सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ रसूल ﷺ पतिको रूपमा

यस पाठमा हामीले रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवनको एउटा पक्ष उहाँको घरायसी मामिला र आफ्ना पत्नीहरूसँग उहाँको व्यवहारको बारेमा जानकारी हासिल गर्नेछौं।

  • नबी सल्लल्लाहु अलैहि वसल्लमको घरायसी मामिला तथा व्यवहारबारे जानकारी।
  • नबी सल्लल्लाहु अलैहि वसल्लमको परिवारका सदस्यहरूसँगको व्यवहार र उच्च आचरणले भरिपूर्ण मामिलाबारे जानकारी।
  • पत्नीहरू प्रतिको व्यवहार र मामिलामा नबी सल्लल्लाहु अलैहि वसल्लमलाई आदर्श बनाउनु।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

अल्लाह तआलाले आफ्नो हिक्मत (तत्त्वज्ञान) ले रसूलहरूलाई मानव बनाएर पठाउनु भयो, ताकि मानिसहरूको लागि उनीहरूको आचरण अपनाउन, उनीहरूको तरिकाको अनुसरण गर्न र उनीहरूले गरे झैँ कर्म गर्न प्रमाण बनोस्। कुनैपनि मुस्लिमको लागि अल्लाहको किताबको अनुसरण र उहाँको रसूलको आज्ञापालन गर्नमा नै यसलोक र परलोकको खुसी अनि सफलता छ। त्यसैले प्रत्येक मुस्लिमले नबी सल्लल्लाहु अलैहि वसल्लमको सीरत (जीवनी) र सुन्नत (तौरतरिका) जान्नु जरुरी छ। ताकि उसले आफ्ना जीवनका सबै मामिलाहरूमा उहाँ सल्लल्लाहु अलैहि वसल्लमको जीवनलाई नमुना मान्दै अनुसरण र अनुकरण गर्न सकोस्।

नबी सल्लल्लाहु अलैहि वसल्लमको घरमा उहाँका पवित्र पत्नीहरू सँगको पारिवारिक जिन्दगी सम्पूर्ण मानव जातिको लागि उत्तम नमुना हो। तसर्थ यस संसारमा आफ्नो परिवारसँग पवित्र र खुसीयालीले भरिएको जीवन बिताउन चाहने र परलोकमा जन्नतको सफलता प्राप्त गर्न चाहने प्रत्येक पतिले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो आदर्श तथा आइडल मान्नुपर्छ। अल्लाह तआलाले भन्नुभएको छः {لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِمَنْ كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ وَذَكَرَ اللَّهَ كَثِيرًا} [الأحزاب: 21]. अर्थः “निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस व्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ र अल्लाहलाई अधिक स्मरण गर्दछ।” (सूरतु अहजाबः ३३/ २१)

रसूल सल्लल्लाहु अलैहि वसल्लमको आफ्ना पत्नीहरूसँगको उत्तम व्यवहार

आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “तिमीहरूमा राम्रो व्यक्ति त्यो हो, जो आफ्नो परिवारको लागि राम्रो छ, म मेरो परिवारको लागि सबैभन्दा राम्रो छु।” (तिर्मिजीः ३८९५) यसबाट थाहा हुन्छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो उम्मतका पुरुषहरूलाई आफ्ना परिवार अथवा पत्नीहरूको साथ राम्रो व्यवहार गर्ने आदेश दिनुभएको छ, यस्तो गर्ने व्यक्तिको प्रशंसा पनि गर्नुभएको छ र भन्नुभएको छः यस मामिलामा म तिमीहरूको लागि आदर्श हुँ।

नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्ना पत्नीहरूसँग मनोरञ्जन गर्न र उनीहरूका वैध इच्छाहरू पूरा गर्न रुचि राख्नु हुन्थ्यो।

आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छः “मैले देखे नबी सल्लल्लाहु अलैहि वसल्लमले मेरो लागि आफ्नो चादर (शाल) ले पर्दा गरिरहनु भएको थियो, जुन बेला मैले मस्जिदमा (जङ्गी) खेल खेलिरहेका हबशाका मानिसहरूको खेल हेरिरहेकी थिए। आखिर हेरेर म नै थाके। अब तिमीहरूलाई थाहै छ, एउटा कम उमेरकी केटीको खेल हेर्ने कति चाहना हुन्छ र कति बेरसम्म उसले खेल हेरेकी थिई होला ! (बुखारीः ५२३६, मुस्लिमः ८९२) नबी सल्लल्लाहु अलैहि वसल्लमको तरिकाको अनुसरण गर्दै प्रत्येक पति होसियार हुनु, आफ्नी पत्नीको इच्छाको बारेमा ख्याल राख्नु, उनका वैध मनोवैज्ञानिक चाहनाको कदर गर्दै उनका आवश्यकताहरू पूरा गर्नु आवश्यक छ।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले पुरुषहरूले आफ्ना पत्नीहरूसँग खेल खेल्नुलाई गलत नभनी अनुमति योग्य मनोरञ्जन भन्नुभएको छ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “तीन खेल बाहेक आदमका सन्तानले खेल्ने सबै खेलहरू गलत हुन्। ती हुन्- आफ्नो कमानबाट तीर चलाउनु, आफ्नो घोडालाई तालिम दिनु र आफ्नो परिवारसँग खेल्नु, किनभने यो उनीहरूको हक हो। (मुस्नद अहमदः १७३३७)

आयशा रजियल्लाहु अन्हाले आफू नबी सल्लल्लाहु अलैहि वसल्लमको साथमा यात्रामा भएको घटनाको बयान गर्दै भन्नुभएको छः “जब मैले उहाँ सल्लल्लाहु अलैहि वसल्लमसँग दौडको मुकाबला गरे त मैले जिते, अर्को पटक म अली मोटी भएकी थिए तब फेरी मुकाबला गरे त उहाँले जित्नुभयो।” त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “यो जित त्यो जितको बदला हो।” (अबू दाउदः २५७८, सहीह) उहाँ सल्लल्लाहु अलैहि वसल्लम आफ्ना पत्नीहरूसँग खेल्नुहुन्थ्यो र हाँसो मजाक पनि गर्नुहुन्थ्यो, ताकि वैवाहिक जिन्दगी निराशाजनक र बोर लाग्दो नहोस्।

पारिवारिक समस्याहरू समाधान गर्ने नबी सल्लल्लाहु अलैहि वसल्लमको हिक्मत (बुद्धि)

कुनै पनि घर यसका सदस्यहरू बीच हुने केही समस्याहरूबाट मुक्त छैन। नबी सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई यी समस्याहरूसँग कसरी व्यवहार अथवा समाधान गर्ने भन्ने सम्बन्धमा सबैभन्दा राम्रा उदाहरणहरू दिनुभएको छ। जसमध्ये एउटा उदाहरण- अनस रजियल्लाहु अन्हुले बयान गर्नुभएको छः “नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्नी एउटी पत्नी (आयशा रजियल्लाहु अन्हा) को घरमा हुनुहुन्थ्यो। त्यस बेला अर्की पत्नी (जैनब बिन्ते जहश रजियल्लाहु अन्हा) ले उहाँ सल्लल्लाहु अलैहि वसल्लमको लागि एउटा कटौरामा केही खाने कुरा पठाउनुभयो। जसको घरमा उहाँ सल्लल्लाहु अलैहि वसल्लम बस्नुभएको थियो उहाँले (रिसाएर) नोकरको हातमा हान्नुभयो; जसको कारण कटौरा खसेर फुट्यो। त्यसपछि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले फुटेको कटौराका टुक्राहरू जम्मा गर्नुभयो र त्यसमा बचेको खाने कुरा पनि जम्मा गर्दै (नोकरसँग) भन्नुभयोः तिम्री आमालाई ईर्ष्या (डाह) भयो। त्यसपछि उहाँले नोकरलाई रोक्नुभयो र जसको घरमा कटौरा फुटेको थियो तिनको तर्फबाट नयाँ कटौरा मगाउनु भयो र त्यो नयाँ कटौरा ती पत्नीको घरमा वापस गर्नुभयो जसको कटौरा फुटालिएको थियो, अनि फुटेको कटौरा तिनको घरमा राखियो जसको घरमा फुटेको थियो। (बुखारीः ५२२५)

नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्ना पत्नीहरू वा घरका सदस्यहरूको प्राकृतिक स्वभाव तथा भावनाहरूको उत्पन्न हुने व्यवहारबाट कत्तिपनि विचलित हुनुभएन, बरु उहाँले कुशलता र बुद्धिका साथ परिस्थितिको सामना गर्नुहुन्थ्यो। परिस्थितिले लडाइ झगडाको अवस्था सृजना गरे पनि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो बुद्धि, कुशलता र धैर्यको साथ बिग्रेको स्थितिलाई सुधार गर्दै उत्पन्न भएको तनाव कम गर्नुहुन्थ्यो र सबै पक्षहरूको साथमा न्याय गर्नुहुन्थ्यो।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना पत्नीहरू रिसाएको कुरा थाहा पाउनु हुन्थ्यो र रिसको असर पनि देखिन्थ्यो; तैपनि उहाँले राम्रो वचन र व्यवहारले त्यसको सामना गर्नुहुन्थ्यो। आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, मसँग नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “जब तिमी मसँग खुसी हुन्छ्यौ वा रिसाउँछ्यौ त मैले थाहा पाउँछु। आयशा रजियल्लाहु अन्हाले सोध्नुभयोः त्यो तपाईंले कसरी थाहा पाउनुहुन्छ? नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः जब तिमी मसँग खुसी हुन्छ्यौ तब भन्छ्यौ मुहम्मदको रबको कसम, अनि जब रिसाएकी हुन्छ्यौ त भन्छ्यौ इब्राहीमको रबको कसम। आयशा रजियल्लाहु अन्हाले भन्नुभयो, मैले भने साँचो कुरा हो; हे अल्लाहको रसूल ! मैले तपाईंको नाम मात्र छोड्छु तपाईंको माया त छोडेकी हुन्न नि। (बुखारीः ५२२८, मुस्लिमः २४३९)

नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना पत्नीहरूसँग उत्तम व्यवहार गर्नुहुन्थ्यो।

नबी सल्लल्लाहु अलैहि वसल्लमले दया र सहयोगको भावनाले घरका कामकाजमा आफ्ना पत्नीहरूलाई सघाउनु हुन्थ्यो, ताकि उनीहरूलाई काममा राहत मिलोस्। अनि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना व्यक्तिगत कामहरू स्वयं गर्नुहुन्थ्यो।

आयशा रजियल्लाहु अन्हासँग सोधियोः नबी सल्लल्लाहु अलैहि वसल्लमले घरमा के काम गर्नुहुन्थ्यो ? त उहाँले उत्तर दिनुभयोः “उहाँ घरको काम तथा घर-परिवारका सदस्यहरूको सेवामा व्यस्त रहनु हुन्थ्यो, अनि जब नमाजको समय हुन्थ्यो त नमाज पढ्नको लागि जानुहुन्थ्यो।” (बुखारीः ६७६) अर्को हदीसमा आयशा रजियल्लाहु अन्हाले नै भन्नुभएको छः “नबी सल्लल्लाहु अलैहि वसल्लमले घरमा आफ्ना जुत्ता मर्मत गर्नुहुन्थ्यो, फाटेका लुगा सिलाउनु हुन्थ्यो र तिमीहरूले आफ्नो घरमा काम गरे झैँ घरका कामहरू गर्नुहुन्थ्यो।” (अहमदः २५३४१)

पत्नीहरूलाई माया गर्ने केही तरिकाहरू

١
उनीहरूलाई मायाले भरिएका शब्दले बोलाउने।
٢
उनीहरूलाई खाना खुवाउनु।
٣
उनीहरूसँग माया प्रेमको व्यवहार देखाउने।
٤
उनीहरूका कुरा ध्यान दिएर सुन्ने र यसको लागि समय दिने।

मायालु शब्दले पत्नीहरूलाई बोलाउनु।

सही बुखारीमा छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आयशा रजियल्लाहु अन्हासँग भन्नुभयोः ए आयशा ! जिब्रीलले तिमीलाई सलाम भनेका छन्। (बुखारीः ३७६८) उहाँ सल्लल्लाहु अलैहि वसल्लमले कहिलेकाहीँ आयशा रजियल्लाहु अन्हालाई “हमरा” भनेर बोलाउनु हुन्थ्यो। हमराको तात्पर्य गोरी अथवा राम्री हो।

पतिले आफ्नी पत्नीलाई खाना खुवाउनु।

सअद बिन अबी वक्कास रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “निःसन्देह, जब तिमीले आफ्नो कुनै चीज (अल्लाहको प्रसन्नताको लागि) खर्च गर्छौ, त त्यो सदका (दान) हो। यहाँसम्म कि तिमीले आफ्नी पत्नीलाई खाने कुराको एक गाँस खुवाउँछौ (त्यो पनि सदका हो)।” (बुखारीः २७४२)

पतिले आफ्नी पत्नी प्रतिको माया घोषणा गर्नु।

अम्र बिन् आस रजियल्लाहु अन्हुले भन्नुभएको छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले मलाई जाते सलासिलको लडाइमा कमान्डर बनाएर पठाउनुभयो। जब म फर्केर आए त्यसपछि मैले उहाँ सल्लल्लाहु अलैहि वसल्लमसँग सोधेः हजुरले सबैभन्दा बढी कसलाई माया गर्नुहुन्छ? उहाँले भन्नुभयोः आयशालाई। (बुखारीः ३६६२, मुस्लिमः २३८४)

उनीहरूको कुरा ध्यान पूर्वक सुन्नु र त्यसलाई महत्त्व दिनु।

यसको प्रमाण उम्मे जरअको नामले प्रसिद्ध लामो हदीसबाट मिल्छ। यमनका ११ जना महिलाहरूले आ-आफ्ना पतिहरूको चालचलन एक-एक गरेर बयान गरेका कुरा जब आयशा रजियल्लाहु अन्हाले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग बयान गर्न थाल्नुभयो तब उहाँ सल्लल्लाहु अलैहि वसल्लमले आयशा रजियल्लाहु अन्हाको कुरा पुरै समाप्त नभएसम्म सुनिरहनु भयो।

नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्ना पत्नीहरूका लागि सफा र सुन्दर बन्नु हुन्थ्यो।

आयशा रजियल्लाहु अन्हासँग सोधियोः रसूल सल्लल्लाहु अलैहि वसल्लम घरमा आउनुहुन्थ्यो त सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उहाँले उत्तर दिनुभयोः मिस्वाक (दतिवन) गर्नुहुन्थ्यो। (मुस्लिमः २५३) यसबाट थाहा हुन्छ कि मिस्वाक गर्नु कति जरुरी चीज हो। त्यसैगरी अर्को हदीसमा आयशा रजियल्लाहु अन्हाद्वारा नै वर्णन गरिएको छ, उहाँले भन्नभयोः “मैले आफ्नो हातले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई त्यस समयको सबैभन्दा राम्रो अत्तर (सुगन्ध) लगाइदिने गर्थे। यहाँसम्म कि उहाँ सल्लल्लाहु अलैहि वसल्लमको टाउको र दाह्रीमा अत्तरको चमक देखिन्थ्यो।” (बुखारीः ५९२३)

नबी सल्लल्लाहु अलैहि वसल्लमको आफ्ना पत्नीहरू प्रतिको वफादारी।

वफादारीका केही झलकहरू- नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा पत्नीको मामिलामा देखाएको वफादारी यसबाट पनि बुझ्न सकिन्छ। उहाँ सल्लल्लाहु अलैहि वसल्लमकी छोरी जैनब रजियल्लाहु अन्हाको विवाह इस्लाम भन्दा पहिले नै अबूल आससँग भएको थियो। अबूल आस इस्लाम विरुद्धको बद्रको लडाइमा कुरैशका मानिसहरूसँग कैदी बनाइएका थिए, उनलाई छुटाउन जैनब रजियल्लाहु अन्हाले आफ्नी आमा खदीजा रजियल्लाहु अन्हाबाट पाएको हार (माला) पठाउनु भयो। जब रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यो माला देख्नुभयो त उहाँ अत्यन्त गम्भीर हुनुभयो। त्यसपछि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले सहाबासँग भन्नुभयोः “यदि तिमीहरूले उचित सम्झिन्छौ भने उनको लागि यी कैदीहरूलाई छाडिदेऊ र उनीहरूको माल पनि उनीहरूलाई वापस फर्काइदेऊ।” (अबू दाउदः २६९२, हदीस हसन) उहाँ सल्लल्लाहु अलैहि वसल्लमको आफ्नी पत्नी खदीजा रजियल्लाहु अन्हाप्रति वफादारी यति धेरै थियो कि, त्यसलाई देखेर आयशा रजियल्लाहु अन्हाले रश्क (ईर्ष्या) हुन्थ्यो, जबकी आयशा रजियल्लाहु अन्हाले न त उहाँलाई देख्नुभएको थियो, न सँगै बस्नुभएको थियो। यसै सम्बन्धमा आयशा रजियल्लाहु अन्हाले भन्नुभएको छः “मैले नबी सल्लल्लाहु अलैहि वसल्लमका कुनै पनि पत्नीसँग त्यति रश्क (ईर्ष्या) गरेन, जति खदीजा रजियल्लाहु अन्हासँग गरे। जबकी मैले उहाँलाई देखेकी पनि थिइन। नबी सल्लल्लाहु अलैहि वसल्लमले उहाँलाई अत्याधिक याद गर्नुहुन्थ्यो। जब कुनै बाख्रो जबह गर्नुहुन्थ्यो त, त्यसबाट केही टुक्रा (भाग) निकालेर खदीजा रजियल्लाहु अन्हाका साथी सहेलीहरूलाई पठाउनु हुन्थ्यो। कहिलेकाहीँ उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई मैले भन्ने गर्थेः शायद यस संसारमा खदीजा बाहेक अरू कुनै महिला नै छैनन् ! तब उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुहुन्थ्योः खदीजामा यस्ता-यस्ता गुणहरू थिए, अनि मेरा सन्तानहरू उनीबाटै जन्मेका थिए।” (बुखारीः ३८१८, मुस्लिमः २४३५) ”

आफ्ना पत्नीहरू बीच नबी सल्लल्लाहु अलैहि वसल्लमको न्याय र समान व्यवहारको अभिव्यक्ति

١
पत्नीहरूको पासमा जाने र उनीहरूसँग बस्ने मामिलामा न्याय। नबी सल्लल्लाहु अलैहि वसल्लमले पत्नीहरूको पासमा रातमा जाने सम्बन्धमा सबैलाई बराबर समय दिनुहुन्थ्यो। यस सम्बन्धमा कसैलाई पनि पक्षपात गर्नुहुन्नथ्यो। यदि कुनै खास काम परेमा वा विशेष कारण भएमा पत्नीहरूसँग अनुमति माग्नुहुन्थ्यो। यसै सम्बन्धमा आयशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छः “जब नबी सल्लल्लाहु अलैहि वसल्लम बिरामी हुनुभयो र बिरामीले धेरै च्याप्यो, त उहाँले आफ्ना अन्य पत्नीहरूसँग आयशाको घर (मेरो घरमा) जाने अनुमति माग्नुभयो, त्यसपछि सबैले उहाँलाई जाने अनुमति दिए।” (बुखारीः १९८, मुस्लिमः ४१८)
٢
यात्रामा पनि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले पत्नीहरूको बीच न्याय गर्नुहुन्थ्यो। कहीँ यात्रामा जाँदा उहाँले आफ्ना पत्नीहरूको बीच चिट्ठा हाल्नुहुन्थ्यो, जसको नाम निस्किन्थ्यो, उनलाई साथमा लग्नुहुन्थ्यो।
٣
यदि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले विवाहित महिलासँग विवाह गर्नुहुन्थ्यो त उनलाई सान्त्वना दिन तीन रात उनीसँग बस्नुहुन्थ्यो, त्यसपछि आफ्ना अन्य पत्नीहरू जस्तै उनलाई पनि समय बाँड्नुहुन्थ्यो।
٤
नबी सल्लल्लाहु अलैहि वसल्लमले आफूसँग भएको पैसा र मालसामान पनि पत्नीहरूमा न्यायपूर्ण तरिकाले बराबर बाँड्नुहुन्थ्यो।

नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा आफ्ना पत्नीहरूको कदर र उहाँहरूसँग परामर्श गर्नु।

नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा आफ्नी पत्नीसँग परामर्श गरेको यो एउटा स्पष्ट प्रमाण हो- हुदैबियाको दिन सम्झौता पत्र लेखि सकिएपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले सहाबालाई भन्नुभयोः कुर्बानी गर र आफ्नो टाउको मुण्डन गर, तर कोही पनि उठेनन्। यहाँसम्म कि नबी सल्लल्लाहु अलैहि वसल्लमले तीन पटक सम्म भन्नुभयो तैपनि उठेनन्। त्यसपछि उहाँ आफ्नी पत्नी उम्मे सलमा रजियल्लाहु अन्हाको खेमामा जानुभयो अनि सबै कुरा बिस्तार पूर्वक बताउनुभयो। उम्मे सलमा रजियल्लाहु अन्हले भन्नुभयोः हे अल्लाहको नबी ! के तपाईंले यही चाहनुहुन्छ ? (यदि चाहनुहुन्छ भने) बाहिर जानुहोस् अनि कसैसँग नबोली आफ्नो कुर्बानीको जनावर जब्ह गर्नुहोस् र टाउकोको कपाल मुण्डन गर्ने मान्छेलाई बोलाएर मुण्डन गर्न लगाउनुहोस्। नबी सल्लल्लाहु अलैहि वसल्लम बाहिर जानुभयो अनि कसैसँग नबोली सबै काम गर्नुभयो। जब उहाँ सल्लल्लाहु अलैहि वसल्लमले जनावर कुर्बानी गर्नुभयो र कपाल मुण्डन गराउनु भयो। तब यो देखेपछि सबै सहाबा उठेर आ-आफ्ना जनावर कुर्बानी गरे अनि एक आपसमा कपाल मुण्डन गर्न थाले।” (बुखारीः २७३१)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्