Model: हालको खण्ड
पाठ महामारी, पाठ र उपदेशहरू
रोग र महामारीबाट ग्रसित हुनु भनेको मानिसहरूको भाग्यमा पहिलादेखि नै लेखिएको कुरा हो, चाहे मुस्लिम होस् वा गैर मुस्लिम । तर रोग र महामारीले गर्दा विपत्तिमा परेको मुस्लिमको अवस्था अरूको भन्दा एकदम पृथक हुन्छ । ऊ दु:खमा सब्र (धैर्य) गर्छ, रोग लग्नु भन्दा पहिला नलागोस् भनेर वैध कारणहरूलाई प्रयोग गर्छ अनि ग्रसित भइसकेपछि अल्लाहसँग शिफाको दुआ गर्छ ।
माइक्रोस्कोपबाट मात्रै देख्न सकिने सुक्ष्म किसिमका किटाणुका कारण महामारी फैलिनु र मानिसहरूभित्र डर र त्रास पैदा हुनु भनेको अल्लाहको शक्ति र मानव कमजोरीको ठूलो प्रमाण हो । मानवले जतिसुकै उन्नति गरे पनि र जस्तोसुकै टेक्नोलोजीको प्रयोग गरेपनि उनीहरू मानव कमजोरी र नपुंसकताको घेराभन्दा बाहिर जान सक्दैनन् । अल्लाह नै एक मात्र सर्वशक्तिमान, दृढ र सम्पन्न हुनुहुन्छ भन्ने कुराको ठूलो प्रमाण हो । आकाश र पृथ्वीमा कसैले पनि उहाँलाई हराउन सक्दैनन् ।
भाग्य सही हो
उहाँले जे गर्न चाहनु भयो त्यो भयो, जे गर्न चाहनु भएन त्यो हुन सकेन, यसमा प्रकोप र महामारीहरू पनि समावेश छन् । अल्लाहले भन्नुभएको छ: ﴿مَا أَصَابَ مِن مُّصِيبَةٍ فِي الْأَرْضِ وَلَا فِي أَنفُسِكُمْ إِلَّا فِي كِتَابٍ مِّن قَبْلِ أَن نَّبْرَأَهَا ۚ إِنَّ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ ﴾ (الحديد: 22). अर्थः "पृथ्वीमा र स्वयम् तिमीहरूको जीवनमा जे संकट आउँछ, त्यो हुनु भन्दा अघि नै विशेष किताबमा अङ्कित गरिएको छ । निश्चयनै यो अल्लाहको लागि सजिलो छ ।" (हदीद: २२)
मुस्लिमहरूको आस्था के छ भने यो पृथ्वीमा जे पनि घटना हुन्छ ती सबै पूर्वनिर्धारित हुन् । अल्लाहले यो पृथ्वीको सृष्टि भन्दा अघि नै सबै कुराहरू लेख्नुभएको थियो । यो आस्थाले उनीहरूलाई आतङ्क, प्रकोप, महामारी इत्यादिको सामना गर्न सक्षम र अडिग बनाउँछ । उनीहरूले खुला हृदयले अल्लाहको फैसलालाई स्वीकार गर्छन् ।
चेतना र उपदेश:
महामारी र दु:ख आइपर्दा त्यसबाट पाठ नलिई मानिसहरूलाई समाचार सम्प्रेषणमा व्यस्त रहनु पनि एउटा दुर्भाग्य हो । महामारी र विपत्ति आइपर्दा त्यसबाट पाठ र उपदेश लिनु महान उपासना हो, जुन अहिले मरेतुल्य भएको छ । अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: "राती कयाम गर्नु भन्दा एक घण्टा मनन गर्नु राम्रो हो ।" (हिलयतिल-अवलिया)
रोग, विपत्ति र जाँचहरूमा मुस्लिमका अवस्थाहरू :
यी विपत्तिहरू आइपर्दा गर्नुपर्ने केही मुख्य उपासनाहरू: अल्लाहको अगाडी रुनु, उहाँसँग मद्दत माग्नु, उहाँप्रति समर्पित हुनु, यो पीडाबाट मुक्तिको लागि विनम्रताका साथ दुआ गर्नु, अल्लाहले भन्नुभएको छ: ﴿ فَلَوْلَا إِذْ جَاءَهُم بَأْسُنَا تَضَرَّعُوا وَلَٰكِن قَسَتْ قُلُوبُهُمْ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ مَا كَانُوا يَعْمَلُونَ﴾ (الأنعام 43). अर्थः "तिनीहरूमाथि हाम्रो प्रकोप आइपुग्दा तिनीहरूले बिन्ती किन गरेनन् ? बरू तिनीहरूको हृदय झन् कठोर भयो, र तिनीहरूले गरिरहेका नराम्रा कामहरूलाई शैतानले तिनीहरूका लागि सुशोभित तुल्याई दियो ।" (अन-आम: ४३) शुद्ध दुआका लागि स्वर्गका ढोकाहरू खोलिन्छ, पर्दाहरू हटाइन्छ, दुरी खतम हुन्छ र परम दयालुको नजिक पुर्याउने गर्छ । अल्लाहले भन्नुभएको छ: ﴿وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ ۖ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ ۖ ﴾. अर्थः "हे नबी ! मेरा भक्तहरू मेरोबारे तपाईंलाई सोध्छन् भने भनिदिनुहोस्– म उनीहरूदेखि एकदमै नजिक छु र भित्री मनले पुकार्नेवालाको पुकार स्वीकार गर्छु ।" (बकरह: १८६) वहब बिन् मोनब्बिह ले भनेका छन्: "दुआले विपत्तिलाई खतम गरिन्छ ।"
इब्ने कसीरले उक्त आयतको व्याख्या गर्दै भनेका छन्: "तिनीहरूमाथि हाम्रो प्रकोप आइपुग्दा तिनीहरूले बिन्ती किन गरेनन्......? "अर्थात् जब हामीले तिनीहरूलाई परिक्षण गरेका थियौं तब तिनीहरूले हामीलाई बिन्ती किन गरेनन् र हामीतिर दृढतापूर्वक किन फर्केनन् ? वास्तवमा तिनीहरूको हृदय नै कठोर थियो र शैतानले तिनीहरूका कर्महरूलाई तिनीहरूका लागि शिर्क र पापहरूद्वारा अझै मनमोहक बनायो ।
हामी यी विपत्तिहरू र रोगहरूबाट सुरक्षित छौं भन्ने विश्वास गर्नु भनेको ठूलो भ्रम हो र आफैले आफ्नो खुट्टामा बन्चरो हान्नु हो । विपत्ति र पापहरू बीच रहेको सम्बन्धबारे हामीले मनन गर्नुपर्छ । किनभने धेरैजसो आयतहरूमा विपत्ति र पापहरूबीच रहेको गहिरो सम्बन्ध पुष्टि भएको कुरा हो । अल्लाहले भन्नुभएको छ: ﴿أَوَلَمَّا أَصَابَتْكُم مُّصِيبَةٌ قَدْ أَصَبْتُم مِّثْلَيْهَا قُلْتُمْ أَنَّىٰ هَٰذَا ۖ قُلْ هُوَ مِنْ عِندِ أَنفُسِكُمْ ۗ ﴾ (آل عمران: 165)، अर्थः "तिमीहरूलाई कष्ट पुग्दा यो कहाँबाट आयो भन्छौ, जबकि यसको दुई गुणा कष्ट तिमीहरूले पाइसकेका छौ । भनिदेऊ, यो तिमीहरूको गल्तीको नतिजा हो ।" (आले इमरान: 165) । अर्को ठाउँमा भन्नुभएको छ: {وَمَا أَصَابَكُمْ مِنْ مُصِيبَةٍ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ وَيَعْفُو عَنْ كَثِيرٍ} (الشورى: 30). अर्थः "तिमीहरूको जीउधनमा जे जति हानि पुग्छ त्यो तिमीहरूको पापले गर्दा नै पुग्छ । यद्यपि अल्लाह तिमीहरूका धेरै पापहरू माफ गर्नुहुन्छ ।" (शुरा: ३०)
"अल्लाह आफ्नो भक्तप्रति दयालु हुनुहुन्छ":
विपत्ति, संकट र महामारीहरू आइपर्दा आस्थावान भक्तप्रति आलाहको दया प्रकट हुन्छ, तिनीहरूलाई राहत दिनुहुन्छ, महामारीबाट जोगाउनु हुन्छ, संकटमा तिनीहरूलाई धैर्य गर्न र अल्लाहको फैसलाप्रति राजी हुन क्षमता दिनुहुन्छ । अल्लाहको दया नभएको भए, मनमा एक्लोपन, डर र त्रास नै हुन्थे ।
अल-सादी (रहेमहुल्लाह) ले कुर्आनको यो आयत- ﴿ إِنَّ رَبِّي لَطِيفٌ لِمَا يَشَاءُ ﴾ अर्थः "मेरो पालनकर्ताले जे चाहनु हुन्छ त्यसमा दयालु हुनुहुन्छ" को व्याख्यामा भनेका छन्: "उहाँ आफ्नो सेवकलाई जुन तरिकाले दया र उपकार गर्नुहुन्छ, त्यसलाई भक्तके कहिले सोचेको पनि हुँदैन अनि जुन कम भक्तलाई मनै पर्दैन त्यसले उसलाई उच्च स्थानमा पुर्याउनु हुन्छ ।"
हरेक किसिमका परीक्षा र सङ्कटहरूलाई सजिलै पन्छाउने सबैभन्दा ठूलो आधार अल्लाहको पूर्ण भरोसा हो । तसर्थ यो समस्या छिटोभन्दा समाप्त हुन्छ भनेर निश्चित बनौं । आफ्नो वरपरका मानिसहरूमा आशाको दियो बालौं, चिन्ता र निराशा वा अभिशापबाट टाढा रहौं, किनकि कुनै पनि कठिनाइले दुई सहजतालाई जित्न सक्दैन । "वास्तवमा, कठिनाइ र दु:ख पछि राहत र सुख रहेको छ । वास्तवमा, कठिनाइसँगै सहजता आउँछ (शरह: 5, 6)
दु:ख, पीडा र रोग इत्यादिलाई वैध भौतिक तरिकाद्वारा उपचार गर्नु भनेको अल्लाहले बयान गर्नुभएको एक तरिका हो । नबी र अल्लाहका सच्चा भक्तहरूले पनि भौतिक तरिकालाई प्रयोग गरेका छन् र यो नै अल्लाहमाथिको पूर्ण भरोस र असल भक्ति हो ।
भरोसाको वास्तविकता: अल्लाहमाथि हृदयले भरोसा गर्दै भौतिक तरिकालाई पनि अपनाउनु पर्छ । अल्लाहमाथि भरोसा गर्नु तर भौतिक तरिकाबाट टाढा रहनु भनेको शरिया (इस्लाम) को अपमान र अल्प बुद्धिको पहिचान हो । त्यसैगरी मात्र साधनहरूमा निर्भर हुनु र अल्लाहमाथि भरोसा नगर्नु यो तौहीद विपरीत कुरा र साधनमा शिर्क हो ।
एउटा अदृश्य प्राणी (भाइरस) जसले सम्पूर्ण तहतप्काका मानिसहरूको आनन्द, सुरक्षा, जीविकोपार्जन र जनजीवनलाई बर्बाद पारेको छ । त्यसोभए, के एउटा सामान्य बुद्धिमान व्यक्तिले यो दुनियाँको लागि प्रतिस्पर्धा गर्नु, तछाडमछाड गर्नु, एकअर्कालाई हत्या गर्नु उचित छ र ? छैन भने एउटा मोमिनको लागि झन् कसरी उचित हुनसक्छ !
यसमा कुनै शङ्का छैन, यी भाइरसहरू अल्लाहका चिन्हहरूमध्ये एक हुन्, उहाँले आफ्ना भक्तहरूलाई डराउनु अथवा सचेत गराउनु हुन्छ, यसले तिनीहरूलाई पाठ सिक्न, उपदेश ग्रहण गर्न र अल्लाहसित डराउन उत्प्रेरित गर्छ । सर्वशक्तिमान अल्लाहले भन्नु हुन्छ: ﴿ وَمَا نُرْسِلُ بِالآيَاتِ إِلا تَخْوِيفًا ﴾ (الإسراء: 59). अर्थः "हामी डराउनको लागि निशानीहरू पठाउछौं ।" (अल-इस्रा: 59)
अल्लाहको निशानीहरू देखेर डर मान्ने सुन्नतलाई जीवित गर्नु:
अल्लाहका निशानीहरू देख्ने बित्तिकै रसूल सल्लल्लाहु अलैहि वसल्लम अत्यन्तै भयभीत हुनु हुन्थ्यो । अनस (रजियल्लाहु अन्हु) को हदीसमा छ, "जब उहाँले तिब्र हावा तथा हुरी चलेको देख्नु हुन्थ्यो, तब उहाँ डराउनु हुन्थ्यो, जसको संकेत उहाँको अनुहारबाट थाहा हुन्थ्यो ।" (बुखारी: १०३४)
समय भनेको मुस्लिमहरूको दुनियाँको असल पूँजी हो र यो दुनियाँको हरेक वस्तु भन्दा धेरै बहुमूल्य र महँगो हो । इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "दुईवटा यस्ता वरदानहरू छन्, जसलाई धेरैजसो मानिसहरूले गुमाउने गर्छन्: स्वास्थ्य र फुर्सदको समय ।" (बुखारी: 6412)
बुद्धिमान व्यक्तिले सधैं आफ्नो समयको सदुपयोग गर्दछ, विशेषगरी संकट र परिक्षाको समयमा । आफ्नो पालनकर्तादेखि नजिक हुने हरेक कार्यमा आफ्नो समय खर्च गर्छ । इब्नुल-कैयिम (रहेमहुल्लाह) ले भन्नु भएको छ: "समय बर्बाद गर्नु मृत्यु भन्दा खतरनाक छ, किनकि समय बर्बाद गर्नाले तपाईंलाई अल्लाह र परलोकबाट अलग गर्दछ, र मृत्युले तपाईंलाई संसार र मानिसहरूबाट अलग गर्दछ ।"
अल्लाहको भनाइ- "फुर्सदको बेलामा उपासना गर" को बारेमा शङ्कीती रहिमहुल्लाहले भनेका छन्: 'फुर्सदको समयमा के गर्ने' विश्वलाई नै चकित पार्ने समस्याको समाधान हो । किनकि यसले मुस्लिमको कुनै खाली समय नै छैन, कि त दुनियाँको जीविकोपार्जन गर्ने काम छ कि त परलोकको लागि (उपासना) गर्नुछ ।