सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ मुस्लिम महिलाको पवित्रता (तहारत)

यस पाठमा, हामी मुस्लिम महिलाहरूको पवित्रतासँग सम्बन्धित नियम तथा विधिविधानहरूको बारेमा सिक्नेछौं।

  • महिलाहरूले सिक्नुपर्ने पवित्रताका नियम तथा विधि-विधानको बयान।
  • अपवित्रता, महिनावारी, सुत्केरीर तिनिहरूसँग सम्बन्धित केही नियमहरूको जानकारी।
  • महिनावारी र सुत्केरी रगत बाहेक महिलाबाट निस्कने केही अन्य कुराहरूका नियमहरूको व्याख्या ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

इस्लामिक शरिअतले मुस्लिम महिलाहरूलाई उनीहरूसँग सम्बन्धित मामिलाहरू महिनावारी (हैज), सुत्केरी (निफास) र इस्तिहाजा (रोगको कारण बग्ने रगत) आदि विषय र पवित्रताको विधिविधानहरू सिक्न अनिवार्य गरेको छ।

पवित्रता सम्बन्धी महिलाले सिक्नुपर्ने र त्यस अनुसार कर्म गर्नुपर्ने कुराहरू निम्नलिखित छन्-

١
अपवित्रताको स्नान (जनाबतको गुस्ल)।
٢
महिनावारी (हैज) को रक्तस्राव बन्द भएपछि गर्नुपर्ने स्नान।
٣
सुत्केरी (निफास) को रक्तस्राव बन्द भएपछि गर्नुपर्ने स्नान।

अपवित्रताको स्नान (जनाबतको गुस्ल)।

जनाबतको शाब्दविक अर्थ दूरी हो। इस्लामिक शरिअतमा जुनुब (अपवित्रता) त्यस्तो अवस्थालाई भनिन्छ जब स्त्री सम्भोग गरिएको हुन्छ, वा स्वप्नदोष वा अन्य कुनै कारणले वीर्य स्खलन भएको हुन्छ। जुनुब (अपवित्रता) शब्द महिला र पुरुष दुबैको लागि बोलिन्छ। स्नान गरेर यसबाट पवित्र नभएसम्म नमाज पढ्न नमिल्ने भएकोले यसलाई जुनुब (अपवित्रता) भनिएको हो। यसबाट पवित्र हुनको लागि जनाबतको गुस्ल (अपवित्रताको स्नान) गर्नुपर्छ। किनभने अल्लाहले भन्नुभएको छः {وَإِنْ كُنْتُمْ جُنُبًا فَاطَّهَّرُوا} [المائدة: 6]. अर्थः “यदि तिमी जुनुब (अपवित्र) छौ भने स्नान गर।” (सूरतुल्-मायदाः ५/ ६)

महिनावारीको अन्त्यमा स्नान (गुस्ल)

मुस्लिम महिलाले महिनावारी (हैज) को रक्तस्राव बन्द भएपछि अनिवार्य रूपमा स्नान गर्नुपर्छ। किनभने अल्लाहले भन्नुभएको छः {وَيَسْأَلُونَكَ عَنِ الْمَحِيضِ قُلْ هُوَ أَذًى فَاعْتَزِلُوا النِّسَاءَ فِي الْمَحِيضِ وَلَا تَقْرَبُوهُنَّ حَتَّى يَطْهُرْنَ فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللَّهُ إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ} [البقرة: 222]، अर्थः “ हे नबी ! तपाईसित महिनावारीको बारेमा सोध्छन्। भनिदिनुहोस्- त्यो अपवित्र (रगत) हो। तसर्थ महिनावारीको समयमा पत्नीबाट अलग रहनु र जबसम्म तिनिहरू पवित्र हुँदैनन्, तिनको नजिक (सम्भोगको लागी) नजानु। जब तिनिहरू पवित्र हुन्छन्, तब तिमी उनको नजिक जाऊ जुन ठाउँबाट अल्लाहले तिमीलाई जाने आदेश दिनुभएको छ। निःसन्देह अल्लाह क्षमायाचना गर्नेलाई र पवित्र रहनेलाई मन पराउनुहुन्छ।” (सूरतुल्-बकरः २/ २२२) कुर्आनमा आएको शब्द [(فإذا تطهرن) जबसम्म तिनिहरू पवित्र हुँदैनन्] को अर्थ जबसम्म रक्तस्राव बन्द भएर स्नान गरेर पवित्र हुँदैनन् हो।

हैज र इस्तिहाजा

हैज: महिलाको पाठेघरबाट प्रसव वा कुनै रोग बिना मासिक रूपमा निस्कने रगत हो। जसलाई महिनावारी अथवा रजस्वला पनि भनिन्छ। इस्तिहाजाः यो महिलाको गर्भाशयमा कुनै रोग वा समस्या भएको कारण निस्कने रगत हो, जो मासिक रूपमा निस्कने रजस्वलाको रगत भन्दा अधिक र अनियमित रूपमा निस्कन्छ।

महिनावारीको अवधि महिलाहरूमा अलग-अलग हुन्छ। विद्वानहरूको सही भनाइ अनुसार तिनिहरूको कम्तीमा रक्तस्रावको कुनै सीमा छैन, तर बढीमा पन्ध्र दिनको हुन्छ। यसभन्दा बढी हुने रक्तस्राव इस्तिहाजाको रगत हो, महिनावारीको रगत होइन। साधारणतया सामान्य महिलाहरूको महिनावारीको अवधि अथवा रक्तस्राव छ वा सात दिन हुन्छ।

सुत्केरी (निफास) को रक्तस्रावको रोकिएपछि स्नान गर्नु

सुत्केरी (निफास) भएकी महिलाले प्रसवपछिको समयावधिको अन्त्यमा अथवा रक्तस्राव बन्द भइसकेपछि स्नान गर्नुपर्छ भन्ने कुरामा विद्वानहरू सर्वसम्मतिले सहमत छन्।

निफासको परिभाषा

यो त्यस्तो रगत हो, जो बच्चा जन्मने बेला वा जन्मनु भन्दा दुई तीन दिन पहिले दुखाइ र केही लक्षणको साथ गर्भाशयबाट निस्कन सुरु हुन्छ। यो रगत बच्चा जन्मेपछि पनि लगातार लगभग चालीस दिनसम्म जारी रहन्छ। निफासबाट पवित्रताको अवधि बढीमा चालीस दिनको हुन्छ भने कम्तीमा कुनै सीमा छैन, त्यसैले जब महिलाको गर्भाशयबाट रक्तस्राव रोकिन्छ तर उसले स्नान गरेर नमाज पढ्न सुरु गर्नुपर्छ।

हैज र निफास (महिनावारी र सुत्केरी) भएपछि पवित्र नभएसम्म गर्न नहुने कार्यहरू

١
सम्भोग गर्न निषेध
٢
तलाक दिन निषेध
٣
नमाज पढ्न र रोजा राख्न निषेध
٤
काबाको तवाफ गर्न निषेध
٥
पवित्र ग्रन्थ कुर्आनलाई खाली हातले छुन निषेध
٦
मस्जिदमा बस्न वा सुत्न निषेध

सम्भोग गर्न निषेध

अल्लाहको यस भनाइको आधारमा पुरुषलाई आफ्नी महिनावारी भएकी पत्नीसँग यौन सम्पर्क गर्न निषेध गरिएको छ। {وَيَسْأَلُونَكَ عَنِ الْمَحِيضِ قُلْ هُوَ أَذًى فَاعْتَزِلُوا النِّسَاءَ فِي الْمَحِيضِ وَلَا تَقْرَبُوهُنَّ حَتَّى يَطْهُرْنَ فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللَّهُ إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ} [البقرة: 222]، अर्थः “हे नबी ! तपाईसित महिनावारीको बारेमा सोध्छन्। भनिदिनुहोस्- त्यो अपवित्र (रगत) हो। तसर्थ महिनावारीको समयमा पत्नीबाट अलग रहनु र जबसम्म तिनिहरू पवित्र हुँदैनन्, तिनको नजिक (सम्भोगको लागी) नजानु। जब तिनिहरू पवित्र हुन्छन्, तब तिमी उनको नजिक जाऊ जुन ठाउँबाट अल्लाहले तिमीलाई जाने आदेश दिनुभएको छ। निःसन्देह अल्लाह क्षमायाचना गर्नेलाई र पवित्र रहनेलाई मन पराउनुहुन्छ।” (सूरतुल्-बकरः २/ २२२) त्यसैगरी निफास (सुत्केरी) भएकी महिलासँग सम्भोग गर्न निषेध छ भन्ने विषयमा पनि धर्मविद्हरू सर्वसम्मतले सहमत छन्।

तलाक दिन निषेध

तलाक दिन निषेध भएको सम्बन्धमा अल्लाहको यो भनाइ हेर्नुहोस्- {يَا أَيُّهَا النَّبِيُّ إِذَا طَلَّقْتُمُ النِّسَاءَ فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ} [الطلاق: 1]. अर्थः “हे नबी ! (आफ्ना अनुयायीहरूलाई भनिदिनुहोस्) जब तिमीले आफ्नो पत्नीहरूलाई तलाक दिन चाहन्छौ त उनीहरूको इद्दतको अवधिमा तलाक देऊ।” (सूरतुत्तलाकः ६५/१) [(فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ) उनीहरूको इद्दतको अवधिमा तलाक देऊ] को अर्थ- महिलालाई त्यस्तो अवस्थामा तलाक नदेऊ, जब उनी महिनावारी वा सुत्केरी अवस्थामा हुन्छिन्, अनि महिनावारी वा सुत्केरीबाट पवित्र भएपछि सम्भोग गर्नु भन्दा पहिले नै तलाक देऊ, यदि सम्भोग गरेका छौ भने उनको गर्भमा बच्चा रुकेको वा नरुकेको स्पष्ट नभएसम्म तलाक नदेऊ।

नमाज पढ्न र रोजा राख्न निषेध

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको यस भनाइ अनुसार हैज र निफासको अवस्थामा नमाज पढ्न र रोजा राख्न मनाही छ- “के महिला जब हैज (महिनावारी) को अवस्थामा हुन्छिन् त नमाज पढ्न र रोजा राख्न छोड्दैनन्? यो महिलाहरूको दीनमा कमी हो।” (बुखारीः १९५१)

काबाको तवाफ गर्न निषेध

हैज र निफासको अवस्थामा काबाको तवाफ गर्न निषेध भएको सम्बन्धमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको यो भनाइबाट प्रमाण मिल्छ। जब आयशालाई रजियल्लाहु अन्हा हजको समयमा महिनावारी भयो तब रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “यो चीज त आदमका छोरीहरूलाई अल्लाह अनिवार्य गरिदिनु भएको छ, त्यसैले जबसम्म तिमी पवित्र हुँदैनौ तबसम्म काबाको तवाफ बाहेक अरू हाजीहरू झैँ सबै कामहरू गर।” (बुखारीः ३०५, मुस्लिमः १२११)

पवित्र ग्रन्थ कुर्आनलाई खाली हातले छुन निषेध

अल्लाहको यो भनाइको आधारमा हैज र निफासको अवस्थामा कुर्आनलाई छुन मनाही छ। {لَا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ} [الواقعة: 79]، अर्थः “त्यसलाई पवित्र मात्र हात लगाउँछन्।” (सूरतुल् वाकिआः ५६/ ७९) धर्मविद्हरूको सही भनाइ अनुसार सम्भोग वा अन्य कारणले वीर्य स्खलन भई अपवित्र भएको व्यक्तले (जुन्बीले) स्नान नगरिकन हिफ्ज गरेको भएपनि हात नलगाएर कुर्आन पढ्न हुँदैन। तर हैज र निफास भएकी महिलाले हिफ्ज गरेको भए हातले नछोइकन पढ्न सक्छन् र कुनै आयतलाई चेक गर्नु पर्दा वा पढ्नु पर्दा हातमा पन्जा लगाएर पनि छुन र पढ्न सक्छन्।

मस्जिदमा बस्न वा सुत्न निषेध

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “मैले हैज वा निफास वाली महिलाको लागि मस्जिदमा रुक्नु वैध ठान्दैन।” (अबू दाउदः २३२, शेख अल्बानीले जाईफ भन्नुभएको छ।) तर मस्जिद भित्रबाट कतै जानु परेमा वा कुनै काम परेमा मस्जिद भित्र प्रवेश गर्न सक्छन्। आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले मलाई भन्नुभयोः “मेरो लागि मस्जिदबाट मुसल्ला (जा-नमाज) ल्याइदेऊ, मैले भनेः मलाई महिनावारी भएको छ। त उहाँले भन्नुभयोः महिनावारी तिम्रो हातमा छैन। (मुस्लिमः २९८)

महिनावारी हुँदा आवश्यक पर्ने कुराहरू

١
यौवन अवस्था
٢
सम्बन्ध विच्छेद भएकी महिलाको लागि गणना

यौवन अवस्था

यौवन अवस्थामा पुगेपछि महिनावारी हुन्छ, महिनावारी एक केटीको लागि यौवन अवस्थामा पुगेको निश्चित सङ्केत हो।

सम्बन्ध विच्छेद (तलाक) भएकी महिलाको लागि इद्दतको गणना

सम्बन्ध विच्छेद (तलाक) भएकी महिलाको इद्दतको अवधि महिनावारी भएकाहरूको लागि तीन महिनावारी सम्म पर्खनुपर्छ। अल्लाहले भन्नुभएको छः {وَالْمُطَلَّقَاتُ يَتَرَبَّصْنَ بِأَنْفُسِهِنَّ ثَلَاثَةَ قُرُوءٍ} [البقرة: 228]. अर्थः “तलाक प्राप्त महिलाले आफूलाई तीन पटक रजस्वला हुदासम्म रोकिराखुन्।” (सूरतुल्-बकरः २/ २२८)

महिला हैज (महिनावारी) बाट पवित्र भएको सङ्केत दिने कुराहरू

١
महिलाको गर्भाशयबाट सेतो धागो जस्तो निस्कने पानी
٢
रक्तस्राव बन्द हुनु र सुक्खा हुनु

महिलाको गर्भाशयबाट सेतो धागो जस्तो निस्कने पानी

महिनावारीको अन्तिम दिनमा महिलाको योनिबाट सेतो धागो जस्तो देखिने कुरा निस्कन्छ र यो उनको पवित्र भएको सङ्केत हो।

रक्तस्राव बन्द हुनु र सुक्खा हुनु

महिलाले आफ्नो योनिभित्र कपडाको टुक्रा हालेर निकाल्दा रगत नलागेको अथवा पहेँलो वा सेतो पानी नलागेको सुक्खा हुनु।

गुस्ल (स्नान) मा गर्नुपर्ने अनिवार्य कार्यहरू

गुस्ल अथवा स्नानमा दुईवटा कुराहरू अनिवार्य छन्- पहिलो नियत र दोस्रो कपाललाई जरासम्म धुनु। गुस्ल गर्दा कपालको जरासम्म अथवा छालासम्म भिज्ने गरी पानी हालेर धुनु जरुरी छ, चाहे कपाल बाक्लो होस् वा पातलो होस्।

महिनावारी र जनावतबाट पवित्र हुँदा नुहाउने तरिका

आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, आस्मा (शकिलकी छोरी) ले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग महिनावारीपछि स्नान गर्ने सम्बन्धमा सोधिन, त उहाँले भन्नुभयोः सबैभन्दा पहिले बयरको पात सहितको पानीले राम्रोसँग सफा गर (अथवा शरीरमा लागेको महिनावारीको रगत तथा फोहोरलाई सफा गर।), त्यसपछि आफ्नो टाउकोमा पानी हालेर कपालको जरासम्म पानी पुग्ने गरी खुब राम्रोसँग रगडेर धोऊ, अनि आफ्नो पुरै शरीरमा पानी हालेर धोऊ, त्यसपछि कस्तूरी (सुगन्ध) लागेको कपास अथवा सुतीको टुक्राले पवित्रता हासिल गर (सफा गर)। आस्माले भनिन्- यसले कसरी सफा गर्ने? रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः ‘सुब्हानल्लाह’ त्यसले सफा गर। अनि आयशा रजियल्लाहु अन्हाले बिस्तारै उनलाई भन्नुभयोः ‘त्यसले रगतको ठाउँ सफा गर।’ त्यसपछि उनले जनाबत (सम्भोग वा स्वप्नदोष) को स्नानको बारेमा सोधिन्- रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः सबैभन्दा पहिले पानीले राम्रोसँग पवित्रता हासिल गर (शरीरमा लागेको फोहोर सफा गर।), अनि टाउकोमा पानी हालेर कपालको जरा-जरामा पानी पुग्ने गरी राम्रोसँग मल, त्यसपछि आफ्नो पुरै शरीरमा पानी हालेर पखाल। आयशा रजियल्लाहु अन्हाले भन्नुभएको छः ‘अन्सारका महिलाहरू कति राम्रा थिए, उनीहरूले दीन (इस्लाम) को कुराहरू सोध्न लाज मान्दैनथे।’ (बुखारीः ३१४, मुस्लिमः ३३२) वास्वतमा नराम्रा र पापका कामहरू गर्न अनि सोध्न लाज मान्नुपर्छ, दीनका कुराहरू सोध्दा र सिक्दा त पुण्य मिल्छ।

शरीरको कुनै पनि भागमा पानी पुग्नबाट रोक्ने कुनै पनि अवरोधक वस्तुले गुस्ल (स्नान) लाई बिगार्छ र यसलाई गलत बनाउँछ। जस्तै- महिलाले नङमा लगाउने नङपालिसले नङमा पानी जान रोक्छ, त्यसैगरी अन्य जुनसुकै चीजले पनि स्नान गर्दा शरीरको छालासम्म पानी पुग्न रोक्छ भने त्यो चीज लगाएर स्नान गर्नुहुँदैन।

पहेँलोपन र माटोको जस्तो रङ

महिनावारी भन्दा पहिले वा पछि महिलाको योनीबाट केही स्रावहरू (रगत वा अन्य चीज) निस्कन्छन्, यदि यो महिनावारीसँग सम्बन्धित छ भने यो महिनावारीको हिस्सा हो। यस्तो समयमा महिलाले नमाज, रोजा लगायत महिनावारीको कारण गर्न नहुने सबै कामहरूबाट रोकिनुपर्छ। तर पहेँलो वा माटोको रङको पदार्थ महिनावारी बाहेक अलग निस्कन्छ भने त्यसले नमाज, रोजा लगायतका कामहरूमा कुनै प्रभाव पार्दैन। किनभने उम्मे अतिया रजियल्लाहु अन्हाले भन्नुभएको छः “महिनावारीबाट पवित्र भइसकेपछि आउने पहेँलो वा माटो रङको पानीलाई हामीले महिनावारीमा गन्दैनथ्यौं।”

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्