सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनी

अल्लाहको वाणी (वह्यी) अवतरणको कारण नबी सल्लल्लाहु अलैहि वसल्लमको जीन्दगीको हालत परिवर्तन भयो र कयामत सम्मको लागि संसारको हालत पनि परिवर्तन भयो । यस पाठमा तपाइँले नबी सल्लल्लाहु अलैहि वसल्लम नबी बन्नु भएपछिको उहाँको जीवनीबारे जानकारी हासिल गर्नु हुनेछ ।

नबी सल्लल्लाहु अलैहि वसल्लम नबी भएदेखि उहाँको स्वर्गारोहण सम्मका केही महत्त्वपूर्ण अवस्थाबारे जानकारी ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

इस्लामको सन्देशको साथ नबी सल्लल्लाहु अलैहि वसल्लमको चयन

नबी सल्लल्लाहु अलैहि वसल्लममाथि वह्यी (अल्लाहको वाणी अवतरण) को सुरुवात सच्चा सपनाबाट भयो । जुन पनि सपना उहाँले देख्नु हुन्थ्यो त्यो बिहानको उज्यालो जस्तै स्पष्ट रूपमा प्रमाणित हुन्थ्यो । यो सिलसिला छ महिनासम्म चल्यो, त्यसपछि कुराकानी तथा आवाजको माध्यमद्वारा वह्यी अवतरण हुन सुरु भयो ।

जब उहाँ सल्लल्लाहु अलैहि वसल्लमको उमेर ४० करिब-करिब थियो तब उहाँ एकान्तमा रहन धेरै मन पराउनु हुन्थ्यो । रमजानको महिना उहाँले “हिरा” नामको गुफामा एकान्तमा बसेर अल्लाहको इबादत बिताउन थाल्नुभयो । यसरी उहाले तीन वर्ष बिताउनु भयो । तेस्रो वर्षमा उहाँ हिरा गुफाको एकान्तमै हुनु हुन्थ्यो त अल्लाहको तर्फबाट वह्यी (वाणी) आउनु सुरु भयो ।

जब उहाँ सल्लल्लाहु अलैहि वसल्लम ४० वर्ष पुग्नुभयो तब उहाँ नबी भएको सन्देश आयो; अल्लाहले उहाँलाई सम्पूर्ण मानव जातिको लागि नबी तथा रसूल बनाएर विभूषित गर्नुभयो । अल्लाहले उहाँलाई यस सम्मानित पद तथा जिम्मेदारीको दिँदै आफू र उहाँको बीच सत्यवादी तथा आमानतदार बनाउनु भयो । फरिश्ता जिब्रील अलैहिस्सलाम अल्लाहको आदेश तथा सन्देश लिएर उहाँको पास आउन थाल्नु भयो र उहाँलाई सम्पूर्ण जगतको लागि दया, करुणा, शुभ-सूचक र सचेतक बनाइयो ।

मक्कामा नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा इस्लामको निमन्त्रण

जब नबी सल्लल्लाहु अलैहि वसल्लमको पास अल्लाहको यो आदेश— ﴿يَا أَيُّهَا الْمُدَّثِّرُ* قُمْ فَأَنذِرْ﴾ [سورة المدثر: ١-٢ ] अर्थः “हे (मुहम्मद !) लुगा ओढ्नेवाले, उठ र सावधान गर” । (सूरतुल् मुदस्सिरः ७४/ १-२) आयो, तब उहाँले यस्लाई स्वीकार गर्नुभयो र तुरुन्तै अल्लाहले दिएको सत्य धर्म (दीन) इस्लाम स्वीकार गर्न र एकमात्र सत्य पूज्य अल्लाहको उपासना तथा इबादत गर्न निमन्त्रण दिन सुरु गर्नुभयो ।

लुकीछिपी गोप्य रूपमा इस्लामको निमन्त्रण तथा प्रचार प्रसार

सुरुका दिनहरूमा नबी सल्लल्लाहु अलेहि वसल्लमले गोप्य रूपमा लुकीछिपी इस्लामतिर निमन्त्रण दिनुभयो । ताकि मक्काबासी उहाँको यो नयाँ कुरालाई सुनी अचम्म मानेर उहाँप्रति क्रोधित नहोउन् । त्यसैले सबैभन्दा पहिले आफ्ना खानदान, नातेदार र निकटस्थ साथीहरू समक्ष इस्लाम पेस गर्नुभयो, साथै जसमा सच्चाइ, भलाइ र माया ममताको सङ्केत देख्नु हुन्थ्यो तिनिहरू समक्ष पनि इस्लाम पेस गर्नुभयो ।

सबैभन्दा पहिले इस्लाम स्वीकार गर्ने व्यक्तिहरू

उहाँ सल्लल्लाहु अलैहि वसल्लमको निमन्त्रणद्वारा सबैभन्दा पहिले इस्लाम उहाँको प्रिय पत्नी खदिजा बिन्त खुवैलिद रजियल्लाहु अन्हाले स्वीकार गर्नु भएको थियो, त्यसपछि उहाँको निकटतम साथी अबू बकर सिद्दीक रजियल्लाहु अन्हु, उहाँको काकाको छोरा अली बिन अबी तालिब रजियल्लाहु अन्हु र उहाँको नोकर जैद बिन हारिसा रजियल्लाहु अन्हुले इस्लाम स्वीकार गर्नु भएको थियो ।

खुल्लमखुल्ला इस्लामको प्रचार प्रसार

त्यसपछि अल्लाहको तर्फबाट खुल्लमखुल्ला इस्लामको निमन्त्रण दिने आदेश आयो, भन्नु भयोः ﴿فاصْدَعْ بِمَا تُؤْمَر﴾ [الحجر:94]، अर्थः “तसर्थ जुन आदेश तपाइँलाई प्राप्त भएको छ त्यो स्पष्ट रूपमा सुनाइ दिनुहोस्”। (सूरतुल्-हिज्रः १५/९४)

जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले खुल्लमखुल्ला इस्लामको निमन्त्रण दिन थाल्नु भयो तब कुरैशका मुखिया र नेताहरूले विभिन्न तरिकाले उहाँको निमन्त्रणलाई रोक्ने प्रयास गर्दै उहाँलाई दुःख दिन थाले । कहिले उहाँको मजाक उडाउथे त कहिले उहाँले घृणाको दृष्टिले हेर्ने तथा बेइज्जत गर्ने गर्थे । ताकि मुस्लिमहरूको हौसला र शक्तिलाई कमजोर गर्न सकियोस्, इस्लामको शिक्षालाई गलत प्रमाणित गर्न सकियोस्, झूटा अफवाह फैलाएर मानिसहरूलाई भ्रममा पार्न सकियोस् र इस्लामको निमन्त्रणलाई रोक्न नबी सल्लल्लाहु अलैहि वसल्लमसँग सौदा गर्न सकियोस् ।

हबशातिर हिजरत (प्रवास)

जब मक्काका ती मुश्रिक (बहूदेववादी) हरूलाई लाग्यो कि इस्लामको प्रचार-प्रसारलाई रोक्न अपनाइएको उपरोक्त तरिकाबाट कुनै फाइदा भइरहेको छैन, नबी सल्लल्लाहु अलैहि वसल्लम इस्लामको निमन्त्रण तथा प्रचार-प्रसारमा लगातार अगाडी बढिरहनु भएको छ, तब उनीहरूले इस्लामको विरुद्धमा युद्ध गर्ने निर्णय गरे र नबी सल्लल्लाहु अलैहि वसल्लमलाई हानी पुर्याउन थाले । इस्लाम स्वीकार गरेका उहाँका साथीहरूलाई समातेर यातना दिन र उनीहरूमाथि अत्याचार गर्न थाले । जब मुस्लिमहरू प्रतिको अत्याचार तथा यातना अत्याधिक र असहनीय भयो तब उहाँले आफ्ना साथीहरूलाई हबशा हिजरत (प्रवास) गर्ने आदेश दिनुभयो । अनि केही मुस्लिम पुरुष र महिलाहरू नुबूवतको पाँचौं वर्षमा हबशातिर हिजरत गरे ।

इस्रा र मेअराज

उहाँ सल्लल्लाहु अलैहि वसल्लमको निमन्त्रण सतावट तथा दुःखको कष्टको कठिन परिस्थितिको बीच पनि सफलतातिर अगि बढिरहेको थियो । त्यसै समयमा इस्रा र मेअराजको घटना घट्यो । यो घटना उहाँले इस्लामतिर आह्वान सुरु गरेको कैयौँ वर्षपछि घटेको थियो । यो हुनुको कारण उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई आत्मिक रूपमा बलियो बनाउन, उहाँलाई सम्मान प्रदान गर्न र मुश्रिकहरूद्वारा लगातार भइरहेको अत्याचार, दमन र इन्कारको विरुद्धमा उहाँलाई धैर्य एवम् साहस प्रदान गर्नको लागि भएको थियो ।

मक्का बाहिर इस्लामको निमन्त्रण

त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले मक्का बाहिर पनि इस्लामको निमन्त्रण दिन थाल्नुभयो अनि यसैको लागि ताइफ जानुभयो । जब ताइफमा त्यहाँका मानिसहरूले उहाँप्रति कठोर र अपमान जनक व्यवहार गर्दै इन्कार गरे तब उहाँ मक्का फर्केर आउनु भयो अनि हजको मौसममा विभिन्न कबीला (समुदाय) र अन्य मानिसहरूलाई इस्लामको निमन्त्रण सुरु गर्नुभयो ।

उकबाका दुई प्रतिज्ञा (बैअत)

नुबूवतको एघारौं वर्ष हजको मौसममा उहाँ सल्लल्लाहु अलैहि वसल्लमको भेट यसरिबका ६ जना मानिसहरूसँग भयो । पछि यसरिबको नाम मदीना राखिएको थियो । उहाँले ती मदीनाबाट आएकाहरू समक्ष इस्लाम पेस गर्दै उनीहरूलाई इस्लामको वास्तविकता बताउनु भयो, अल्लाहको इबादत तिर निमन्त्रण दिनुभयो र कुर्आन पढेर सुनाउनु भयो, अनि उनीहरूले इस्लाम स्वीकार गरे । त्यसपछि उनीहरू मदीना फर्केर गई इस्लामको प्रचार-प्रसार सुरु गरे त त्यहाँ इस्लाम फैलियो । नुबूवतको बाह्रौं वर्ष हजको मौसममा उनीहरूसँग पहिलो प्रतिज्ञा लिइयो जसलाई बैअत उकबा भनिन्छ अनि तेह्रौं वर्षमा पनि फेरी दोस्रो प्रतिज्ञा (बैअत उकबा) लिइयो । यी दुबै प्रतिज्ञा गोप्य रूपमा भएका थिए । त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले मक्कामा आफूसँग भएका मुस्लिमहरूलाई मदीना प्रवास (हिजरत) गर्ने आदेश दिनुभयो र उनीहरू मदीना गए ।

नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरामा

मक्काबाट धेरैजसो मुस्लिमहरू हिजरत गरेर मदीना गएपछि रसूल सल्लल्लाहु अलैहि वसल्लम र अबू बकर सिद्दीक रजियल्लाहु अन्हु हिजरतको उद्देश्यले मक्काबाट निस्कनु भयो, तर उहाँहरू विपरीत दिशातिर लाग्नु भयो ताकि कुरैशका मानिसहरूलाई मदीनातिर जान लागेका छन् भन्ने नलागोस् । मक्काबाट बाहिर निस्केपछि उहाँहरू गारे सौर (सौर नामको गुफा) मा गएर तीन दिनसम्म बस्नु भयो । त्यसपछि लाल सागर (बहरे अहमर) तटको बाटो हुँदै मदीनातर्फ लाग्नु भयो । यो बाटोको बारेमा धेरैजसो मानिसहरूलाई थाहा थिएन । जब उहाँ र उहाँको साथी अबू बकर मदीनाको बाहिरी इलाकामा पुग्नु भयो तब मदीनाका मुस्लिमहरूले एकदमै खुसी भई भव्य जुलुसको साथ स-सम्मान उहाँहरूलाई स्वागत गरे ।

मदीना आएपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले सबैभन्दा पहिले मस्जिदे नबवीको निर्माण गर्नुभयो अनि मुहाजिरीन (प्रवासी) र अन्सार (मदीनाका स्थानीय) बीच भाइचारा कायम गर्नुभयो । जसबाट गर्दा नयाँ इस्लामिक समाजको जग बस्यो ।

मदीनामा हिजरतपछि, इस्लामका कानून तथा नीति-नियमहरू क्रमिक रूपमा अवतरण भए, जस्तैः जकात, रोजा, हज, जिहाद, नमाजको लागी अजान, असल कर्मका आदेश तथा खराब कामको निषेध र इस्लामका अन्य कानूनहरू आदि ।

उहाँ सल्लल्लाहु अलैहि वसल्लमले लडेका गजवात (युद्धहरू)

मुश्रिकहरूबाट लगातार सताइएपछि अल्लाहले मुस्लिमहरूलाई लडाइ गर्ने अनुमति दिनुभयो, ताकि उनीहरूले आफ्नो धर्म र देशको रक्षा गर्न सकुन् अनि सधैँ रहिरहने इस्लामको सन्देश फैलाउनको सकुन् । अल्लाहले भन्नु भएको छः ﴿أُذِنَ للَّذينَ يُقَاتَلوُنَ بِأَنَّهُمْ ظُلِمُوا﴾ [الحج:39]. अर्थः “जुन (मुस्लिमहरू) सित (काफिरहरू) लडिरहेका गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू पीडित भएका तथा सताइएका छन्”। (सूरतुल् हज्जः २२/ ३९) लडाइ गर्ने अनुमतिको बारेमा अवतरण भएको यो पहिलो आयत हो । त्यसपछि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले २० गजवा (युद्ध) लड्नु भयो र ५६ सरिया (गोप्य छापामार) पठाउनु भयो ।

हिजरत पछि भएका सबैभन्दा महत्त्वपूर्ण कामहरू

मदीना मुनव्वरा हिजरत गरेर गइसकेपछि भएका केही महत्त्वपूर्ण कामहरूको बारेमा छोटो जानकारी यसप्रकार छ-

हिजरतको पहिलो वर्षः

١
हिजरत
٢
मस्जिदे नबवीको निर्माण गरियो ।
٣
पहिलो इस्लामिक राज्यको स्थापना गरियो ।

हिजरतको दोस्रो वर्षः

रोजा (व्रत) र जकात अनिवार्य भयो, त्यसै वर्ष बद्रको युद्ध पनि भयो जसमा अल्लाहले ईमानवाला (आस्थावान) हरूलाई काफिर (अनास्थावान) कुरैशमाथि सम्मान जनक विजय प्रदान गर्नुभयो र

हिजरतको तेस्रो वर्षः

उहूदको युद्ध भयो । यस युद्धमा नबी सल्लल्लाहु अलैहि वसल्लमको निर्देशन विपरीत गनीमतको माल (युद्धबाट प्राप्त धन) प्राप्त गर्ने उद्देश्यले योद्धाहरू उहूदको पहाडबाट तल झरी असावधान भएको कारण पराजय भोग्नु परेको थियो ।

हिजरतको चौथो वर्षः

मुस्लिमहरूसँग गरेको सन्धि भङ्ग गरेकोले बनी नजीरसँग युद्ध भयो र अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले बनी नजीरका यहूदीहरूलाई मदीनाबाट निष्कासित गर्नुभयो ।

हिजरतको पाँचौं वर्षः

बनी मुस्तलिकसँग युद्ध, अहजाबको युद्ध र बनी कुरैजासँग युद्ध भयो ।

हिजरतको छैठौँ वर्षः

मुस्लिम र कुरैशको बीच सुलह हुदैबिया (हुदैबियाको सम्झौता) भयो ।

हिजरतको सातौं वर्षः

खैबरको युद्ध भयो, अनि यसै वर्ष रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथमा मुस्लिमहरू मक्कामा भई उमरह गरे ।

हिजरतको आठौं वर्षः

मुस्लिम र रोमीहरू बीच मुताको युद्ध, मक्काको विजय अनि हवाजिन र सकीफ समुदायसँग हुनैनको युद्ध भयो ।

हिजरतको नवौं वर्षः

यस वर्ष तबूकको युद्ध भयो, जो रसूल सल्लल्लाहु अलैहि वसल्लमको अन्तिम युद्ध थियो । यसै वर्ष उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पासमा विभिन्न ठाउँबाट मानिसहरू आउथे र सामूहिक रूपमा झुण्डका झुण्ड इस्लाम स्वीकार गर्थे । त्यसैले यस वर्षको नाम नै झुण्डहरू (अल्-वफूद) को वर्ष राखिएको हो ।

हिजरतको दसौं वर्षः

यस वर्ष अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले हज गर्नुभयो, जो “हज्जतुल्-वदाअ” को नामले चिनिन्छ । जसमा उहाँको साथमा एक लाख भन्दा धेरै मुस्लिमहरूले हज गरेका थिए ।

उहाँ सल्लल्लाहु अलैहि वसल्लमको स्वर्गारोहण

जब इस्लामको निमन्त्रण पुरा भएर अरब महाद्वीपको कुना-कुनासम्म पुग्यो तब मानिसहरू झुण्डको झुण्ड इस्लाममा आउन थाले । त्यसपछि पुरै संसारमा तीव्र गतिमा इस्लाम फैलिँदै गयो र सबै धर्महरूमाथि इस्लामको भारी हुँदै गयो । उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो स्वर्गारोहण नजिक आई सकेको महसुस हुन थाल्यो र आफ्नो पालनकर्ता अल्लाहसँग भेट गर्ने तयारीमा लाग्नु भयो । उहाँका कुराकानी तथा चालचलनबाट यस्तो लाग्थ्यो कि उहाँ यस संसारबाट चाँडै बिदा हुनु हुँदैछ ।

हिजरतको एघारौं वर्ष रबीउल अव्वल महिना सोमवारको दिन रसूल सल्लल्लाहु अलैहि वसल्लमको स्वर्गारोहण भयो ।

स्वर्गारोहणको समय उहाँ सल्लल्लाहु अलैहि वसल्लमको उमेर ६३ वर्ष थियो । जसमध्ये नुबूवत भन्दा पहिले ४० वर्ष र नबी तथा रसूल बनिसकेपछि २३ वर्ष । नबी तथा रसूल बनिसकेपछि १३ वर्ष मक्कामा बिताउनु भयो भने १० वर्ष मदीनामा ।

उहाँ सल्लल्लाहु अलैहि वसल्लमको मृत्यु भयो, उहाँ यस संसारबाट बिदा भएपनि उहाँको धर्म सधैँ रहिरहने छ । स्वर्गारोहण भन्दा पहिले आफ्ना अनुयायी (उम्मत) को लागि जतिपनि पुण्य तथा भलाइका कामहरू थिए ती सबै बताउनु भयो र जति पनि नराम्रा तथा पाप कर्महरू थिए ती सबैबाट आफ्नो उम्मतलाई सचेत गराउनु भयो । भलाइका कामहरूको तात्पर्य तौहीद र अल्लाहलाई मनपर्ने सम्पूर्ण कामहरू हुन् भने नराम्रा कामहरूको तात्पर्य शिर्क (अल्लाहसँग अरूलाई साझेदार गराउने काम) तथा अल्लाहलाई मन नपर्ने र स्वीकार नगर्ने कामहरू हुन् ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्