Model: हालको खण्ड
पाठ हज्जको तरिका
हज तीन प्रकारका छन्: तमत्तो, किरान र इफ्राद । हज गर्ने व्यक्तिले हजका यी तीन किसिमहरूमध्ये कुनै एउटा किसिमलाई रोजेर हज गर्न सक्छ ।
तमत्तो
किरान
इफ्राद
रसूल सल्लल्लाहु अलैहि वसल्लमले जसरी हज गर्नुभयो र उहाँले आफ्ना सहाबाहरूलाई तालिम दिनुभयो त्यसरी नै मुस्लिमले पनि हज गर्न कोसिस गर्नुपर्छ । जाबिर (रजियल्लाहु अन्हु) को हदीसमा छ, मैले कुर्बानीको दिन रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नै सवारीमा सवार भएर ढुंगा (कंकरी) हानेको देखे अनि उहाँले भन्नुभयो: “तिमीहरू हज र उमरह गर्ने तरिकाहरू मबाट सिक, मलाई थाहा छैन, सायद यो हज पछि म अर्को हज गर्न सक्दिनँ होला ।" (मुस्लिम : १२९७)
जब हाजी मीकातमा आइपुग्छ र हजको लागि इहराम लगाउन चाहन्छ भने पहिला आफ्नो लुगा फुकाल्नु, नुहाउनु र आफ्नो टाउको र दार्हीमा अत्तर (सुगन्ध) दल्नु मुस्तहब (राम्रो) हो । त्यसपछि एहरामका कपडा तलमाथि गरि लगाउनु पर्छ । फर्ज सलाहको समय छ भने फर्ज सलाह पढ्नु, छैन भने वोजूको नीयतले दुई रकात सलाह पढ्नुहोस् ।
फर्ज सलाह पढिसकेपछि जुन हज गर्नु चाहनु हुन्छ त्यसको नीयत दिलमा गर्नु त्यसपछि:
अत्यधिक तल्बीया पढ्नु: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्, इन्नल् हम्द वन्निअ म त लक वल् मुल्क्, ला शरीक लक् ।' पुरूषले चर्को स्वरमा र महिलाले आफ्नो छेउमा रहेका महिलाहरूलाई सुनाउने गरि मधुरो स्वरमा तल्बीया पढ्नुपर्छ । एहरामको अवस्थामा रहुन्जेल प्रतिबन्धित र निषेधित कुराहरूबाट जोगिनुपर्छ ।
हज गर्ने व्यक्ति मक्कामा प्रवेश गर्दा पहिला नुहाउनु मुस्तहब (राम्रो) हो । हज तमत्तो गर्नेले पहिला उमरह र हज किरान र इफ्राद (मात्र हज) गर्नेले तवाफुल-कुदूम गर्न ‘मस्जिद-हराम’ तिर लाग्नु पर्छ ।
मस्जिद-हराममा प्रवेश गर्दा पहिला दायाँ खुट्टा भित्र राख्नुहोस् अनि मस्जिदमा प्रवेश गर्ने दुआ पढ्नुहोस् । काबा नजिक पुग्ने बित्तिकै तवाफ आरम्भ गर्नु भन्दा पहिला तल्बीया पढ्न बन्द गर्नुहोस् । तवाफ गर्दा पुरूषहरूले ‘इज्तिबा’ गर्नु सुन्नत हो । दायाँ काँधलाई खुला राख्नु र एहरामलाई दायाँ काखिमुनीबाट निकालेर बायाँ काँधमा राख्नुलाई इज्तिबा भनिन्छ ।
हज्रे-अस्वद देखि तवाफ (परिक्रमा) प्रारम्भ गर्नुहोस्, भीडभाड छैन भने ‘हज्रे-अस्वद’ (कालो ढुङ्गा) लाई आफ्नो दाहिने हातले छोएर र हातलाई चुम्बन गरेर तवाफ प्रारम्भ गर्नुहोस् । भीड छ भने अरूलाई धक्का दिनु हुँदैन, बरु टाढादेखि नै ‘हज्रे-अस्वद’ तिर इशारा गर्दै अल्लाहु अक्बर भन्दै तवाफ आरम्भ गर्नुहोस् । खाना काबालाई आफ्नो देब्रे पट्टि राखेर सात चोटि तवाफ (परिक्रमा) गर्नुहोस् । पहिला तीन चक्करमा पुरूषले रमल गर्नु सुन्नत हो । बिस्तारै-बिस्तारै दगुर्नलाई रमल भनिन्छ ।
तवाफ गर्दा ‘रुक्ने-यमानी’ लाई हातले छुनुहोस्, तर यसलाई ओठले चुम्नु जायज छैन । छुन सकिएन भने इशारा नगरिकन त्यत्तिकै अगाडी बढ्नुहोस् । ‘रुक्ने-यमानी’ र ‘हज्रे-अस्वद’ को बीचमा यो दुआ पढ्नुहोस्- ﴿ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ﴾. उच्चारणः ‘रब्बना आतिना फिद्दुन्या हसन: व फिल्-आखिरते हसन: व किना अजाबन्नार’ ।
सात चोटि तवाफ गरिसकेपछि तवाफ गर्दा खुला राखिएको दायाँ काँधलाई छोप्नुहोस् अनि संभव छ भने मकामे-इब्राहीमको पछाडि वा भीडभाड छ भने पुरै हरममा जुनसुकै ठाउँमा भएपनि दुई रकात सलाह पढ्नु होस् । पहिलो रकातमा सूरह फातिहापछि ‘सूरह काफिरुन’ र दोस्रो रकातमा ‘सूरह एख्लास’ पढ्नुहोस् ।
त्यसपछि सई गर्न सफा तिर लाग्नुहोस् । सफा पर्वत नजिक पुगेपछि ‘इन्नस्सफा वल्-मर्व त मिन् शआ ए रिल्लाह’ पढ्नुपर्छ । त्यसपछि 'अब दओ बिमा ब द अल्लाहु विही' पढ्नुहोस् ।
हज तमत्तो गर्नेले सईपछि कपाल खौरनु वा छोटो गराउनु दुबै जायज छ, तर खौरनु उत्तम हो । तर हजमा धेरै दिन बाँकी छैन भने कपाल खौरनु भन्दा कटाउनु उत्तम हो । ताकि हजमा कपाल खौरन सकुन् । महिलाले आफ्नो कपाललाई जम्मा गरी एक इन्च बराबर मात्र काट्नु पर्छ । अब तपाईंको उमरह पुरा भयो र एहरामले गर्दा प्रतिबन्धित कुराहरू जायज भयो । तर किरान र इफ्राद हज गर्नेले अहिले कपाल नकटाइकन एहरामकै अवस्थामा बसिरहनु पर्छ ।
जिल्-हिज्जा महिनाको आठौं तारिखदेखि हज प्रक्रिया आरम्भ हुन्छ, यसलाई मिनाको दिन भनिन्छ । हज तमत्तो गर्ने हाजीले सूर्योदयपछि आफू बसेको ठाउँदेखि हजको एहराम लगाउनु पर्छ । उमरहमा गरे झैं नुहाउनु, शरीरमा अत्तर दल्नु मुस्तहब (राम्रो) हो । त्यसपछि एहराम लगाएर हजको नीयत गर्नु अर्थात 'लब्बैक अल्लाहम्म हज्जन' भन्नु अनि तल्बीया पढ्दै गर्नुपर्छ । किरान (हज उमरह दुबै) र इफ्राद (मात्र हज) गर्ने हाजी पहिलेदेखि नै एहराममै बसिरहेका हुन्छन् । त्यसपछि सम्पूर्ण हाजीहरूले जोहर भन्दा पहिला मिना प्रस्थान गर्नुपर्छ र अर्को दिन बिहानसम्म त्यहीं बस्नुपर्ने हुन्छ । जोहर देखि फज्रसम्मका सम्पूर्ण सलाह (नमाज) आ-आफ्ना समयमा मिना मै पढ्नु पर्छ । चार रकात भएको सलाह जस्तै; जोहर, अस्र, र ईशा कस्र (दुई-दुई) गरी पढ्नु पर्छ । आफ्नो समयलाई तल्बीया पढ्न, कुर्आनको तिलावत गर्न र अल्लाहको जिक्र (प्रशंसा) मा व्यस्त राख्नु पर्छ ।
नवौं जुल्-हिज्जालाई अरफातको दिन भनिन्छ । यो दिन सम्पूर्ण हाजीहरूले सूर्योदयपश्चात मिना देखि ‘अरफात’ तिर शान्तिका साथ तल्बीया पढ्दै र अल्लाहको प्रशंसा गर्दै प्रस्थान गर्नुपर्छ । संभव छ भने जोहर भन्दा पहिला ‘नमिरह’ मा बस्नु मुस्तहब हो । ‘नमिरह’ मा बस्न सकिएन भने सीधा अरफातको मैदानतिर प्रस्थान गर्नुपर्छ । जोहर र अस्रको सलाह कस्र (दुई-दुई) गरी एकैसाथ अर्थात जोहरकै समयमा एक अजान र दुई इकामतले पढ्नु पर्छ । त्यसपछिको समय भनेको अल्लाहको प्रशंसा, कृतज्ञता, कुर्आनको तिलावत र दुआमा लगाउनु पर्ने हुन्छ । दुबै हात उठाएर किब्ला तर्फ मुख गरेर नम्रताका साथ रोएर खुब दुआ गर्नुपर्छ ।
‘मुज्दलिफह’ पुगे लगत्तै सर्वप्रथम मग्रिबको ३ रकात र ईशाको २ रकात सलाह एक अजान र दुई इकामतले पढ्नु पर्छ अनि रात यहीं बसेर फज्रको सलाह पढ्नु पनि पढ्नु पर्छ । फज्रको सलाह पढिसकेपछि मिर्मिरे बिहानी नहुन्जेल ‘किब्ला’ तिर अनुहार फर्काएर दुबै हात उठाएर नम्रताका साथ अल्लाहको अत्याधिक प्रशंसा गर्नु, उहाँको कृतज्ञता व्यक्त गर्नु र दुआ गर्नु पर्दछ ।
दशौं जिल्-हिज्जाको बिहान उज्यालो भएपछि हाजीले सूर्योदय हुनुभन्दा पहिला नै ‘मिना’ तिर प्रस्थान गर्नुपर्छ । अनि बाटोमा चनाको दाना भन्दा अलि ठूलो खाले सातवटा ढुङ्गा जम्मा गर्नुपर्छ र मिना’ पुगिसकेपछि मक्कादेखि नजिक रहेको ‘ठूलो जमरात’ (र यो अनिम जमरात हो) लाई एक-एक गरी सात चोटि ढुङ्गा हान्नु पर्छ । ढुङ्गा हान्दा हरेक पटक अल्लाहु अक्बर भन्नु पर्छ । आफ्नो कुर्बानी (हदय) गर्नु र त्यसपछि कपाल खौरनु वा छोटो पार्नु पर्छ । महिलाले कपाल जम्मा गरेर एक इन्च मात्र काट्नु पर्छ । त्यसपछि हाजीले अत्तर दल्नु मुस्तहब हो । त्यसपछि मक्का जानु र हजको तवाफ (तवाफुल-एफाजह) र सई गर्नुपर्छ । यो हजका अर्कान (आधार) हरूमध्ये एउटा ठूलो रुक्न हो । त्यसपछि पुनः ‘मिना’ फर्किएर र ११ (दशौं जिल्-हिज्जाको सूर्यास्तपछि) को रात त्यहीं मिनामा बिताउनु पर्छ ।
हाजीले ११ र १२ जिल्-हिज्जाको रात ‘मिना’ कै मैदानमा बिताउनु अनिवार्य हो र जो ढिलो फर्कन चाहन्छ उसले १३ जिल्-हिज्जाको रात पनि बिताउनु पर्छ । अनि दिउँसो जवाल (सूर्य ढल्के) पछि तीनै जमरातलाई ढुङ्गा (कंकरी) हान्नु पर्छ ।
ढुङ्गा हान्ने तरिका
हजका सम्पूर्ण वाजिब र अर्कानहरू पुरा गरिसकेपछि अन्तमा मक्का गएर तवाफुल्-वदा गर्नुपर्छ । त्यसैले स्वदेश फर्किनु भन्दा पहिला सबैभन्दा अन्तमा तवाफुल्-वदा गर्नु जरुरी छ । इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही पनि तवाफुल्-वदा नगरिकन स्वदेश कदापी नफर्किनु ।” (मुस्लिम : १३२७)