मुद्दमा बरकत दिनुहोस्। निःसन्देह इब्राहीम अलैहिस्सलाम तपाईंको भक्त, खलील (मित्र) र नबी हुनुहुन्छ। म पनि तपाईंको भक्त र नबी हुँ। मैले तपाईंसँग मदीनाको बारेमा त्यस्तै दुआ माग्छु जस्तै इब्राहीमले मक्काको लागि र त्यसको साथ दुआ माग्नु भएको थियो।” (मुस्लिमः १३७३)

४- अल्लाहले प्लेग (महामारी) र दज्जालबाट मदीनाको सुरक्षा गर्नु हुनेछः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “मदीनाका खण्डहरहरूमा फरिश्ताहरू छन्, नत त्यहाँ प्लेग (महामारी) आउनेछ, न दज्जाल प्रवेश गर्न पाउनेछ।” (बुखारीः १८८०, मुस्लिमः १३७९)

५- मदीनामा बस्ने, जिउने र मर्नेको श्रेष्ठताः

नबी सल्लल्लाहु अलैहि वसल्लमले मदीनामा कष्टपूर्ण जीवन र जीविकामा कमी हुँदा धैर्य गर्ने मानिसहरूको लागि कयामतको दिन सिफारिस गर्ने बाचा गर्नु भएको छ। साद बिन अबी वक्कास रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ :"मदीना उनीहरूका लागि एकदमै राम्रो छ, यदि उनीहरूले जानेको भए । यदि कसैले मदीनालाई मन नपराएर छोड्छ भने अल्लाहले ऊ भन्दा राम्रो व्यक्तिलाई त्यहाँ ल्याउनु हुनेछ, जो मदीनाको कठिनाइ र पीडाहरूमा अडिग रहनेछ, म कयामतको दिन उसको सिफारिसी वा साक्षी हुनेछु ।" (मुस्लिम १३६३)

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जो मदीनामा मर्न चाहन्छ ऊ त्यहीँ मरोस्, किनभने त्यस मर्ने व्यक्तिको लागि मैले सिफारिस गर्ने छु।” (तिर्मिजीः ३९१७, इब्ने माजाः ३११२)

६- मदीना ईमानको गुफा हो र त्यसले आफूबाट कपट र खराबीलाई हटाउँछः

पृथ्वी जतिसुकै सङ्कीर्ण किन नहोस् ईमानले मदीनाको सहारा लिनेछ। त्यहाँ दुष्ट र खराब मानिसहरूको लागि कुनै स्थान छैन। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “ईमान मदीनातिर त्यसैगरी समेटिने (फर्किने) छ, जसरी सर्प आफ्नो दुलोमा समेटिन्छ।” (बुखारीः १८७६, मुस्लिमः १४७) अनि फेरी भन्नु भएको छः “कसम उस जात (अल्लाह) को जसको हातमा मेरो प्राण छ, कुनै पनि व्यक्ति मदीनालाई मन नपराएर छोड्छ भने अल्लाहले ऊ भन्दा राम्रो व्यक्तिलाई त्यहाँ ल्याउनु हुन्छ। जानिराख ! मदीना खिया तथा मयल बाहिर निकाल्ने लोहारको आरनको भट्टी जस्तै हो। कयामत तबसम्म आउने छैन जबसम्म मदीनाले आफू भित्रका खराब मानिसहरूलाई भट्टीले फोहोर निकाले झैँ बाहिर निकाल्दैन।” (मुस्लिमः १३८१)

७- यसले पापहरू र बोझलाई हटाउँछः

जैद बिन साबित रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “यो तैबा हो यानि मदीना, सबैभन्दा पहिले मदीनाले मयल (फोहोर) लाई आगोले चाँदीको मयललाई हटाए झैँ हटाउँछ।” (बुखारीः ४५८९, मुस्लिमः १३८४)

मदीना नबवीको जियारत (दर्शन) को तरिकाः

मदीनाको जियारत (दर्शन) गर्ने व्यक्तिहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्छः

१- मदीना आउने इरादा गरेको व्यक्तिले आफ्नो यात्रामा नबी सल्लल्लाहु अलैहि वसल्लमको मस्जिदको जियारत गर्ने उद्देश्यले त्यहाँको यात्रा गर्नु सही हो; उहाँ सल्लल्लाहु अलैहि वसल्लमको कब्रको होइन। किनभने नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “यी तीन मस्जिद बाहेक अन्य पनि मस्जिदको लागि (जियारतको उद्देश्यले) यात्रा न गरियोस्- मस्जिद अल्-हराम (मक्का), मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम (मदीना), मस्जिद अल्-अक्सा (बैतुल् मुकद्दीस फिलिस्तिन) ।” (सहीह बुखारीः ११८९, सहीह मुस्लिमः १३९७)

२- जियारत गर्ने व्यक्ति मस्जिदमा पुगेपछि दायाँ खुट्टो अगाडी बढाउँदै निम्न दुआ पढ्नु सुन्नत हो- «اللَّهُمَّ افْتَحْ لِي أَبْوَابَ رَحْمَتِكَ» “अल्ला-हुम्मफ्तह्-ली अब्वाब रह्-मतिक” अर्थः ‘हे अल्लाह ! मेरो लागि रहमत (दया) को ढोका खोल्नुहोस्।’ (मुस्लिमः ७१३)

३- त्यसपछि दुई रकअत तहिय्यतुल् मस्जिद पढ्नुहोस्, यदि सम्भव भए पवित्र रौजामा पढ्नु उत्तम हो।

४- नबी सल्लल्लाहु अलैहि वसल्ल्म र उहाँका दुईजना साथीहरूको कब्रको जियारत गर्नु सुन्नत हो। त्यसैले सम्मान जनक तरिकाले नबी सल्लल्लाहु अलैहि वसल्लमको कब्रको सामुन्ने उभिएर हल्का आवाजमा यो पढ्नुहोस्- "السلام عليك أيها النبي ورحمة الله وبركاته، أشهد أنك رسول الله حقا وأنك قد بلغت الرسالة وأديت الأمانة ونصحت الأمة وجاهدت في الله حق جهاده , فجزاك الله عن أمتك أفضل ما جزى نبيا عن أمته". “अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुह। अश्हदु अन्नक रसूलुल्लाहि हक्कन् व अन्नक कद् बल्लग्तर्-रिसालत व अद्दैतल् अमानत व नसहतल् उम्मत व जाहद्त फिल्लाहि हक्क जिहादिहि, फजजाकल्लाहु अन् उम्मतिक अफजल मा जजा नबिय्यन् अन् उम्मतिहि।”

त्यसपछि दुई पाइला अगाडी बढेर अबू बक्र सिद्दीक रजियल्लाहु अन्हुको कब्रको सामु उभिई उहाँलाई सलाम गर्नुहोस् र अल्लाह उहाँदेखि प्रसन्न होऊन् भनी दुआ गर्नुहोस्। अनि दुई पाइला अगाडी बढेर उमर रजियल्लाहु अन्हुको कब्रको सामु उभिनुहोस् र उहाँलाई पनि सलाम गरी अल्लाह उहाँसँग प्रसन्न होऊन् भनी उहाँको लागि पनि दुआ गर्नुहोस्।

५- मस्जिद नबवीको जियारत गर्न गएका व्यक्तिहरूले त्यहाँ धेरैभन्दा धेरै सलाह (नमाज) पढ्नु उत्तम हो, ताकि अल्लाहको रसूलले शुभ सूचना दिए अनुसार ठूलो इनाम र पुण्य पाउन सकियोस्। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “मेरो मस्जिदमा सलाह पढ्नु अरू मस्जिदहरूको तुलनामा एक हजार गुणा बढी पुण्य पाइन्छ, सिवाय मस्जिद अल्-हरामको (मक्काको)।” (बुखारीः ११९० मुस्लिमः १३९४)

६- मस्जिद कुबामा नमाज पढ्नको लागि त्यसको जियारत गर्नु पनि सही हो। किनभने यसको श्रेष्ठताको बारेमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जो व्यक्ति कतैबाट यहाँ यस मस्जिद यानि मस्जिद कुबामा आउँछ अनि दुई रकअत सलाह पढ्छ त त्यो उसको लागि उम्रहको समान हो।” (सुनन नसाईः ६९९)

७- बकीअ कब्रिस्तान र उहुदका शहीदहरूको कब्रिस्तानको जियारत गर्नु पनि राम्रो हो, किनभने नबी सल्लल्लाहु अलैहि वसल्लमले त्यहाँको जियारत गर्नु हुन्थ्यो र तिनको लागि दुआ गर्नु हुन्थ्यो। उहाँले कब्रमा भएकाहरूको लागि यो दुआ गर्नु हुन्थ्यो- "السَّلَامُ عَلَيْكُمْ أَهْلَ الدِّيَارِ مِنَ الْمُؤْمِنِينَ وَالْمُسْلِمِينَ، وَإِنَّا إِنْ شَاءَ اللهُ لَلَاحِقُونَ، أَسْأَلُ اللهَ لَنَا وَلَكُمُ الْعَافِيَةَ" “अस्सलामु अलैकुम अहलद्दियारि मिनल् मुमिनीन वल् मुस्लिमीन, व इन्ना इन् शा अल्लाहु ललाहिकून, अस्अलुल्लाह लना व लकुमुल् आफिया।” अर्थः “हे मोमिनहरू र मुस्लिमहरूको बस्तीवाले ! तिमीहरूमाथि सलाम (शान्ति) होस्। यदि अल्लाहले चाहेमा हामीहरू पनि पक्कै तिमीहरूसँग भेटघाट गर्ने छौं। म आफ्नो लागि र तिमीहरूको लागि अल्लाहसँग आरामको दुआ गर्छु।” (मुस्लिमः ९७५)

८- मुस्लिम यस सहरमा आइसकेपछि अल्लाहको आज्ञापालन र उहाँको रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुसरणमा उत्सुक एवम् प्रतिबद्ध हुनु पर्दछ र बिदअत तथा अवज्ञा हुने कार्यहरूबाट सचेत रहनु पर्दछ।

९- मदीनामा कुनै पनि रूख तथा बोट-बिरुवा काट्नु र जनावरहरूको सिकार गर्नु हुँदैन। यस सम्बन्धमा कैयौँ हदीसहरूमा मनाही गरिएको छ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “निःसन्देह इब्राहीम अलैहिस्सलामले पवित्र मक्कालाई हरम घोषणा गर्नु भयो र मैले पवित्र मदीनालाई हरम घोषणा गर्छु। त्यसैले दुबै काला ढुङ्गावाला मैदानको बीचमा न कुनै बोट-बिरुवा काटियोस् न कुनै जनावर सिकार गरियोस्।” (मुस्लिमः १३६२)

मदीनामा हुँदा मुस्लिमलाई यो जानकारी तथा महसुस हुनु पर्दछ कि ऊ त्यस सहरमा छ जहाँबाट इस्लामको ज्योति चम्केको थियो र त्यहीँबाटै लाभदायक ज्ञान पुरै संसारमा फैलिएको हो। त्यसैले उसले इस्लामिक शरई ज्ञान सिक्नमा उत्सुक रहनु पर्दछ, ताकि त्यस ज्ञानको माध्यमले ऊ पूर्ण यकिनको साथ अल्लाहको बाटोमा चल्न सकोस्। विशेषगरी जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको मस्जिदमा ज्ञान सिक्ने सिकाउने काम भइरहेको हुन्छ तब मौका न गुमाओस्। किनभने अबू हुरैरा रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुनेको छुः “जो व्यक्ति हाम्रो यस मस्जिदमा भलाइ तथा ज्ञान सिक्ने वा सिकाउने उद्देश्यले प्रवेश गर्यो, ऊ अल्लाहको मार्गमा जिहाद गर्ने व्यक्ति सरह हो र जो यस बाहेक अन्य कुनै उद्देश्यले प्रवेश गर्यो ऊ त्यस हेर्ने व्यक्ति सरह हो, जसलाई केहीपनि मिल्दैन।” (अहमदः १०८१४, इब्ने हिब्बानः ८७)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्