Model: हालको खण्ड
पाठ सलाहमा एकाग्रता
सलाहमा एकाग्रता नै इबादत (उपासना) को प्राण हो। एकाग्रता भनेको अल्लाहको अगाडि विनम्रतापूर्वक मन र मस्तिष्कलाई उपस्थित राखेर सलाह पढ्नु, कुरआनको पाठ र दुआहरूमा मनन् गर्नु हो।
यो महत्वपूर्ण उपासना र उच्च अनुसरण हो। त्यसैले अल्लाहले आस्थावानहरूको गुण दर्शाउँदै भन्नु भएको छः (قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ • الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خَاشِعُونَ) (المؤمنون: 1-2). अर्थः “वास्तवमा, ती आस्थावानहरू सफल हुन्छन् जो एकाग्रताका साथ सलाह पढ्छन्।” (सूरह अल्-मुमिनून: २३/१-२)
जसले एकाग्रताका साथ सलाह पढ्छ, उसले नै भक्ति र ईमानको वास्तविक स्वाद पाउँछ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “मेरो आँखाको खुशी (शितलता) सलाहमा नै रहेको छ।” (निसाई: ३९४०) आँखाको खुशी भनेको सुख र शान्ति हो।
सलाहमा एकाग्रता प्राप्त गर्ने तत्वहरू
पुरुषहरूले समय हुने बित्तिकै मस्जिदतिर लाग्नु, फर्ज भन्दा पूर्वका सुन्नतहरू नियमित रुपमा पढ्नु, राम्रो र सुहाउँदो कपडामा सजेर नम्रतापूर्वक मस्जिद जानु।
ध्यान भङ्ग गर्ने चित्र, गाजा-बाजाको आवाज र खेल-तमाशा भएको ठाउँमा सलाह पढ्नु हुँदैन। त्यसैगरी बेस्सरी भोक लागेको वा दिसा-पिसाबले च्यापेको बेला सलाहको लागि नजानु, पहिले आफ्नो आवश्यकतालाई पूरा गर्नु, अनि एकाग्र भएर ध्यानपूर्वक सलाह पढ्नु तथा एकाग्रताको साथ अल्लाहसित कुराकानी गर्नु।
रसूल सल्लल्लाहु अलैहि वसल्लमले रुकूअ र सज्दा सुकुनका साथ गर्नु हुन्थ्यो। यहाँसम्म कि प्रत्येक हड्डी आफ्नो ठाउँमा फर्किन्थे। उहाँले राम्रोसँग सलाह नपढ्नेलाई सलाह दोहोर्याउने आदेश दिनु भएको थियो र कागले ठुँगे झैं छिटो-छिटो नपढ्ने आदेश पनि दिनु भएको छ।
रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सबैभन्दा नराम्रो चोर सलाहमा चोरी गर्नेवाला हो” उनीहरूले सोधेः हे अल्लाहको रसूल ! सलाहमा कसरी चोरी गर्न सकिन्छ र? उहाँले जवाफ दिनु भयोः “राम्रोसँग रूकूअ र सज्दा नगरी हतार-हतारमा सलाह पढ्नु नै सलाहको चोरी हो” (अहमद: २२६४२) जुन व्यक्तिले विस्तारै-विस्तारै सलाह पढ्दैन उसको सलाहमा एकाग्रता कहिल्यै पनि हुन सक्दैन र कागले ठुँगे जस्तै गरी पढेको सलाह बेकार हुन जानेछ।
सलाह पढिरहेको बेला सृष्टिकर्ताको महानता, आफ्नो कमजोरी र तुच्छतालाई सम्झिनु पर्छ। सर्वशक्तिमान अल्लाहको अगाडि नम्रतापूर्वक उभिएर गुहार गरिरहेको बोध हुनुपर्छ। अल्लाहले परलोकमा आस्थावानहरूका लागि कति सुन्दर प्रतिफल र काफिर (अनास्थावान) हरूका लागि कति दुखदायी यातना तयार पार्नु भएको छ र महाप्रलयको दिन अल्लाहको अगाडि उसको अवस्था कस्तो हुनेछ भन्ने कुरालाई सम्झिनु पर्दछ।
अल्लाहले हाम्रा सम्पूर्ण क्रियाकलापहरूलाई हेरिरहनु भएको छ, हाम्रा दुआलाई सुनिरहनु भएको छ भन्ने आभास हुने बित्तिकै स्वतः सलाहमा एकाग्रता उत्पन्न हुनेछ।
अल्लाहले मनन् गर्न र ध्यान दिनको लागि कुरआनलाई अवतरण गर्नु भएको छ। भन्नु भएको छः (كِتَابٌ أَنْزَلْنَاهُ إِلَيْكَ مُبَارَكٌ لِيَدَّبَّرُوا آَيَاتِهِ وَلِيَتَذَكَّرَ أُولُو الْأَلْبَابِ) (ص: 29) अर्थः “उनीहरूले यो मंगलमय ग्रन्थमा ध्यान दिउन् र बुद्धिजीवीहरूले उपदेश ग्रहण गरुन् भन्ने उद्देश्यका साथ हामीले कुरआनलाई अवतरण गरेका हौं।” (सूरह साद : ३६८/२९)