Model: हालको खण्ड
पाठ महाप्रलयको दिनमाथि आस्था (ईमान) राख्नु
महाप्रलयको दिनमाथि आस्था (ईमान) को अर्थः
अल्लाहले मृत्यु पश्चात सम्पूर्ण व्यक्तिहरूलाई चिहानबाट जीवित पारेर उठाउनु हुनेछ, त्यसपछि हिसाब-किताब लिएर कर्म अनुसार प्रतिफल दिनु हुनेछ र स्वर्गवासी स्वर्गका महलहरूमा र नरकवासी नरकका खाल्डोमा बसोबास गर्नेछन् भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। महाप्रलयको दिनमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। यो नभईकन ईमान नै पूर्ण हुँदैन। अल्लाहले भन्नु भएको छः (وَلَـكِنَّ الْبِرَّ مَنْ آمَنَ بِاللهِ وَالْيَوْمِ الآخِرِ) (البقرة: 177). अर्थः “तर भलाई उसको लागि छ, जो अल्लाह र महाप्रलयको दिनमाथि आस्थावान हुन्छ।” (सूरह अल्-बकरह: २/१७७)
अन्तिम दिन (महाप्रलयको दिन) के हो?
महाप्रलयको दिन (अन्तिम दिन): यो त्यस्तो दिन हो जुन दिन मानिसहरूलाई तिनिहरूको कर्मको प्रतिफल दिनको लागि कर्मको लेखाजोखा गर्न जम्मा गरिने छ। त्यसपछि कर्म अनुसार स्वर्ग वा नर्कमा पठाइने छ। यसदिन पछि अरू कुनै दिन हुने छैन त्यसैले यसलाई महाप्रलयको दिन भनिएको हो। कुर्आनमा र हदीसमा यसका अन्य नामहरू पनि आएका छन्, जस्तैः ‘यौमल कियामह’ (कयामतको दिन), किनभने यस दिन ठूला ठूला घटनाहरू घटित हुनेछ र मानिसहरू अल्लाहको समक्ष उपस्थित गराइने छन्। त्यस दिनको अरू पनि नामहरू छन्- जस्तैः साअ, यौमल्-फस्ल, यौमद्दीन, आदि।
किन कुरआनले महाप्रलयको दिनमाथि आस्था राख्ने जोड दिएको छ?
कुरआनले महाप्रलयको दिनमाथि आस्था राख्न जोड दिएको छ र बारम्बार यसको सम्झना गराएको छ। एक दिन अवश्य नै महाप्रलयको घटना घटिने छ भन्ने कुरालाई विभिन्न अरबि शैलीद्वारा प्रमाणित गरेको छ र आधिकांश ठाउँमा यसलाई अल्लाहमाथिको आस्थासँग जोडेको छ।
किनभने महाप्रलयको दिनमाथि आस्थाको अनिवार्य परिणाम अल्लाह र उहाँको न्यायमाथि आस्था राख्नु हो। यसको वर्णन यस प्रकार रहेको छः
अल्लाहले अपराध र अत्याचारलाई कदापि मन पराउनु हुन्न। अपराधीले सजाय भोग्नु पर्छ, पिडितले न्याय पाउनु पर्छ, परोपकारी र सत्कर्मीले राम्रो प्रतिफल पाउनु पर्छ र सामन्तीले नराम्रो परिणाम भोग्नु पर्छ भन्ने इस्लामको धारणा रहेको छ। तर आज हामी आफ्नै आँखाले देखिरहेका छौं कि कतिपय अपराधीहरू सजाय नभोगीकन र कतिपय पिडितहरू निसाफ नपाईकन मर्दछन्। त्यसो भए न्याय खोई त ? के अल्लाहले अन्यायलाई मन पराउनु हुन्छ र ? त्यसैले मृत्युपछि अर्को लोक र जीवन हुनुपर्छ, जसमा परोपकारीले उपकार पाओस्, पापीले सजाय पाओस्, पीडितले न्याय पाओस् र प्रत्येक व्यक्तिले आ-आफ्नो कर्मको फल पाओस्, नत्र ईश्वरमाथिको आस्था नै धरापमा पर्छ।
महाप्रलय (कयामत) का निशानीहरूः
अन्तिम दिन (महाप्रलयको दिन) अन्तर्गत कयामतका निशानीहरूको बारेमा ईमान राख्नु पनि हो। कयामत (महाप्रलय) का निशानीहरूको तात्पर्य ती घटनाहरू हुन् जो कयामतको समयभन्दा पहिले र कयामत निकट घटनेछन्, जसबाट कयामत नजिक आइसकेको जानकारी हुनेछ। कयामतका निशानीहरू दुई किसिमका छन्।
१- महाप्रलय (कयामत) का साना निशानीहरू
यी त्यसता निशानीहरू हुन् जो कयामत भन्दा पहिले विभिन्न समयमा घटने छन्। जस्तैः गरिबी, भोकमरी, अकाल ग्रस्त समय आउनु, खाली खुट्टा र नाङ्गो शरीर हिंडने गोठालाहरू ठूला-ठूला महल बनाउन प्रतिस्पर्धा गर्नु र आफ्ना महलहरूमा गर्व गर्नु, आदि। जब जिब्रील अलैहिस्सलामले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमसँग मलाई कयामतको बारेमा जानकारी बताउनुहोस् यो कहिले घटित हुनेछ भनेका थिए तब उहाँले उत्तर दिनु भयोः यस सम्बन्धमा जससँग प्रश्न गरिएको छ उसलाई प्रश्नकर्ता भन्दा धेरै जानकारी छैन, त उनले फेरी सोधे त्यसो भए त्यसका केही निशानीहरू बताउनुहोस्। तब उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः नोकरनी (दासी) ले आफ्नो मालिकलाई जन्म दिनेछे, अनि तिमीले त्यसता मानिसहरूलाई पनि देख्नेछौ जसको शरीरमा लुगा, खुट्टामा जुत्ता र खानको लागि खुराक नभएका गोठालाहरू हुनेछन्, तिनै गरिब मानिसहरूको पासमा पछि यति धेरै धन आउनेछ कि उनीहरू महल बनाउनमा एक अर्कामा गर्व गर्नेछन्। (मुस्लिमः ८)
२- महाप्रलयका ठूला निशानीहरू
यी त्यसता निशानी तथा घटना हुन् जो कयामत (महाप्रलय) को निकट घट्नेछन्। हदीसमा यी घटनाहरू दसवटा बताइएका छन् । हुजैफा बिन् असीद रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ- नबी सल्लल्लाहु अलैहि वसल्लम हाम्रो पासमा आउनु भयो, त्यस समय हामीले आपसमा कुराकानी गरिरहेका थियौं। उहाँले सोध्नु भयोः के कुरा गरिरहेका थियौ? जवाफ दिएः हामीले कयामतको बारेका चर्चा गरिरहेका थियौं। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः कयामत (महाप्रलय) तबसम्म हुनेछैन जबसम्म तिमीहरूले दसवटा निशानीहरू देख्दैनौं, अनि (निशानीहरूको नाम लिंदै) भन्नु भयोः धुवाँ, दज्जाल, जनावर, पश्चिमबाट सूर्योदय हुनु, ईसा बिन् मरियम सल्लल्लाहु अलैहि वसल्लम अवतरण हुनु, याजूज र माजूज, तीन ठाउँमा धरती भासिनु- एउटा पूर्वमा, दोस्रो पश्चिममा र तेस्रो अरब दीपमा अनि अन्तिममा यमनबाट आगो निस्कने छ जसले मानिसहरूलाई हाँक्दै उनीहरूको महशर सम्म लैजानेछ। (मुस्लिमः २९०१)
महाप्रलयमाथिको आस्थाले कुन-कुन विषय वस्तुलाई समेटेको छ?
महाप्रलयमाथिको आस्थाले कैयौं कुराहरूलाई समेटेको छ, ती हुन्-
१. पुनर्जीवन र महाप्रलयको दिन भेला हुनुमाथि आस्था राख्नुः
मृतकलाई चिहानबाट जीवित परेर उठाउनु, सबैको आत्मालाई पुनः शरीरमा फर्काउनु, मानिसहरू आफ्नो प्रतिपालक अल्लाहको अगाडि उभिनु र फेरी आमाको कोखबाट जन्मेको दिन झैं निर्वस्त्र एउटा ठाउँमा भेला हुनु। पुनर्जीवन र भेला हुनुमाथि आस्था भनेको कुरआन, हदीस, बुद्धि र प्रकृतिद्वारा प्रमाणित छ। अल्लाहले सम्पूर्ण मृतकहरूलाई चिहानबाट जीवित परेर उठाउनु हुनेछ, उनीहरूको आत्मालाई उनीहरूको शरीरमा फर्काउनु हुनेछ र सबै मानिसहरू अल्लाहको अगाडि उभिने छन् भन्ने कुरामाथि हामी हृदयदेखि विश्वास गर्दछौं ।
अल्लाहले भन्नु भएको छः (ثُمَّ إِنَّكُمْ بَعْدَ ذَلِكَ لَمَيِّتُونَ • ثُمَّ إِنَّكُمْ يَوْمَ الْقِيَامَةِ تُبْعَثُون) (المؤمنون:15-16). अर्थः “त्यसपछि तिमीहरू मर्ने छौ र पुनः कयामत (महाप्रलय) को दिन उठाइने छौ।” (सूरह अल्-मुमिनून: २३/ १५-१६) सम्पूर्ण आकाशीय ग्रन्थहरूले पुनर्जीवन र भेला हुने आस्थाको पुष्टि गर्दछन् र यो नै अल्लाहको तत्वदर्शीको अभिलाषा पनि हो। किनभने अल्लाहले रसूलहरूद्वारा सुम्पिएको जिम्मेवारीप्रति सोधपुछ र प्रतिफल दिनको लागि एक दिन बनाउनु पर्ने हो। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः (أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُون) (المؤمنون: 115). अर्थः “के हामीले तिमीहरूलाई व्यर्थ सृष्टि गरेका छौं र तिमीहरू हामीतिर फर्केर आउने छैनौ भन्ने ठानेका छौ ?” (सूरह अल्-मुमिनून: २३/ ११५)
२. हिसाब किताब र तराजुमाथि आस्था राख्नुः
अल्लाहले आफ्ना सृष्टिहरूको हिसाब किताब उनीहरूको कर्मको आधारमा गर्नु हुनेछ। साँचो भक्त र असल मुस्लिमको हिसाब-किताब सरल हुनेछ र मुश्रिक (बहुदेववादी), काफिर र कपटीको हिसाब धेरै गाह्रो हुनेछ।
ठूलो तराजुमा कर्मको लेखाजोखा हुनेछ। एकातिर पुण्य र अर्कोतिर पाप राखिनेछ। जसको पुण्यको पल्ला भारी हुनेछ, त्यो स्वर्गवासीमध्ये हुनेछ र जसको पापको पल्ला भारी हुनेछ, त्यो नरकवासीमध्ये हुनेछ। स्मरण रहोस् ! अल्लाहले कसैमाथि अलिकति पनि अन्याय गर्नुहुने छैन। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः (وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَإِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِين) (الأنبياء: 47). अर्थः “महाप्रलयको दिन हामीले शतप्रतिशत जोख्ने तराजु राख्नेछौं, कसैमाथि अलिकति पनि अन्याय हुने छैन, एउटा रायोको दाना बराबर कर्म छ भने हामीले त्यसलाई पनि ल्याउनेछौं र हिसाब किताबको लागि हामी सक्षम छौं।” (सूरह अल्-अंबिया: २१/ ४७)
३. स्वर्ग र नरकः
“स्वर्ग” सदा सुख र आनन्दको बास हो, जुन आस्थावान, अल्लाहदेखि भय राख्ने, अल्लाह र रसूलको आज्ञापालन गर्ने सच्चा भक्तहरूका लागि तयार पारिएको छ। त्यसमा सबै किसिमका मन पराउने कुराहरू सदा सर्वदाका लागि हुने छन्, जसलाई देखेर आँखा शितल हुनेछ। अल्लाहले आफ्ना भक्तहरूलाई आज्ञापालनमा प्रतिस्पर्धा गर्न प्रेरित गर्दै भन्नु भएको छः (وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِنْ رَبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِين) (آل عمران: 133). अर्थः “अग्रसर हौऊ, आफ्ना पालनकर्ताको क्षमादान एवम् त्यस स्वर्गको निम्ति जसको चौडाइ आकाश र धरती झैं छ जुन अल्लाहका असल भक्तहरूका लागि तयार पारिएको छ।” (सूरह आलि-इमरान: ३/ १३३)
“नरक” सदा कष्ट र पीडाको बास हो, जुन काफिर, मुश्रिक र कपटीहरूका लागि तयार पारिएको छ। त्यहाँ मानिसले कल्पना गर्न नसक्ने नानाथरीका कष्ट, पीडा र यातना हुनेछ। अल्लाहले नरकबाट सचेत गर्दै भन्नु भएको छः (فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ أُعِدَّتْ لِلْكَافِرِين) (البقرة: 24). अर्थः “नरकबाट डराऊ, जसको इन्धन मनुष्य र ढुङ्गा हुने छन्। यो काफिरहरूका लागि तयार पारिएको छ।” (सूरह अल्-बकरह: २/ २४)
हे अल्लाह ! हामी स्वर्ग र स्वर्गमा प्रवेश गराउने कार्यको प्रार्थना गर्दछौं। नरक र नरकमा पुर्याउने कार्यबाट तिम्रो शरण चाहन्छौं।
चिहान (कब्र) को यातना र सुखः
मृत्यु अकट्य छ, न त रोकेर रोकिन्छ न त छेकेर छेकिन्छ। अल्लाहले भन्नु भएको छः (قُلْ يَتَوَفَّاكُمْ مَلَكُ الْمَوْتِ الَّذِي وُكِّلَ بِكُمْ ثُمَّ إِلَى رَبِّكُمْ تُرْجَعُون) (السجدة: 11). अर्थः “भनिदेऊ, तिमीहरूको प्राण लिनको लागि मलकुल्-मौत नियुक्त गरिएको छ, जसले तिमीहरूलाई मृत्यु दिनेछन् र त्यसपछि तिमीहरू आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ।” (सूरह अस्-सज्दा: ३२/ ११) जो कोही मर्छ वा जसको हत्या हुन्छ अथवा मृत्युको कारण जे सुकै होस् उसको आयुमा केही कमी हुँदैन भन्ने कुरा सर्वविदित हो र यसमा कुनै शंका छैन। अल्लाहले भन्नु भएको छः (فَإِذَا جَاءَ أَجَلُهُمْ لَا يَسْتَأْخِرُونَ سَاعَةً وَلَا يَسْتَقْدِمُون) (الأعراف: 34). अर्थः “जुन बेला उसको समय पूरा हुन्छ न त क्षण भर ढिलो हुन्छ, न त्यस भन्दा अगावै।” (सूरह अल्-आ'राफ: ७/ ३४) जसको मृत्यु भयो, उसको महाप्रलय शुरु भयो र परलोकतर्फ प्रस्थान गर्यो।
चिहानमा आस्थावान र सत्यवानका लागि सुख, चैन र आनन्दका कुराहरू हुन्छन् भने गैर-मुस्लिम र अवज्ञाकारीका लागि दु:ख र यातना हुने छन् भन्ने कुरा धेरै जसो हदीसबाट प्रमाणित छन्। ती कुराहरूमाथि आस्था राख्छौं तर त्यसको स्थितिबारे चासो लिदैनौं किनभने हाम्रो विवेकले त्यसलाई पत्ता लगाउन सकिन्न। त्यस्तै स्वर्ग र नर्क अदृश्यका कुराहरू हुन् जसको वास्तविकता अल्लाह बाहेक अरु कोही पनि जान्दैनन्।
त्यसैगरी चिहानमा हुने क्रियाकलापहरू पनि अदृश्यका कुराहरू हुन्, जसलाई विवेकले पत्ता लगाउन सकिन्न। यदि विवेकद्वारा चिहानको यातना र सुखको वास्तविकता थाहा पाउन सकिन्छ भने फेरी आस्था र कर्मको के अर्थ ? फेरी डरले कोही पनि आफ्नो मुर्दालाई चिहानमा गाडदैनन्। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “चिहानको चित्कार सुनेपछि तिमीहरू आफ्ना मुर्दा चिहानमा हाल्दैनौ भन्ने डर नभई दिएको भए, म अल्लाहसँग प्रार्थना गर्ने थिएँ, मैले सुनिरहेको कुरा तिमीहरूलाई पनि सुनाई देउन्।” (मुस्लिम: २८६८, निसाई: २०५८) जनावरहरुमा कुनै जिम्मेवारी नभएकोले तिनीहरूलाई चिहानको चित्कार सुन्ने क्षमता दिइएको छ। अल्लाहले भन्नु भएको छः (أَوَلَيْسَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِقَادِرٍ عَلَى أَنْ يَخْلُقَ مِثْلَهُمْ بَلَى وَهُوَ الْخَلَّاقُ الْعَلِيم) (يس: 81). अर्थः “जसले आकाशहरू तथा धरती सृष्टि गर्यो, के ऊ त्यसलाई पुन: सृष्टि गर्न सक्षम छैनन् ? किन छैनन् ? उहाँ त महान सृष्टिकर्ता र सर्वज्ञाता हुन्।”(सूरह यासीन: ३६/ ८१)
पुनर्जीवन बारे कुरआनबाट केही प्रमाणहरूः
-
अल्लाहले नै मानव सृष्टिको आरम्भ गर्नु भएको छ र जो सृष्टिको आरम्भ गर्न सक्छ, उसको लागि पुनः सृष्टि गर्नु कुनै कठिन कार्य होइन। अल्लाहले भन्नु भएको छः (وَهُوَ الَّذِي يَبْدَأُ الْخَلْقَ ثُمَّ يُعِيدُه) (الروم: 27). अर्थः “उहाँले नै सृष्टिको आरम्भ गर्नु भएको छ र उहाँले नै त्यसलाई फेरी दोहोर्याउनु हुनेछ।” (सूरह अर-रूम: ३०/ २७) सडेको हाड र माटोमा मिसी सकेपछि मानिसलाई पुनः जीवित गर्न सकिदैन कुराको खण्डन गर्दै अल्लाहले भन्नु भएको छः (قُلْ يُحْيِيهَا الَّذِي أَنْشَأَهَا أَوَّلَ مَرَّةٍ وَهُوَ بِكُلِّ خَلْقٍ عَلِيمٌ) (يس: 79). अर्थः “भनिदेऊ, “उहाँले नै त्यसलाई जीवित पार्नु हुनेछ, जसले पहिलो पटक सृष्टि गर्नु भएको थियो। उहाँ त प्रत्येक सृष्टिका ज्ञाता हुन्।” (सूरह यासीन: ३६/ ७९)
धरती मरेर सुकेको हुन्छ, जसमा कुनै हरियो रुख बिरुवा केही पनि हुँदैन, बर्षा हुन्छ र बर्षाको पानीले जमीन जीवित हुन्छ, लहलह हुन थाल्छ र चारैतिर हरियाली नै हरियाली हुन्छ। जसले मृत खेतीलाई जीवित पार्न सक्छ उसले मृत व्यक्तिलाई पनि जीवित पार्न सक्नु हुन्छ। अल्लाहले भन्नु भएको छः (وَنَزَّلْنَا مِنَ السَّمَاءِ مَاءً مُبَارَكًا فَأَنْبَتْنَا بِهِ جَنَّاتٍ وَحَبَّ الْحَصِيدِ • وَالنَّخْلَ بَاسِقَاتٍ لَهَا طَلْعٌ نَضِيدٌ • رِزْقًا لِلْعِبَادِ وَأَحْيَيْنَا بِهِ بَلْدَةً مَيْتًا كَذَلِكَ الْخُرُوجُ) (ق: 9-11). अर्थः “हामीले आकाशबाट पवित्र पानी बर्सायौं अनि त्यसद्वारा बगैंचाहरू र काटिने अन्न र बालीहरू उमार्यौं, भक्तको जीविकाको लागि खजूरका अग्ला-अग्ला वृक्षहरू जसमा एकमाथि अर्को झुण्डिएका फलका झुप्पाहरू छन् अनि पानीले मुर्दा नगरलाई जीवित पार्यों। हो यसरी नै चिहानबाट जीवित उठाइने छ।” (सूरह काफ: ३६/ ९-११)
बुद्धिजिविहरूलाई थाहा नै छ, जसले ठूला-ठूला कार्यहरू गर्न सक्छ, उसले सानोतिनो काम सजिलैसँग गर्न सक्छ। अल्लाहले विशाल आकाश र अदभूत पृथ्वीको आविष्कार बिना कुनै संकोच गर्नु भएको छ भने उहाँ सडेको हाडलाई पुनः जीवित पार्न सक्नुहुन्न र ? अल्लाहले भन्नु भएको छः (أَوَلَيْسَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِقَادِرٍ عَلَى أَنْ يَخْلُقَ مِثْلَهُمْ بَلَى وَهُوَ الْخَلَّاقُ الْعَلِيم) (يس: 81). अर्थः “जसले आकाशहरू तथा धरती सृष्टि गर्यो, के ऊ त्यसलाई पुन: सृष्टि गर्न सक्षम छैनन्? किन छैनन् ? उहाँ त महान सृष्टिकर्ता र सर्वज्ञाता हुन्।” (सूरह यासीन: ३६/ ८१)
महाप्रलयको दिनमाथि आस्थाका केही फाइदाहरूः
१) महाप्रलयको आस्थाले मुस्लिमको मनमा ईश्-भय पलाउँछ, सत्कर्म गर्ने प्रेरणा मिल्छ, अहंकार र देखावटिलाई त्याग्ने आवसर प्राप्त हुन्छ। त्यसैले धेरै जसो श्लोकहरूमा महाप्रलयको आस्थालाई अल्लाहमाथिको आस्थासँग जोडिएको छ। अल्लाहले भन्नु भएको छः إِنَّمَا يَعْمُرُ مَسَاجِدَ اللَّهِ مَنْ آَمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآَخِر} (التوبة: 18), अर्थः “जो अल्लाह र महाप्रलयको दिनमाथि आस्था राख्छ, उसले नै मस्जिदलाई आबाद गर्छ।” (सूरह तौबा: ९/ १८) अल्लाहले अर्को ठाउँमा भन्नु भएको छः {وَالَّذِينَ يُؤْمِنُونَ بِالْآَخِرَةِ يُؤْمِنُونَ بِهِ وَهُمْ عَلَى صَلَاتِهِمْ يُحَافِظُون} (الأنعام: 92). अर्थः “जो महाप्रलयको दिनमाथि आस्था राख्दछन् उनीहरू यस ग्रन्थमाथि आस्था राख्दछन् र आफ्नो सलाह (नमाज) को रक्षा गर्छन्।” (सूरह अल्-अन्आम: ६/ ९२)
२) धर्म र कर्मलाई वास्ता नगरी भौतिक सुख र दुनियाँको पछाडि मात्र भौंतारिरहेका व्यक्तिहरूका लागि सुध्रिने र अल्लाहको आज्ञापालनमा प्रतिस्पर्धा गर्ने सुवर्ण अवसर हो, किनभने यो त क्षणिक जीवन मात्र हो असल जीवन त स्वर्ग नै हो। महाप्रलयको सम्झना गर्ने भक्तहरूको अल्लाहले प्रशंसा गर्नु भएको छ। अल्लाहले भन्नु भएको छः {إِنَّا أَخْلَصْنَاهُمْ بِخَالِصَةٍ ذِكْرَى الدَّار} (ص: 46). अर्थः “हामीले उनीहरूलाई परलोकको स्मरण गराउनको लागि चयन गरेका थियौं।” (सूरह साद: ३८/ ४६) अत: परलोकको स्मरणले नै उनीहरू उत्कृष्ट भएका हुन्। उक्त विशिष्ट कर्मले गर्दा नै अल्लाहले उनीहरूलाई चयन गर्नु भएको थियो।
जब केही मुस्लिमले अल्लाह र रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुसरणमा सुस्ती गर्न थाले, तब अल्लाहले उनीहरूलाई यसरी सचेत गर्दै भन्नु भयोः (أَرَضِيتُمْ بِالْحَيَاةِ الدُّنْيَا مِنَ الْآَخِرَةِ فَمَا مَتَاعُ الْحَيَاةِ الدُّنْيَا فِي الْآَخِرَةِ إِلَّا قَلِيل) (التوبة: 38). अर्थः “परलोकको साटो तिमीहरू दुनियाँदेखि प्रसन्न छौ ? यो भौतिक सुख स्वर्गको तुलनामा अति नै मूल्यहीन छ।” (सूरह अत्-तौबा: ९/ ३८) महाप्रलयको आस्थाले यो दुनियाँ मूल्यहीन देखिन्छ। स्वर्गका सुख र आनन्दहरूलाई यो सांसारिक आनन्दसँग कहिल्यै पनि तुलना गर्न सकिदैन। नरकको एक डुब्कीले दुनियाँका सबै सुखलाई र स्वर्गको एक दर्शनले दुनियाँमा भोगेका सम्पूर्ण दु:ख र पीडालाई बिर्साइ दिन्छ।
३) उक्त आस्थाले मानिसलाई सन्तुष्टि प्राप्त हुन्छ। आफूले चाहेको, रोजेको, खोजेको र मन पराएको कुरा प्राप्त हुँदैन भने आत्महत्या गर्दैनन् वा निराश हुँदैनन् बरु बढी मेहनत गर्छ, किनभने अल्लाहले परोपकारीको सत्कर्मलाई कदापि खेर फाल्नु हुन्न। यदि कसैलाई धोका दिएर वा जबर्जस्ती गरेर कणबराबर पनि कुनै सामान लुटिएको छ भने पिडितले महाप्रलयको दिन अवश्य नै त्यसलाई त्यहाँ पाउनेछ, जुन बेला उसलाई त्यसको बढी खाँचो हुनेछ। के सिङ्गो संसारको विधाता र मालिक; अल्लाहसित पनि कोही निराश हुन सक्छ र ? त्यसैले साँचो भक्त कहिल्यै पनि हिम्मत हार्दैन र सकेसम्म सत्कर्म गर्ने प्रयास गर्दछ।